नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाएका छन्।
आइतबारको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिएको तर एकीकृत हुन नसकेको बताए।
यससम्बन्धी विगतमा भएका छलफलहरू पनि समेटेर एकीकृत बनाइ ल्याउनुपर्ने बताए।
विधेयकको संशोधन मन्त्रिपरिषद्लाई केन्द्रित गर्ने गरी आएको बताए।
उनले भने, ‘भूमिसम्बन्धी जुन ऐन छ, यो ऐन एकदमै पुरानो हो। धेरै पुरानो भएका कारणले र धेरै पटक संशोधन भएका कारणले सरकारसँग के आग्रह गर्दछु भने यो ऐनलाई व्यवस्थित गर्नको लागि धेरै पटक संशोधन भएर विषयवस्तु राखिएका छन्। एकीकृत बनाएर भूमिसम्बन्धी ऐन आउनुपर्छ। यो विधेयकमा तीन चार वटा विषयहरूमा केन्द्रित भएर हेरिनुपर्छ। विधेयकको जुन संशोधन आएको छ। त्यसमा अलि नेपाल सरकार मन्त्रिपरिषद्लाई केन्द्रित गर्ने गरी आएको छ । त्यो बारेमा ऐनमा ख्याल गरिनुपर्छ।’
प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गासम्बन्धी विषयवस्तुमा आफ्नो फरक धारणा रहेको बताए। जग्गा लिँदा एउटा विषय भनेर लिने तर पछि निजी स्वार्थमा प्रयोग गर्ने गरेको पाइएको बताए। —न्युज एजेन्सी नेपाल