नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औं महाधिवेशन आगामी वर्ष हुने बताएका छन्।
सिटौलाका अनुसार २०८३ मंसिरभित्रै महाधिवेशन भइसक्छ।
‘महाधिवेशन २०८३ को दसैंको सेरोफेरोमा हुन्छ। कांग्रेस महाधिवेशन आजसम्म ५ वर्षमै भएको छ। नवौं, दशौं, एघारौँ, बाह्रौं, तेह्रौं, चौधौँ, अब १५ औं हुने हो। ४ वर्षमा कहिल्यै भएको छैन। ४ वर्षे कार्यकालमा एक वर्ष म्याद थप्न पाइन्छ,’ जमलमा आइतबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले भने।
यसअघि १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो।
‘यो मंसिरमा ४ वर्ष पुग्छ, क्रियाशिल सदस्यता नवीकरण टुंगिसकेको छैन। असोज मसान्त तोकेको छ। सदस्यता नवीकरण नै असोज मसान्तसम्म भनेपछि कहाँबाट मंसिरमा हुन्छ महाधिवेशन? ०८३ सालको दसैंअघि वा दसैंपछि पुग्नसक्छ तर मंसिरभन्दा टाढा लैजानुहुँदैन,’ उनले भने।
उनले तत्काल सरकार परिवर्तन नहुने र यो समीकरण ०८४ को चुनावसम्मै जाने पनि बताए। अपेक्षाअनुसार काम नभए पनि यही सरकार निरन्तर रहने उनको भनाइ छ। ‘यसको विकल्पमा अर्को सरकार बन्ने अवस्था देखिँदैन,’ राष्ट्रिय सभामा कांग्रेस दल नेतासमेत रहेका उनले भने।