नेकपा (एमाले) ले नेपाली कांग्रेसलाई बागमतीको विषय छिटो टुंग्याउन आग्रह गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दल नेता बहादुर सिं लामा तामाङविरूद्ध कांग्रेसकै २१ जना सांसदले हस्ताक्षर गरेका थिए।
यो विषय कांग्रेसको भएको तर छिटो टुंग्याउनुपर्ने एमालेको भनाइ छ।
एमालेका वागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाटै आफ्नै पार्टीका संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए।
‘बागमती प्रदेशको मुख्यमन्त्रीज्यूको विषयमा कांग्रेसका सांसदहरूबाटै अविश्वासको प्रस्ताव दर्ता भएको कुरा छ। यो उहाँहरूको नितान्त पार्टी भित्रको समस्या भएकाले पार्टीको चासो हो। हामीले त्यति ध्यान दिएका छैनौँ। अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन। नितान्त उहाँहरूको विषय हो। जे गर्ने हो छिटो टुंग्याउनुस् भन्ने हो,’ उनले भने।
सरकारलाई अस्थिरतामा राख्नु नहुने पनि उनले बताए।
‘यसले विकासका काममा यसले अवरोध गर्दछ। प्रदेश सरकार अस्थिर भयो, विकासका काम नहुने भए भन्ने प्रश्न छ। यस्तो कुरा आउनु ठिक होइन। चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्छ। हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन,’ उनले भने। (न्युज एजेन्सी नेपाल)
यो पनि:
बागमतीमा कांग्रेसले किन ढाल्न लाग्यो आफ्नै सरकार?
बागमती प्रदेश सरकार: कांग्रेसका ४ जना मन्त्रीले दिए राजीनामा