राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य कुसुम महर्जनले प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएकी छन्।
रास्वपा प्रवक्ता मनिष झालेसमानुपातिकको सूचीबाट नाम हटाउन पार्टीमा उनको उनको निवेदन परेको बताए।
कुसुमको निवेदनमाथि मंगलबार दिउँसो तीन बजे बस्ने सचिवालय बैठकमा छलफल हुँदैछ।
‘उहाँको निवेदन आएको छ। आज बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुनेछ। यो एउटा प्रक्रियाको कुरा हो,’ उनले भने।
केन्द्रीय सदस्य महर्जनले रूपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्ने हिसाबले आफूले समानुपातिकको सूचीबाट नाम हटाउन खोजेको बताइन्। समानुपातिकको बन्द सूचीमा भएको व्यक्ति प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने कानुनी प्रबन्ध छ।
उनले आफ्नो व्यक्तिगत चाहनामा भन्दा पनि पार्टीसँग सल्लाह गरेरै नाम फिर्ता लिन खोजेको बताइन्।
‘अहिले देशव्यापी रूपमा रास्वपा आकर्षणको केन्द्रमा छ। रूपन्देही–३ मा पनि पार्टीको राम्रो अवस्था छ,’ उनले भनिन्, ‘समानुपातिकको सूचीबाट नाम हटाउने मेरो व्यक्तिगत चाहनाको कुरा होइन। पार्टीकै कुरा हो।’
उनी सिद्धार्थ नगरपालिका–८ की स्थानीय बासिन्दा हुन्। उनीसँग गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव छ। हाल उनी काठमाडौं बस्दै आएकी छन्। उनले आफू नै उम्मेदवार बन्ने सम्भावना पनि व्यक्त गरिन्।
तर रास्वपाका प्रवक्ता मनिष झाले पार्टीको कार्यविधिअनुसार उम्मेदवार तय हुने बताए।
‘उहाँको पनि आकांक्षा हुनसक्छ। त्यही हिसाबले कानुनी कुरा मिलाउन खोज्नु भएको पनि हुनसक्छ। तर हाम्रो उम्मेदवार चयन पार्टीले पारित गरेको कार्यविधिअनुसार नै हुन्छ। हामी कार्यविधिप्रति इमान्दार बन्छौं,’ उनले भने।
कात्तिक १७ गते हुने उपनिर्वाचनको लागि रास्वपाले उम्मेदवार आह्वान गरेको छ। गत साउन ७ गते रास्वपाले उम्मेदवार आह्वान गरेको थियो। साउन २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। जसअनुसार करिब १० जनाको आवेदन पर्ने सम्भावना रहेको उनले बताए।
त्यसपछि उम्मेदवार छनोटको प्रक्रिया सुरू हुने उनले बताए।
‘कार्यविधिमा उल्लेखित प्रावधानमा टेकेर प्रावधान पूरा गर्छौं। कार्यविधि बनेपछि नयाँ प्रयोग पनि भएकाले यसप्रति हामी बढ्तै इमान्दार बन्नुपर्नेछ,’ उनले भने।
रास्वपाले पार्टी सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रूपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मा दिएको छ। उनैको नेतृत्वको कार्यदलले उम्मेदवार कार्यविधि तयार पारेको थियो।