अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक भारतीय उत्पादनमा लगाइने भन्सार महसुल धेरै मात्राले बढाउने धम्की दिएका छन्।
गत बुधबार उनले भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। सोमबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै उनले भारतले कच्चा रूसी तेल किनेका कारण झन् धेरै महसुल बढाउने धम्की दिएका छन्।
रूसले युक्रेनमा कति मान्छेको हत्या गरिरहेको छ भन्ने पर्वाह नगरी भारतले ठूलो मात्रामा तेल किनिरहेको भन्दै उनले भन्सार महसुल धेरै बढाउने बताएका हुन्।
पछिल्ला केही महिनामा ट्रम्पले भारतलाई अप्ठ्यारो पार्ने धेरै अभिव्यक्ति दिएका छन्। भारतले खासै प्रतिक्रिया जनाएको थिएन। यस पटक भने भारतको विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै रूसी तेल किनेकामा निशाना साध्नु अनुचित र अविवेकी भएको बताएको छ।
अमेरिका र युरोपियन युनियनले पनि रूसबाट तेल, ग्यासका साथै दुर्लभ खनिज, मल, फलाम, स्टिल लगायत सामान किनेको भन्दै भारतले उनीहरूको दोहोरो चरित्र औंल्याएको छ। अरू प्रमुख देशले जस्तै भारतले पनि आफ्नो राष्ट्रिय स्वार्थ र आर्थिक सुरक्षाको बचाउ गर्न आवश्यक सबै उपाय अवलम्बन गर्ने पनि बताएको छ।
यो विज्ञप्तिले भारतले ट्रम्पको धम्कीसामु आफू नझुक्ने सन्देश दिन खोजेको देखिन्छ।
त्यस्तै पछिल्लो साताका घटना क्रमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ट्रम्पको सम्बन्ध बिग्रिएको देखाउँछ। कुनै बेला एकअर्कालाई सच्चा मित्र भनेका यी दुई देशबीचको मित्रतामा अहिले तिक्तता गहिरिँदै गएको छ।
मोदी सुरूदेखि नै ट्रम्पलाई खुसी बनाउने प्रयासमा थिए। यसबीच खचाखच भरिएका रंगशालामा दुई नेताले संयुक्त सम्बोधन गरे। सार्वजनिक रूपमै ट्रम्पलाई सच्चा मित्र भने। धेरै चुनौती भए पनि मोदीले अमेरिकासँगको व्यापार वार्तामा धेरै लचिला नीतिहरू अपनाए।
भारत र अमेरिकाबीच व्यापार सम्झौता भएको छैन। अमेरिकी कृषि उत्पादनलाई भारतीय बजारमा प्रवेश नदिनु यसको प्रमुख कारण मानिन्छ। भारतका झन्डै ७० करोड जनता कृषिमा संलग्न भएको मानिन्छ र किसानहरू राजनीतिक रूपमा शक्तिशाली छन्। कतिसम्म भने, सन् २०२१ मा भारतको कृषि क्षेत्रका निम्ति महत्त्वपूर्ण मानिएका तीन वटा कानुन किसानको आन्दोलनकै कारण फिर्ता गर्न मोदी बाध्य भएका थिए।
यस्तोमा भारतले आनुवांशिक रूपमा परिमार्जित अमेरिकी मकै, भटमास, चामल र गहुँ बजारमा सहजै प्रवेश दिन सक्दैन। त्यस्तै, गाईको चारोमा अमेरिकाले गाईवस्तुको मासु पनि मिसाउने भएकाले ती गाईको दुग्ध उत्पादन आयात गर्न पनि हिन्दुवादी एजेन्डा बोकेका मोदीका लागि असम्भव छ। त्यसैले उनले चाहेर पनि कृषि र दुग्ध उत्पादनमा अमेरिकासँग सम्झौता गर्न सक्दैनन्। अमेरिकाको सर्त मान्नु मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) दुवैका लागि आत्मघाती हुन्छ।
तैपनि भारतले सकेसम्म लचकता देखाउँदै स्याउ लगायत केही अमेरिकी कृषि उत्पादनलाई प्रवेश दिन तयार थियो पनि भनिन्छ। अमेरिकाको भारतसँग उच्च व्यापार घाटा रहेको भनेर ट्रम्पले गुनासो गर्दा भारतले प्राकृतिक ग्यास, ड्राइ फ्रुट्स, मोटर पार्ट्स लगायत वस्तु किन्न प्रस्ताव पनि गरेको थियो।
ट्रम्पलाई खुसी पार्न मोदीले अमेरिकामा रहेका सयौं अवैध भारतीय आप्रवासीलाई फिर्ता पनि लिए। समाचारहरूका अनुसार उनले त्यो बेला १८ हजार जनासम्म अवैध भारतीय आप्रवासी फिर्ता लिने प्रतिबद्धता नै जनाएका थिए।
दुई देशबीच सम्बन्ध राम्रो भएका बेला मोदीले ट्रम्पलाई मात्रै होइन, उनी निकट अमेरिकी धनाढ्य इलन मस्कलाई समेत खुसी पार्न लागेका थिए। फेब्रुअरीमा ट्रम्पलाई भेट्न अमेरिका गएका बेला मोदीले मस्कलाई पनि भेटे। ट्रम्पले भारतीय उत्पादनमा भन्सार नलगाऊलान् भन्ने आशमा मोदीले आफ्नो सरकारको नीति नै फेरेर टेस्लालाई भारतमा गाडी बेच्न सजिलो बनाउने कदम चाले। मस्ककै सञ्चार कम्पनी स्टारलिकंलाई पनि भारतमा इन्टरनेट सेवा विस्तार गर्न दिए।
त्यो भेटमा मोदीले ट्रम्पको मुख्य नारा 'मेक अमेरिका ग्रेट अगेन (मागा)' को पनि सहायता लिएका थिए। ट्रम्पको मागा र भारतको 'मेक इन्डिया ग्रेट अगेन (मिगा)' को संगम भयो भने समृद्धिका लागि 'मेगा' (ज्यादै ठूलो) साझेदारी हुने भनेर टिप्पणी गरेका थिए।
ट्रम्पसँगको व्यक्तिगत सम्बन्ध र व्यापार वार्तामा देखाएको लचकताका कारण अगस्ट १ अघि नै अमेरिकासँग व्यापार सम्झौता हुनेमा मोदी विश्वस्त थिए। भारतलाई ट्रम्पले सकेसम्म बेलायतलाई लगाए जस्तो १० प्रतिशत, नभए पनि युरोपियन युनियनलाई जस्तो १५ प्रतिशत भन्सार मात्रै लगाऊलान् भन्ने आशा मोदीले गरेका थिए।
तर ट्रम्पले मोदीको आशा विपरीत भारतलाई २५ प्रतिशतको उच्च दर लगाइदिए।
ट्रम्प भारतलाई चिढ्याउन यतिमा मात्र रोकिएको देखिँदैन। उनले पाकिस्तान कार्ड समेत खेलेको देखिन्छ। भारतलाई २५ प्रतिशत कर लगाउँदा उनले पाकिस्तानलाई १९ प्रतिशत मात्रै लगाए। पाकिस्तानमा भर्खरै पत्ता लागेको खानीबाट तेल निकाल्न अमेरिकी कम्पनीहरूले मद्दत गर्ने घोषणा पनि गरे। भारतलाई चिढ्याउनकै लागि उनले 'कुनै दिन सायद पाकिस्तानले भारतलाई तेल पनि बेच्नेछ' भने।
भारत–पाकिस्तान युद्ध रोक्न आफूले मध्यस्थता गरेको दाबी गरेर ट्रम्पले भारतलाई पहिले नै अप्ठ्यारोमा पारेका थिए। अझ अघि बढेर कश्मिरको मामिलामा समेत दुई देशबीच मध्यस्थता गर्छु भने।
भारतले दशकौंदेखि पाकिस्तानसँगको असमझदारी शान्तिपूर्ण रूपमा द्विपक्षीय वार्ता गरेर हल गर्ने भन्दै आएको छ। त्यसमा तेस्रो पक्षको संलग्नता र मध्यस्थता अस्वीकार्य भनेको छ। त्यसैले दुई देशको पहलले युद्धविराम भएको भारतले दाबी गर्छ। ट्रम्पले भने बारम्बार आफूले मध्यस्थता गरेको भनिरहेका छन्।
अमेरिकाले लामो समयदेखि पाकिस्तानसँगको सम्बन्धलाई कम महत्त्व दिएर भारतसँग सम्बन्ध अघि बढाइरहेको थियो। यस्तोमा अकस्मात् पाकिस्तानलाई 'इन्गेज' गर्न थालेपछि भारतमा अमेरिकी नियतबारे पनि शंका उत्पन्न भएको छ।
ट्रम्पले गत महिना पाकिस्तानी सेना प्रमुख जनरल सइद असिम मुनिरलाई ह्वाइट–हाउसमा भेट गरे। यसरी सेना प्रमुखको मात्रै हैसियतमा अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने मुनिर पहिलो पाकिस्तानी जनरल बने। भारतले पाकिस्तानसँगको युद्धमा पाँच लडाकु विमान गुमाएको अभिव्यक्ति पनि ट्रम्पले दिए।
पाकिस्तानप्रति नरम हुनुमा अमेरिकाको मात्रै नभएर ट्रम्पको व्यक्तिगत स्वार्थ पनि देखिन्छ। नोबेल पुरस्कार पाउने उत्कट चाहना भएका ट्रम्पलाई खुसी पार्न पाकिस्तानले भारतसँगको युद्ध रोकेको भन्दै औपचारिक रूपमा उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस नै गरेको छ।
त्यस्तै क्रिप्टोकरेन्सीको प्रवर्द्धन गर्न ट्रम्पका छोराले खोलेको कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलसँग पाकिस्तान सरकारले सहकार्य गरेको छ। सो कम्पनीमा ट्रम्पले कूटनीतिक वार्ताका लागि विशेष दूत तोकेका उनका व्यापारी मित्र स्टिभ विट्कफका छोरा पनि संलग्न छन्।
यसरी पाकिस्तानप्रति नरम हुने क्रमलाई ट्रम्पले भन्सार दर लगाउँदा पनि निरन्तरता दिएका छन्। थप विरोध गर्न भारतले रूसी तेल किनेको कुरा पनि उठाएका छन्। युक्रेनसँगको युद्ध धान्न रूसलाई सघाउने गरी तेल किनेको भनेर भारतलाई थप जरिवाना लगाउने धम्की पनि दिइरहेका छन्।
ट्रम्पले व्यापार घाटाका लागि भारतको आलोचना गर्नु जायज देखिए पनि रूसी तेल किनेको विरोध गर्नु नाजायज देखिन्छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध भएका ट्रम्पले गत वर्ष चुनाव प्रचारकै क्रममा आफूले जिते रूस–युक्रेन युद्ध २४ घण्टामै रोक्ने दाबी गरेका थिए। दोस्रो कार्यकाल सुरू भएदेखि उनले रूसलाई फाइदा हुने सर्तमा युद्धविराम गराउन युक्रेनमाथि व्यापक दबाब हाले। त्यस्तो फाइदा हुने सर्तमा पनि युद्ध रोक्न रूस तयार नभएपछि भने केही साता अघिदेखि उनी पुटिनसँग रिसाएका छन्।
युक्रेनसँग युद्धविराम गर्न उनले पुटिनलाई दिएको पछिल्लो समयसीमा आउँदो शुक्रबार सकिँदैछ। त्यतिञ्जेल पनि पुटिन युद्ध रोक्न तयार हुने देखिँदैनन्। त्यसपछि रूसमाथि दबाब बढाउन ट्रम्पले रूसी तेल किन्ने देशका सबै उत्पादनमा १०० प्रतिशत थप भन्सार लगाउने आकलन गरिएको छ।
अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनको सरकार पनि भारतले रूसी तेल किनेको भनेर मुर्मुरिन्थ्यो। तर धेरै विरोध गरेको थिएन। रूसी तेल बजारमा गएन भने तेलको भाउ बढेर अमेरिकाकै अर्थतन्त्रमा समेत नराम्रो असर पर्ने भएकाले बाइडेन सरकारले आँखा चिम्लिएको मानिन्छ। त्यसैले रूसी तेलमा पूर्ण प्रतिबन्ध लगाउन छाडेर अमेरिका लगायत पश्चिमा राष्ट्रले ६० डलर प्रति ब्यारेलभन्दा कममा किन्ने भनेर उर्दी लगाएका थिए। त्यसो गर्दा तेलको भाउ नबढ्ने र रूसले तेलबाट पाउने आम्दानी पनि घट्न भएकाले अमेरिकाले सो नीति अँगालेको थियो।
पछिल्ला दिनमा तेलको भाउ घटेकाले भारतले रूसबाट ६० डलर प्रति ब्यारेलभन्दा कम मूल्यमै किनिरहेको मानिन्छ। त्यस अर्थमा भारतले अमेरिकाले लगाएको नियमको पालना गरिरहेको छ। र, यो मामिलामा अमेरिकाले अहिले आलोचना गर्नु जायज देखिँदैन।
त्यस्तै आफ्नो दोस्रो कार्यकालको ६ महिनासम्म रूसलाई फाइदा हुने नीति अँगालेका ट्रम्पले त्यसको विरोध गर्नु झनै असंगत देखिन्छ। फेरि, रूसी तेल भारतले मात्रै किन्ने होइन। लगभग भारतकै जति परिमाणमा चीनले पनि किनिरहेको छ। चीनले तेल किनेकोबारे पछिल्ला दिनमा ट्रम्पले केही सार्वजनिक टिप्पणी गरेका छैनन्। एकोहोरो भारतलाई मात्रै जरिवाना लगाउँछु भनेर धम्की दिइरहेका छन्।
रूसी तेल किन्ने देशहरूलाई अमेरिकाले औपचारिक रूपमा थप भन्सार लगाए चीन पनि त्यसमा पर्नेछ। तर चीनबारे केही नबोली ट्रम्पले आफ्नो मात्रै विरोध गरेकाले पनि भारतले अहिले कडा प्रतिक्रिया दिएको हुन सक्छ।
केही विश्लेषकहरूका अनुसार व्यापार वार्ताकै क्रममा अमेरिकाले रूसी तेलको कुरा उठाएको भए भारतले मान्न पनि सक्थ्यो। तर पछिल्लो केही महिना अमेरिकासँग भएको व्यापार वार्तामा एक पटक पनि रूसी तेलको कुरा नउठेको भारतले औंल्याएको छ।
विश्लेषकहरूले रूसी तेल प्रति ब्यारेल ६-७ डलर मात्रै सस्तो भएकाले भारतीय उत्पादनमा कम भन्सार लगाएको भए मोदीले मान्न पनि सक्थे भनेर पनि टिप्पणी गरेका छन्।
तर वार्तामा नउठेको कुरा एकाएक उठाएको, अझ ट्रम्पले पाकिस्तान कार्ड समेत खेलेकाले भारतले यस्तो कडा नीति लिएको मानिन्छ।
उसै पनि अमेरिकासँगको व्यापार युद्धमा चीनले खुट्टा नकमाएका कारण ट्रम्प झुकेको देखेकाले मोदीलाई उनीसामु झुक्न अप्ठ्यारो थियो। त्यसमाथि पाकिस्तानसँग नरम भएर भारतलाई एकोहोरो धम्क्याएकाले मोदी झन् चिढिएका देखिन्छन्।
यो सब भइरहँदा एउटा कुरा भने भुल्नु हुँदैन — ट्रम्पले व्यापार सम्झौता गर्न मोदीमाथि दबाब हाल्न भारतलाई उच्च भन्सार लगाउने धम्की दिएका हुन्। त्यस्तै यसले पुटिनमाथि पनि युद्ध रोक्न दबाब हुन्छ। अनि मोदीले पनि ट्रम्पको सो दबाबले काम गर्दैन भन्ने देखाउन कडा जबाफ दिएका हुन्।
ट्रम्पले पुटिनसँग कुरा गर्न आफ्ना विशेष दूत विट्कफलाई यसै साता रूस पठाउँदैछन्। पुटिनसँग विट्कफले कुरा गरेपछि ट्रम्पले रूसी तेलको मुद्दा उठाउन छोड्न पनि सक्छन्। किनभने, उनले आफ्नो दोस्रो कार्यकालमा पटक पटक कुरा फेरेका छन्।
त्यस्तै अमेरिका र भारतबीच अझै पनि व्यापार संवाद भइरहेको मानिन्छ। दुई देशबीच व्यापार सम्झौता हुने सम्भावना थोरै भए पनि बाँकी छ। यस्तो सम्झौता भइहाल्यो भन पनि ट्रम्प र मोदीको 'मित्र–सम्बन्ध' मा पहिले जस्तो हार्दिकता भने नरहने देखिन्छ।
***
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)