ह्वाइट हाउसका एक जना उच्च अधिकारीले भारतले रूसलाई युक्रेनविरूद्ध लड्न आर्थिक सहायता गरेको आरोप लगाएका छन्।
ट्रम्पका अत्यन्त निकट रहेका ह्वाइट हाउसका कर्मचारी प्रशासनका उपप्रमुख स्टिफन मिलरले एक टेलिभिजन अन्तर्वार्तामा भारतले रूसबाट तेल खरिद गरेर ऊसलाई युक्रेनविरूद्ध लड्न आर्थिक सहायता प्रदान गरेको आरोप लगाएका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको बुझाइ पनि भारतले रूसलाई युद्धमा सहायता गर्यो भन्ने नै रहेको मिलरले बताएका छन्।
'भारतले तेल किनेर रूसलाई युद्धमा सहायता गरेको विषय स्वीकार्य हुँदैन भनेर उहाँ (ट्रम्प)ले प्रष्ट भन्नुभएको छ,' मिलरले टेलिभिजन अन्तर्वार्तामा भनेका छन्।
ट्रम्पको धम्कीका बाबजुद पनि भारतले रूसबाट तेल खरिद नरोक्ने भनेको थियो।
ट्रम्पले युक्रेनमा युद्धविराम गर्नका लागि दबाब दिन रूसी तेल खरिद गर्ने देशहरूमाथि पनि भन्सार दर बढाउने चेतावनी दिएका थिए।
अरू देशहरूले पनि रूसबाट तेल नकिनुन् जसकारण रूसले युद्धमा धेरै पैसा खर्च गर्न नसकेर युद्धविरामका लागि सहमत होस् भन्ने ट्रम्पको रणनीति हो।
तर भारतले ट्रम्पको दबाबका बाबजुद पनि तेल खरिद नरोक्ने बताइसकेको छ।
शनिबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भारतका दुई उच्च अधिकारीहरूले ट्रम्पले धम्की दिए पनि रूसबाट तेल खरिद नरोकिने बताएका छन्।
तेल खरिदको विषय दीर्घकालीन सम्झौताहरू भएका कारण नरोकिने उनले बताएका थिए।
'यी दीर्घकालीन तेल सम्झौताहरू हुन्। एक्कासि खरिद रोक्नु सजिलो कुरा होइन,' ती अधिकारीले रोयटर्ससँग भनेका छन्।
अर्का एक अधिकारीले भारतको नीतिमा तत्काल कुनै परिवर्तन नहुने बताएका छन्।
'रूसबाट आयात हुने क्रुड तेल इरान र भेनेजुएलाको जस्तो प्रत्यक्ष प्रतिबन्धमा छैन। भारतले यो तेल युरोपेली युनियनले तोकेको मूल्य सिमा भन्दा तलको दरमा खरिद गरिरहेको छ,' ती अधिकारीले भनेका छन्।
रूसी तेलबारे सरकारका प्रवक्ताहरूले आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
तर विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार नियमित पत्रकार सम्मेलनमा रूससँग भारतको सम्बन्ध विश्वासिलो रहेको बताएका थिए।
'रुससँग हाम्रो सम्बन्ध स्थिर र विश्वासिलो छ,' उनले भनेका छन्।
ट्रम्पले भारतले रूसबाट हतियार र तेल किनिरहे ऊमाथि अझै भन्सार दर बढाउने बताएका थिए।
अगस्ट १ को समयसिमा सकिएपछि ट्रम्पले नयाँ भन्सार दर घोषणा गरेका छन्। जसमा भारतलाई २५ प्रतिशत लगाइएको छ।
ट्रम्पले सामाजिक सञ्जालबाटै भारतले रूसी तेल नकिन्ने खबर सुनेको भनेका थिए।
भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता हो। रूसी तेलले भारतको कुल आपूर्तिको करिब ३५ प्रतिशत हिस्सा ओगटेको छ।
यो वर्ष जनवरीदेखि जुनसम्म भारतले दैनिक १७ लाख ५० हजार ब्यारेल रूसी तेल आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतले बढी हो।