महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूमपान गरे प्रत्येक पटक पाँचसय जरिवाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ।
हालै सम्पन्न नगर सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो।
काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी साधन पार्किङ गरे मोटरसाइकल, स्कुटरलाई एकहजार जरिवाना गरिनेछ। कार, जीप, डेलिभरी भ्यानलाई २५०० जरिवाना गरिनेछ। मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिबाना गरिनेछ।
यस्तै, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ। प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ। बिनाअनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाखसम्म जरिवाना हुन सक्नेछ।
पाण्डेले भने, ‘सार्वजिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धूमपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो। हालैको नगर सभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ। निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धूमपान निषेध गरिएको छ।’
पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ।
खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवना तोकिएको छ।
सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ। सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रूख, बिरूवामा क्षति पुर्याएमा पाँच सयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ। —न्युज एजेन्सी नेपाल