नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरसंघर्ष र टकराव यति बेला उत्कर्षमा छ।
यही टकरावबीच शुक्रबार (आज) स्थायी कमिटी बैठक बस्दैछ।
यो टकराव कसरी प्रकट हुन्छ भन्ने चासो माओवादी केन्द्रका नेता–कार्यकर्तालाई मात्र छैन। अरू प्रमुख दलका नेता–कार्यकर्ता र राजनीतिमा चासो राख्ने धेरैलाई छ।
'बैठकमा यो टकराव कसरी प्रकट हुन्छ, त्यो त अध्यक्ष प्रचण्डकै चाहनामा भर पर्छ। तर दुई नेताबीचको टकराव र अन्तरसंघर्ष अब रोकिँदैन,' जनार्दन निकट एक नेताले भने, 'अध्यक्ष उहाँ (जनार्दन) लाई जसरी पन्छाइ छाड्ने र उहाँ पार्टीमा संघर्ष गरेरै अध्यक्षबाट ढिलोचाँडो नेतृत्व लिएरै छाड्ने दिशामा अग्रसर हुनुहुन्छ।'
प्रचण्ड र जनार्दनको मक्सद उनीहरू एकअर्कालाई पनि थाहा नभएको होइन।
प्रचण्डले आफू प्रधानमन्त्री भएकै बेला दुई पटक जनार्दनलाई 'पार्टी छाडेर जानुस्' भनिसकेका छन्।
जनार्दनले पनि जबाफ फर्काउँदै 'मैले होइन, अब पार्टी छाड्ने बेला तपाईंको आइसक्यो, तपाईं छाड्नुस् हामी चलाउँछौं' भनेका छन्।
यी दुई नेताबीचको यस्तो तिक्तता र टकरावबीच शुक्रबार सुरू हुने स्थायी कमिटी बैठकका लागि 'आन्तरिक एकता मजबुत तुल्याउने' एजेन्डा तय भएको छ।
पार्टी उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले सेतोपाटीसँग भने, 'संगठन सुदृढीकरण र आन्तरिक एकता मजबुत तुल्याउने विषय पनि स्थायी कमिटीमा छलफल हुन्छ।'
यो बैठकले दुई नेताबीचको असमझदारी अन्त्य गर्ला कि झनै चर्काउला — माओवादी वृत्तभित्र यो सबभन्दा ठूलो चासोको विषय बनेको छ।
जनार्दन निकट नेताहरू यो विषय अध्यक्ष प्रचण्डको अबको प्रस्तुति, प्रतिबद्धता र व्यवहारमा भरपर्ने बताउँछन्। प्रचण्डले भने जनार्दन पार्टी छाडेर जाऊन् तर त्यसको दोष आफूमा नआओस् भनेर धेरै प्रयत्न गरिसकेका छन्।
राज्य संयन्त्रसम्म प्रयोग गरेर प्रचण्डले दुःख दिएको जनार्दन निकट नेताहरूको आरोप छ।
'जनार्दनलाई राजनीतिक रूपमा सिद्ध्याउन नसकेपछि अध्यक्षले प्रधानमन्त्री भएका बेला राज्यशक्ति प्रयोग गरेर तह लगाउन खोज्नुभयो,' ती नेताले भने, 'राज्यका निकाय उहाँको पछि लगाइदिने, टर्चर दिन खोज्नेसम्म भयो।'
जनार्दनलाई 'अख्तियार लगाएर' तर्साउन खोजेको तर त्यसबाट पनि प्रचण्डको केही जोर नचलेको ती नेताले जिकिर गरे।
'उहाँको गल्ती थिएन, नत्र अध्यक्षले उहाँलाई सक्काउनु हुन्थ्यो,' ती नेताले भने, 'त्यसपछि नै हो जनार्दनले पार्टीभित्र सबैको सम्पत्ति छानबिन गरौं भनेर अभियान छेडेको।'
जनार्दनले आफू निकट नेताहरूसँगको छलफलमा 'मलाई सिद्ध्याउन राज्यका अंग परिचालन गर्ने र टर्चर दिने तहमा अध्यक्ष उक्लिएको' बताएको ती नेताको भनाइ छ।
त्यसपछिका दिनमा प्रचण्ड र जनार्दनको टकराव सार्वजनिक रूपमै पोखिने क्रम जारी छ।
मध्यपहाडी लोकमार्ग केन्द्रित 'जनतासँग माओवादी' अभियान अन्तर्गत रूकुम–पश्चिमको चौरजहारीमा गत जेठ ६ मा भएको सभामा प्रचण्डले जनार्दनकै सामु 'एकाध नेताले पार्टी छोड्दैमा, एकाध नेता विचलित भएर अर्कातिर लाग्दैमा जनताले पार्टी नछाड्ने' अभिव्यक्ति दिएका थिए।
प्रचण्डले नाम मात्र लिएनन्, तर त्यो अभिव्यक्ति प्रस्ट रूपमा जनार्दन लक्षित थियो।
रूकुममा प्रचण्डले भनेका कुरा पार्टीमा छलफल हुनुपर्ने माग जनार्दनले उठाएका छन्। त्यसको सुनुवाइ भने भएको छैन।
आखिर यी दुई नेताबीच किन यति धेरै टकरावको स्थिति पैदा भयो?
जनार्दनले निरन्तर पार्टीभित्र लोकतान्त्रीकरण र निर्वाचनको कुरा उठाएकाले प्रचण्डले 'थ्रेट' महसुस गरेको उनी निकट नेताहरू बताउँछन्। पार्टी विधिसम्मत चल्नुपर्ने, निर्वाचन मार्फत नेतृत्व छान्नुपर्ने र पार्टी रूपान्तरण हुनुपर्ने कुरा जनार्दनले निरन्तर उठाउँदै आएका छन्।
पार्टी पदाधिकारी र स्थायी कमिटीमा प्रचण्डको एकलौटि पकड छ। तर पार्टी संगठन र जनवर्गीय संगठनहरूमा जनार्दनको प्रभाव बढ्दै गएकाले प्रचण्ड थप सशंकित भएका छन्।
साढे तीन दशकदेखि अविच्छिन्न पार्टी नेतृत्वमा रहेका प्रचण्डले सधैं आफ्ना मुख्य प्रतिस्पर्धीलाई पन्छाउँदै आएका छन्। बाबुराम भट्टराई र मोहन वैद्य पार्टीबाट बाहिरिएपछि उनी लगभग चुनौतीरहित स्थितिमा थिए।
'संसदीय राजनीतिमा फर्केपछि प्रचण्डलाई आफ्ना मुख्य प्रतिस्पर्धी बाबुराम हुन् भन्ने थियो। उनीसहित धेरै नेताहरू बाहिरिएपछि पार्टीलाई सधैं चुनौती विहीन रूपले अघि बढाउने प्रचण्डको आकांक्षा थियो,' माओवादीकै एक नेताले भने, 'तर यस्तो योजनामा आठौं महाधिवेशनदेखि अवरोध सिर्जना हुन थाल्यो। त्यसको नेतृत्व जनार्दनले गर्न थाले। प्रचण्डका लागि जनार्दन त्यही भएर अप्रिय भए।'
जनार्दन २०७८ मंसिरमा सम्पन्न आठौं महाधिवेशनमै पार्टी पदाधिकारी प्रत्यक्ष चुनिनुपर्ने पक्षमा उभिएका थिए। प्रचण्डले भने अध्यक्षमा आफ्नो नाम घोषणा गरे र केही समयपछि पदाधिकारी पनि आफै छाने।
त्यस बेला जनार्दन र वर्षमान पुनलाई महासचिवको दाबेदार मानिएको थियो। वर्षमान उपचार क्रममा चीनमा भएकाले महाधिवेशनमा अनुपस्थित भए।
चीनबाट फर्केर आएपछि वर्षमान र जनार्दन दुवैले गएर प्रचण्डलाई भने, 'तपाईंले हामीमध्ये जसलाई महासचिव बनाए पनि हुन्छ, हामीलाई मञ्जुर छ।'
जनार्दन र वर्षमानलाई आपसमा लडाउँदै आफू बलियो बन्दै आएका प्रचण्डले पार्टीमा धेरै प्रभाव नरहेका र आफूले भनेको कुरा नकाट्ने देव गुरूङलाई महासचिव बनाए। वर्षमान र जनार्दनलाई उपमहासचिवमै खुम्च्याए।
यसपछि कुनै बेला देशव्यापी रूपमा संगठनमा बलियो पकड भएका मानिने वर्षमान प्रचण्डसँग मिलेर अघि बढ्ने रणनीति अख्तियार गर्नतिर लागे।
अर्कातिर, प्रचण्डको नियत त्यही बेला राम्ररी थाहा पाएका जनार्दनले पार्टीमा रूपान्तरण, शुद्दीकरणको मुद्दा झनै जोडले उठाउन थाले। पार्टीभित्र असन्तुष्ट रहेका तथा अवसरबाट विमुखहरूलाई पनि संगठित गर्दै लगे। माओवादीमा पनि रूपान्तरण र निर्वाचनको मुद्दा धेरैलाई प्यारो थियो, अझै छ।
'पार्टीमा अवसर पाउनेभन्दा नपाउनेहरू नै धेरै छन्। यसै पनि अवसर कम नै हुन्छ,' माओवादी नेताहरू भन्छन्, 'त्यस्ताहरूलाई संगठित गरेर अहिले जनार्दनले आफ्नो प्रभाव देशव्यापी बनाइसकेका छन्।'
जनार्दनले कम्तीमा वर्षमानको प्रभावलाई उछिनेको उनीहरूले दाबी गरे।
अखिल क्रान्तिकारीको निर्वाचनमा पाएको सफलता, युथ कम्युनिस्ट लिग (वाइसिएल) को अधिवेशन, कर्णाली र कोशी प्रदेशको पार्टी कमिटीमा आफू निकटहरू नेतृत्वमा स्थापित भएको घटनाले जनार्दन पक्ष झनै उत्साही बनेको टिमका सदस्यहरू नै बताउँछन्।
त्यही उत्साहको बलमा अहिले जनार्दनले सार्वजनिक रूपमै प्रचण्डविरूद्ध 'फायर' खोलिरहेका छन्। उनले यसो गरिरहँदा उनका राजनीतिक प्रतिस्पर्धी मानिने वर्षमान भने प्रस्ट रूपमा प्रचण्डका पक्षमा उभिएका छन्।
आउँदो मंसिरमा महाधिवेशन गर्ने माओवादीको निर्णय थियो। तर प्रचण्डले यो अधिवेशन टार्न खोजिरहेको जनार्दन निकटहरूको आरोप छ। महाधिवेशन टार्नकै लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी सहितका दलहरूसँग तत्कालै एकता गर्न हतारिएको जनार्दन पक्षको ठहर छ।
कुनै पार्टीसँग एकता गर्न पाए महाधिवेशन टार्न पाइन्थ्यो र त्यही बहानामा 'एकता महाधिवेशन' गरेर पार्टी नेतृत्वमा चुनौतीरहित रूपमा फेरि रहन पाइन्थ्यो भन्ने प्रचण्डको प्रस्ट मनसुवा रहेको एक केन्द्रीय सदस्यले बताए।
यसैबीच प्रचण्डले जनार्दनसँग स्पष्टीकरण माग्ने र त्यसपछि उनलाई केही समय कारबाही गरेर पन्छाउने प्रयास गरेको पनि एक नेताले बताए।
'नारायणकाजी श्रेष्ठ सहितका नेताहरूको दबाब र असहमतिले त्यो रोकियो,' उनले भने।
त्यसो त प्रचण्डले 'एकाधले पार्टी छोड्दैमा केही नहुने' आशयमा चौरजहारीमा थर्काएपछि रूष्ट बनेका जनार्दनले कार्यक्रमस्थलमा उनकै सामु औंला ठड्याएर असन्तोष प्रकट गरेका थिए।
जनार्दन निकट नेताहरूका अनुसार रूकुमबाट काठमाडौं फर्कनेबित्तिकै उनले प्रचण्डलाई भेटेका थिए। त्यो भेटमा पनि प्रचण्डले 'अब तपाईं आफ्नो बाटो लाग्नुस्' भन्दै पार्टी छोड्न भनेका थिए।
जबाफमा जनार्दनले प्रचण्डलाई चुनौती दिएका थिए, 'तपाईंले भन्दैमा म पार्टी छाडेर जाँदिनँ। तर अब तपाईंलाई सञ्चोले सुत्न पनि दिन्नँ।'
उनी यति भनेर प्रचण्ड निवास खुमलटारबाट निस्केको ती नेताहरूले बताए।
त्यसपछि आफू र जनार्दन निकट दुवैखाले नेताहरूलाई भेटेर प्रचण्डले धेरैसँग यो विषय साझा गरिसकेका छन्। केही समयअघि मात्रै प्रचण्डलाई काठमाडौंमा भेटेर फर्केका कोशीका एक नेताले दिएको जानकारी अनुसार अहिले प्रचण्डको पार्टीभित्रको सम्पूर्ण भेटघाट नै जनार्दनका पछि नलाग्न भनेर बित्ने गरेको छ।
'अहिले अध्यक्षले भेटघाटमा आएजतिलाई टुटफुट र ध्रुवीकरणतिर नलाग्न भन्ने गर्नुभएको छ। हाम्रो समूहलाई पनि त्यसै भन्नुभयो,' प्रचण्ड पक्षधर कोशीका ती नेताले सेतोपाटीलाई भने, 'त्यस क्रममा, जनार्दनले मलाई सञ्चोले सुत्न नदिने भनेर धम्क्याएर गएका छन् भनेर पनि सुनाउनुभयो। जनार्दनले सकेजति अब सबै गर्छन् भन्ने अध्यक्ष कमरेडलाई लागेकै छ। त्यसैले उहाँ धेरै चिन्तामा देखिनुहुन्न।'
ती नेताले भने जस्तै पार्टीभित्र आफूलाई निरन्तर चुनौती दिइरहेका जनार्दनले पार्टी फुटाउन खोजेको आरोप पनि प्रचण्डले निरन्तर लगाइरहेकै छन्। उनले सार्वजनिक रूपमै 'दलाल र प्रतिक्रियावादीहरूको उक्साहटमा पार्टी र नेतृत्वविरूद्ध षड्यन्त्र र घेराबन्दी भइरहेको' आरोप लगाएका छन्।
प्रचण्डलाई उनकै शब्दमा 'पार्टी र नेतृत्वविरूद्ध षड्यन्त्र र घेराबन्दी भइरहेको' चर्को छनक दिने अवसर यस पटकको पुष्पलाल जयन्ती बन्यो।
साउन ६ मा स्कुल अफ मार्क्सिजमले काठमाडौं, राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरेको थियो। त्यहाँ जनार्दनले प्रचण्डविरूद्ध सार्वजनिक रूपमै 'फायर' खोले। त्यस क्रममा उनले अहिले पार्टीभित्र जनवाद शून्यप्रायः रहेको, केन्द्रीयता मात्रै हाबी रहेको र त्यसले आदेश, चाकडी र निरंकुशता जन्माएको बताएका थिए।
त्यो कार्यक्रममा जनार्दनले भनेका थिए, 'पार्टीभित्र दुई लाइन संघर्षलाई मार्क्स र माओले महत्त्वपूर्ण हतियार हो भन्नुभएको थियो। तर आज मुख्य नेताको बारे अभिव्यक्ति दिँदा समस्या आउँछ। आज पार्टीमा जनवाद छैन, केन्द्रीयता मात्रै छ। आदेश छ। चाकडी छ। निरंकुशता छ।'
जनार्दन त्यतिमै रोकिएनन्। उनले मुख्य नेताको सूचना र संरक्षणमै भ्रष्टाचार भइरहेको आरोपसमेत लगाएका थिए।
आफूले माओवादीभित्र नेताहरूको सम्पत्ति छानबिनको प्रस्ताव गरेको बताउँदै उनले भनेका थिए, 'मनमोहन अधिकारीबाहेक देशका बाँकी अरू नेताहरूले असुलीधन्दा गरेकै ठहर्छ। असुलीधन्दा भएकै छ। यो आरोप होइन।'
त्यसको भोलिपल्ट साउन ७ मा काठमाडौंमै समाजवादी मोर्चाले पनि पुष्पलालकै स्मृतिमा विचार गोष्ठी गरेको थियो। प्रचण्डले त्यहाँबाट जनार्दनलाई जबाफ फर्काए।
जनार्दनलाई लक्ष्य गर्दै, पार्टीभित्र जनवाद कायम रहेको दाबी गर्दै प्रचण्डले भनेका थिए, 'अहिले पनि केही साथीहरूले अलिअलि सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ। उहाँलाई सिँगौरी खेल्न मन लागे खेल्नुस् भनेर दिएको छु। मैले डेढ महिना परामर्श भन्दै देशैभरि लिएरै हिँडेँ। योभन्दा बढी गर्ने के हो जनवाद?'
प्रचण्ड पनि यतिमै रोकिएनन्।
साउन १० मा गुल्मी–काठमाडौं सम्पर्क मञ्चको काठमाडौंमा आयोजित पाँचौं अधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले पनि माओवादी आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने खेल सुरू भएको बताए।
'पार्टीलाई फेरि एकपटक घेरा हाल्ने र सखाप पार्ने प्रयास भइरहेको छ,' प्रचण्डले भनेका थिए, 'त्यसबाट केही साथीहरू भ्रमित भएका छन्। प्रतिक्रियावादीहरूले केही व्यक्तिलाई उचालेर, लगानीसमेत गरेर आन्दोलनविरूद्ध भ्रम फैलाउने काम अहिले भइरहेको छ।'
त्यही दिन सीतापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा प्रचण्डले कांग्रेस र एमालेमा ठूलो वैचारिक र राजनीतिक संकट देखिएको बताए। प्रचण्डले जनार्दनको नाम नलिई उनी 'दलालहरूबाट उचालिएको' आरोप लगाए।
'एकाध मान्छेका असन्तुष्टि, कुण्ठा वा दलालहरूको प्रोभोकेसनमा गएर हाम्रो पार्टीमा कुनै वैचारिक राजनीति संकट छैन। नेतृत्वको संकट पनि छैन,' प्रचण्डले भनेका थिए।
केही दिन मौन रहेका जनार्दन फेरि चुप बस्न सकेनन्।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रचण्डविरूद्ध फेरि उही आक्रामक अन्दाजमा आफ्ना कुरा भने। उनले माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने प्रचार गरिएकामा असन्तोष प्रकट गरेका छन्।
'विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भनेर गरिएको प्रचारलाई यति बेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्छु,' उनले लेखेका छन्।
जनार्दनले गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपछि केन्द्रीय समितिमा भएको बहस र निर्णय अनुसार असारदेखि सुरू गरेर ६ महिनाभित्र अर्थात् मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्न पनि आह्वान गरेका थिए।
पुष्पलाल स्मृति दिवसको छेको पारेर पहिले जनार्दनले र पछि प्रचण्डले सवालजबाफ गरेपछि माओवादी पंक्तिमा ध्रुवीकरण प्रस्ट देखिएको छ। केन्द्रीय समितिदेखि विभिन्न जनवर्गीय संगठनका नेताहरू प्रचण्ड र जनार्दनका पक्षमा सामाजिक सञ्जालमा खुलिरहेका छन्।
प्रचण्ड निकटहरूले अवसर पाउन्जेल प्रचण्ड राम्रो भन्ने जनार्दनले अवसर नपाउनासाथ निरंकुश देखेको भनेका छन्। उनको आर्थिक तरक्कीको छानबिन हुनुपर्ने पनि बताएका छन्।
प्रचण्ड निकट एक युवा नेता त जनार्दनले प्रचण्डलाई धम्क्याएर सौदाबाजी गर्न खोजेको आरोप लगाउँछन्।
'कि धम्क्याएर माग्ने, कि फकाएर माग्ने उहाँको पुरानै बानी हो,' उनले भने, 'हेर्दै जानुहोला, यस पटक पनि जनार्दनले केही लिएर यो हल्ला बन्द हुन्छ।'
जनार्दन पक्षका नेताहरू भने यो मान्दैनन्। जनार्दनले अब कुनै पदीय आकांक्षा नरहेको, पार्टी सुदृढीकरण र शुद्धीकरण नै आफ्नो मूल एजेन्डा भएको भनेर आफ्नो समूहको छलफलमा भन्ने गरेको ती नेताहरू बताउँछन्।
त्यस्तै पार्टीभित्र नेतृत्वबारे बहस आवश्यक भएरै यो अभियान अघि बढेको उनीहरूको भनाइ छ।
माओवादी सचिव राम कार्की यति बेला ठूला, साना सबै पार्टीहरू यस्तै संकटबाट गुज्रिरहेको बताउँछन्।
'संकट साना ठूला सबै पार्टीमा छन्। मान्छेको ध्यान चाहिँ ठूला पार्टीमा जान्छ,' उनले भने।
उनले सबैजसो पार्टीहरू गतिरोधको शिकार भएको र माओवादी अपवाद नभएको बताए।
'अब हाम्रो पार्टीभित्र पनि राम्रो फोरम बनाएर बहस जरूरी देखिन्छ,' कार्कीले भने।
तपाईंका अध्यक्ष प्रचण्डले त सिँगौरी खेल्न दिएकै छु भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा कार्कीले थपे, 'उहाँले कस्तो ठाउँमा के भन्नुभयो, त्यसमा मेरो भन्नु केही छैन।'
कार्कीले नेपाल अहिले प्रगतिशील निकासका लागि तड्पिरहेको पनि बताए।
'विचार सहितको बहस हुनुपर्यो। विचार बिनाको रूपान्तरण हुँदैन। नयाँ विचारलाई पुरानो विचारले प्रतिस्थापन गर्नुपर्छ। यसको कुनै विकल्प हुँदैन,' उनले भने।
***