बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसकै चार मन्त्रीलाई बर्खास्त गरेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठलाई शुक्रबार बेलुकी मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन्।
यी चारै मन्त्रीहरूले शुक्रबार दिउँसो नै राजीनामा बुझाएका थिए। उनीहरुले प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसँग भेट नभएपछि ह्वाट्सएपमार्फत राजीनामा बुझाएको र मुख्यमन्त्रीलाई फोन गरेर जानकारी समेत गराएको दाबी गरेका थिए।
मुख्यमन्त्री लामाले शुक्रबार बेलुका नै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको कांग्रेसको बागमती प्रदेश दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।
‘बाहिर राजीनामा दिएको भनेर आए पनि मुख्यमन्त्रीसम्म राजीनामा पत्र पुगेको थिएन। मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्तावबारे उहाँहरूले पनि हस्ताक्षर गरेको भन्ने पत्र भने मुख्यमन्त्रीसम्म पुगेको थियो। त्यसपछि अनुशासनको कारबाही स्वरूप उहाँहरूलाई बर्खास्त गरिएको भन्ने बुझिएको छ,’ चित्रकारले भने।
शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका सांसद इन्द्र बानियाँलाई संसदीय दल नेता बनाउन ३७ मध्ये २१ सांसदले हस्ताक्षर गरेका थिए।
बागमतीमा लामा र बानियाँबिच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको संस्थापन इतर पक्षका सांसदहरूको दाबी छ।
तर सहमति कार्यान्वयन गर्ने समयमा मुख्यमन्त्री गुरूङ सम्पर्कविहीन भएको भनेर चार मन्त्रीसहित २१ जनाले उनीविरूद्ध हस्ताक्षर गरेका थिए। उनीहरूले सांसदहरूको हस्ताक्षर संसदीय दलका सचिव कृष्ण तामाङलाई बुझाएका छन्।
उनीहरूले बानियाँलाई दल नेता बनाएर मुख्यमन्त्री फेर्ने तयारी गरेका छन्।
उपनेता चित्रकार भने पालैपालो मुख्यमन्त्री हुने भन्ने लिखित सहमति नभएको बताउँछन्। त्यसलाई आधार बनाएर पार्टीभित्रै अहिले देखिएको जस्तो गतिविधि हुनु लोकतान्त्रिक मूल्य मान्यताको विपरीत हुने उनी बताउँछन्।
‘यसले पार्टीलाई पनि कमजोर बनाउँछ। चुनावबाट दल नेता चुनिएका व्यक्तिले पद छाड्ने र हार्ने व्यक्ति पदमा रहने भन्ने लोकतन्त्रको परिकल्पना होइन। व्यक्तिको को भन्ने भन्दा पनि प्रणालीको कुरा हो ,’ उनले भने, ‘यसबारे अब प्रदेशले भन्दा पार्टीको केन्द्रीय समितिले नै समाधान खोज्नुपर्छ।’
उनले एक अर्का विरूद्ध लाग्ने भन्दा पनि पार्टीभित्रै र संसदीय दलभित्रै छलफल गरेर समाधान खोज्नुपर्ने बताए। विकसित घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक पनि चाँडै नै आह्वान हुने उनले बताए।
बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ल्याएको बजेटमाथि पार्टीभित्रै असन्तुष्टि छ भने अन्य दलहरूले पनि विरोध गरेका थिए।
असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि बागमतीको बजेटबारे कुरा उठेको थियो। अराजक शैलीमा बजेट ल्याइएको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गरेका थिए।
‘अराजक ढंगले जानुभन्दा मन्त्रिमण्डल नै पूरै परिवर्तन गरेर जान खोजिएको हो,’ खेलकुदमन्त्री मीनकृष्ण महर्जनले भने।
२०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा हेटौंडाका ईन्द्रबहादुर बानियाँलाई ५ मतान्तरले हराउँदै नुवाकोटका लामा संसदीय दल नेता निर्वाचित भएका थिए। बानियाँले १६ मत ल्याएका थिए भने लामाले २१ मत ल्याएका थिए।
बानियाँ र लामा त्यसबेला संस्थापन पक्ष (सभापति शेरबहादुर देउवानिकट) नै थिए। तर संसदीय दल नेतामा समर्थन नपाउने अवस्था बनेपछि बानियाँले संस्थापनइतर समूहको साथ पाए तर जित्न सकेनन्। उनलाई त्यसबेला नेता शेखर कोइराला र महामन्त्री गगन थापाको साथ थियो।
अहिले ईन्द्रबहादुर बानियाँलाई संसदीय दल नेता बनाउन हस्ताक्षर गर्ने सांसदहरू सभापति देउवा, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट सांसदहरू हुन्।
‘२१ जना सांसदहरूले प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको नेतृत्वमा कांग्रेस बागमती प्रदेश संसदीय दल अघि बढ्नुपर्छ भन्नुभएको छ, हस्ताक्षरसमेत गर्नुभएको छ, त्यसैले हामीले संसदीय दल नेताविरूद्ध अविश्वास प्रस्ताव दर्तासमेत गरेका छौं,’ बानियाँले भने, ‘यो संसदीय दलको कुरा हो, यसको प्रक्रिया टुंगिएपछि बल्ल सरकारको कुरा हुन्छ।’
संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री लामाले प्रभावकारी काम नगरेको पार्टीलाई महसुस भएकोसमेत उनले बताए।
मुख्यमन्त्री लामाले भने एक वर्षमै सरकारको नेतृत्व छाड्दा सन्देश राम्रो नजाने कुरा सभापति देउवासँग राखेको उनीनिकट सांसदहरू बताउँछन्। एक वर्षमै मुख्यमन्त्री छाड्ने हो भने अरू प्रदेशमा पनि त्यो कुरा लागू हुनुपर्ने जिकिर उनले गरेका थिए।
यी हुन् मुख्यमन्त्री लामाविरूद्ध हस्ताक्षर गरेका सांसदहरू:
१. ईन्द्रबहादुर बानियाँ
२, शिवराज अधिकारी
३. कञ्चनचन्द्र बादे
४. दीपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. विनु रायमाझी पौडेल
७. यमुनादेवी श्रेष्ठ
८. माया श्रेष्ठ
९. उर्मिला नेपाल
१०. शान्ता ढकाल
११. प्रभात तामाङ
१२. छिरीङ दोर्जे लामा
१३. मीना पराजुली
१४. याङ्गकिला शेर्पा
१५. मीनकृष्ण महर्जन
१६. बिमल ठकुरी
१७. मदुकुमार श्रेष्ठ
१८. सुरजचन्द्र लामिछाने
१९. सुरेश श्रेष्ठ
२०. श्रीराम लामिछाने
२१. सुना परियार।