बेरूजु शून्य रहेको अख्तियार तथा दुरूपयोग अनुसन्धान आयोगका सचिवलाई परराष्ट्र सचिव अमृतबहादुर राईले बेरूजु शून्य कसरी गर्ने हो? भन्दै सिकाइदिन आग्रह गरेका छन्।
उनले काम गरेरै अख्तियारको बेरूजु शून्य भएको हो भने आफूले अख्तियारमा दुई चार जना आफ्ना कर्मचारीलाई सिक्न पठाउने बताए।
सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारका सचिवलाई परराष्ट्रका कर्मचारीलाई बेरूजु शून्य बनाउनेबारे सिकाएर पठाउन आग्रह गरे।
सचिव राईले भने, ‘अख्तियारका सचिव ज्यूले बेरूजु शून्य भनेको सुनेँ। आखिर बेरूजु शून्य कसरी गर्न सकिने रहेछ? काम गरेरै बेरूजु शून्य भएको हो भने मेरा पनि दुई चार भाइ कर्मचारीलाई त्यहाँ सिक्न पठाउँछु। तपाईंले सिकाएर पठाउनुस्। बेरूजु शून्य बनाउन हामी सबैले। यदि त्यहाँ सार्वजनिक खरिद थिएन भने काम नहुँदा बेरूजु शून्य भएको हो भने त्यो छुट्टै कुरा हो। यदि काम भएरै शून्य भएको भने एकअर्कामा सिकाऔं न।’
आजको लेखा समिति बैठकमा अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बेरूजु शून्य रहेको बताएका थिए।
उनले बेरूजु हुनु भनेको भ्रष्टाचारको संकेत समेत बताएका थिए।
परराष्ट्र सचिव राईले विदेशस्थित नियोगहरू सञ्चालन गर्दा कहिले कानून नियमहरू परिपालना गर्न गाह्रो हुँदा बेरूजु रहने गरेको बताए।
उनका अनुसार अप्ठ्यारा ऐन नियमहरू बोकेर हिँडेका कारण बेरूजु प्रत्येक वर्ष बढेको हो। ऐनहरूलाई सहज बनाउनुपर्यो। अहिले परराष्ट्र मन्त्रालय बेरूजु साढे ५ अर्ब रहेको छ। विदेशस्थित नियोगमा राजस्वहरू जम्मा गर्दा समयमै नदेखाइँदा देखिने गरेको राईले बताए।
बेरूजु न्यूनीकरण गर्दै जाने योजना परराष्ट्र मन्त्रालयको छ। —न्युज एजेन्सी नेपाल