नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले दुई दिन धेरै समय लगाएर भए पनि आगामी दिनमा प्रश्न नउठ्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन्।
भूमि विधेयकबारे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले भने, ‘बरू दुई दिन समय लगाएर भए पनि आगामी दिनमा गम्भीर प्रश्न उठ्न नसक्ने गरी कानुन बनाउनु पर्छ।’
उनले सरकारको नियतमा शंका नरहे पनि भविष्यमा दुरूपयोग नहोला भन्न नसकिने बताए।
‘आगामी दिनमा वन क्षेत्रको आकार झनै घटेर जान्छ। भएको वन क्षेत्रलाई जोगाउन कुरामा कतै कमिकमजोरी हुन दिनु हुँदैन। अति वृष्टिको पीडा हामीले भोगिरहेका छौं। यसलाई फिर्ता लिनुपर्छ भनेर पनि राजनीतिक दलहरूको कुरा आएको छ। यसमा साझा मत बनाउने प्रयास गरौं,’ उनले भने।
दल र प्रदेशसँगको संवादमा सरकारले गम्भीरता राख्नुपर्ने उनले बताए। ‘एउटा कुराका लागि लिएको जमिन अर्को कामका लागि प्रयोग गर्न पाउने व्यवस्था हटाउनु पर्छ,’ उनले भने।