अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरूद्ध उजुरी दर्ता भएको छ।
आइतबार युवराज सफलले अख्तियार प्रमुख राईमाथि नै छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन्।
‘वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका अख्तियार प्रमुख प्रेमकुमार राईलाई आवश्यक छानबिन गरी कारबाही गरी पाऊँ,’ सफलको उजुरीमा उल्लेख छ।
अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक भएको थियो।
उक्त फैसला सार्वजनिक हुँदा विशेष अदालतले अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठाएको थियो।
अदालतले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै राईमाथि नै प्रश्न उठाएको थियो।
‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोपदाबी लिइएको देखिन आउँदैन। यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्नेजस्तो चयनमुखी दृष्टिकोण अबलम्बन गरिएको देखिन्छ,’ फैसलामा भनिएको छ।
यसरी चयनमुखी अभियोजन समान न्यायको सिद्धान्त विपरीत हुने भनेर पनि फैसलामा टिप्पणी गरिएको छ।
‘चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरूद्ध हुन्छ। यस्तो कामले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ,’ फैसलामा भनिएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले गत मंसिर २० गते गरेको थियो।
अख्तियारले अभियोजन गरी २०८० चैत २२ गते एक अर्ब ४७ करोड १० लाख ८५ हजार ८४२ रकम बिगो माग दाबीसहित मुद्दा दायर गरेको थियो।
तत्कालीन अवस्थामा २०७३ वैशाख २ गते सचिव राईको अध्यक्षतामा निगमनको सञ्चालक समिति बैठक बसेको थियो।
त्यस बैठकले निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद गर्न उपसमिति गठन गर्ने निर्णय गरेको थियो। तर अख्तियारले दायर गरेको आरोपपत्रमा भने त्यस निर्णयबारे कुनै विवाद नगरिएको अदालतको टिप्पणी छ।
खरिद प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूको हकमा भने सोही निर्णयकै आधारमा हानि नोक्सानी भई भ्रष्टाचारजन्य कसुर भएको भनेर माग दाबीसहित मुद्दा दायर गरेको थियो। फैसलामा त्यसैलाई नै भ्रष्टाचारको प्रस्थानबिन्दु रहेको उल्लेख गरेको छ।
यस्तो छ प्रमुख आयुक्त राईविरूद्ध अख्तियारमा दर्ता भएको उजुरी-
-1753603338.jpeg)

यो पनि: ‘अख्तियारले अब आफ्नै प्रमुखमाथि छानबिन सुरू गर्नपर्छ’