राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारमा कसरी राखिएको छ भन्ने विषयमा पछिल्ला दिनमा फरक-फरक कुरा आएका छन्।
कतिपय सञ्चार माध्यमले कैदीबन्दीले पाउने सामान्य सुविधासमेत लामिछानेलाई नदिइएको दाबी गरेका छन् भने कतिपय सञ्चार माध्यमले भीआइपी कैदीलाई जुन सुविधा दिइन्छ, सोही सुविधा पूर्वगृहमन्त्री लामिछानेलाई दिइएको दाबी गरेका छन्।
परस्पर बाझिने यस्ता कुराहरूले आममानिसमा तथ्य के हो भन्ने चासो छ।
रास्वपाका सभापति लामिछाने सहकारी ठगी प्रकरणमा तुलसीपुर उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार पुर्पक्षका लागि रूपन्देही कारागारभित्र छन्।
रास्वपा सभापति लामिछानलाई राखिएको कारागार र त्यहाँको अवस्थाबारे केही दिनअघि नयाँ पत्रिका दैनिक र अन्नपूर्ण पोष्टले फरक-फरक कोणबाट समाचार छापे।
नयाँ पत्रिकाले सभापति लामिछानेलाई कारागारमा 'गोलघरजस्तो कालकोठरीमा राखिएको' र उनलाई न्यूनतम सुविधा (पत्रपत्रिका पढ्ने, बाहिर घुमफिर गर्न) नदिएको कुरा छाप्यो। यो समाचार नयाँ पत्रिकाले एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी फोटो समावेश गरी स्रोत उल्लेख नगरी छापेको थियो।
तर अन्नपूर्ण पोष्टले भने नयाँ पत्रिकालेभन्दा परस्पर बाझिने कुरा छाप्यो।
‘अट्याच ट्वाइलेट, कोठाबाहिर ग्राउण्डमा घुम्ने सुविधासहित लामिछानेलाई भीआइपी ट्रिटमेन्ट' गरेको अन्नपूर्णको समाचारमा उल्लेख थियो।
दुई पत्रिकामा फरक-फरक कुरा आएपछि आम मानिसहरूलाई यसबारे स्वाभाविक रूपमा चासो पर्ने भयो।
यसपछि रूपन्देही कारागारले विज्ञप्ति निकालेर 'अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँ (रवि लामिछाने) लाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ' भनेको छ।
दुई पत्रिकामा परस्पर बाझिने कुरासहित समाचार छापिएको, यसबीचमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रविलाई भेटेर 'अखबारसमेत पढ्न नदिएको' अभिव्यक्ति दिएको र रूपन्देही कारागारले पनि विज्ञप्ति जारी गरेर सेवा सुविधा दिइएको भनेको अवस्थामा रवि लामिछानेको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोग पनि रूपन्देही कारागार पुगेको छ।
सोमबार राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवालीसहितको टोली रूपन्देही कारागार पुगेका हुन्। तर आयोगकी आयुक्त थापालाई मात्रै रवि बसेको कोठासम्म पुगेर अवलोकन गर्न दिइयो भने टोलीमा रहेका अन्य सदस्य बाहिरै रहे।
प्रचण्ड गर्मीका बीच आफूलाई जीर्ण घरको भुइँतलामा रहेको हावा पनि छिर्न गाह्रो हुने कोठामा राखिएको भन्दै सभापति लामिछानेले तीन महिनाअघि नै थानासारका लागि निवेदन दिएका थिए।
उनले निवेदनलाई अदालतले इजलास बसेर स्वीकृत दिइसकेको अवस्थामा 'गृहमन्त्री रमेश लेखकले नियतवश रोकेको' रास्वपा नेताहरूको भनाइ छ।
दुई–दुई पटक उपप्रधानमन्त्री भइसकेको व्यक्तिलाई जेलमा मानवोचित व्यवहार नभएको मात्रै होइन, न्यूनतम मानव अधिकार समेतको पालना नगरिएको भन्ने समर्थकहरूबाट गुनासो बढेको र पत्रिकाहरूमा पनि परस्पर बाझिने गरी समाचार आएपछि यथार्थ स्थिति भन्न हामीले रास्वपा सभापति रवि लामिछानेनिकट एक नेतालाई सोध्यौं। रविनिकट रास्वपाका ती पदाधिकारीले पटक-पटक रूपन्देही कारागारभित्रै पुगेर सभापति लामिछानेसँग भेटेका छन्।
उनले सभापति लामिछानेलाई न्यूनतम सेवा सुविधा नदिएको जिकिर गर्दै हेर्दै जोखिमपूर्ण घरमा राखिएको बताए। सभापति लामिछाने भैरहवास्थित कारागारमा गत चैत २२ देखि थुनामा छन्।
सभापति लामिछाने उक्त कारागारको भवनमा छुट्टै ब्लकमा छन्। छुट्टै ब्लक भनिए पनि त्यहाँ कुनै अतिरिक्त सुविधा नरहेको उनले दाबी गरे।
ती नेताका अनुसार १ सय जनाको क्षमता रहेको पहिलो ब्लकमा ३३८ जना कैदीबन्दी छन्। १५० जनाको क्षमता रहेको दोस्रो ब्लकमा २५३ जना थुनुवा रहेका छन् ।
सभापति लामिछानेलाई भुइँतलामा राखिएको छ। छुट्टै कोठा भनिए पनि शौचालय, बाथरूम त्यहीँ ‘अट्याच’ छ। खाना खाने, नुहाउने, शौच गर्नेदेखि सुत्नेसम्म त्यहीँ भुइँतलाको कोठाभित्रै भएको ती नेताको भनाइ छ।
‘सभापति लामिछानेलाई राखिएको भवन जीर्ण छ। कोठाको ढोकासँगैको झ्याल र अन्य हावा छिर्ने माध्यम प्लाइउडले टालिएको छ,’ सभापति लामिछानेलाई पटक-पटक रूपन्देही कारागारभित्र भेटेका रास्वपाका ती पदाधिकारीले भने, ‘२० फिट लम्बाइ, १८ फिट चौडाइ भएको कोठाभित्र सुत्नेदेखि नुहाउने र शौच गर्नेसम्म गर्नुपर्ने बाध्यता छ। सुविधा, असुविधा के हो आफै अनुमान गर्नुस्!’
तर रवि लामिछानेलाई राखिएको कोठाबारे रविले हालै रूपन्देही जिल्ला अदालतमा 'बिगो तिराएर छाडिपाऊँ' भन्ने निवेदन फरक विवरण उल्लेख छ। रविले निवेदनमा आफूलाई '३५ फिट लम्बाइ र १२ फिट चौडाइ' को कोठामा राखिएको र त्यहाँको बसाई गोलघरकोजस्तो भएको उल्लेख गरेका छन्। उनले त्यो कोठा चिसिन 'कम्तिमा रातको ११/१२ बज्नुपर्छ, शरीरमा लुगा लगाएर यो बन्द कोठामा कोही ३० मिनेट टिक्न सक्दैन, यो जेल होइन, अर्को रूपको गोलघर हो, सरकार मलाई जानिबुझी यहीँ सडाउन चाहिरहेको छ ताकि मलाई मानसिक र शारीरिक रूपमा समाप्त पार्न सकियोस्, मलाई खाली नेल ठोकिएको छैन, तर ४२ डिग्री तापक्रममा यो कालकोठरी मध्ययुगको यातनागृहभन्दा पनि बढी पीडादायी छ, अरू कैदीबन्दी सुत्नमात्र कोठाभित्र जान्छन् तर मेरा लागि यही कोठा नै सिंगो जेल हो,' रवि लामिछानेले निवेदनमा उल्लेख गरेका छन्। उक्त निवेदनउपर आज जिल्ला अदालत रूपन्देहीमा पेसी तोकिएको छ।
सभापति लामिछानेकै निवेदनलाई आधार मान्दा उनी बस्दै आएको कोठा साँघुरो भने होइन। सामान्यतया: घरका कोठा १५० स्क्वायर फिटको हुने गर्छ।
गर्मी याम भएकोले तराई–मधेसमा सर्प आदिको समस्या हुने हुँदा पनि रवि लामिछानेलाई राखिएको कारागारको कोठाको झ्याल त्यसरी प्लाइउडले ढाकिएको हुन सक्ने रास्वपाका ती पदाधिकारीको भनाइ छ।
उनले सभापति लामिछानेलाई पार्टीका नेतादेखि बाह्य मानिसहरूसम्मलाई सीमित समयका लागि भेटघाट गर्न दिने गरेको बताए। त्यसरी भेट्न जानेले १५ मिनेटको समय पाउँछन्। भेट्दा कोठाभित्र बार लगाएजस्तो ठाउँबाट बोल्नुपर्छ।
‘ढोकाअगाडि बेञ्चजस्तो राखिएको छ। त्यहीँ बसेर कुराकानी गर्ने हो। उहाँभित्र बारजस्तो ठाउँबाट बोल्नुहुन्छ,’ ती नेताले भने, ‘हामी (सांसद पनि भएकोले होला) लगायत पार्टीका नेताहरूलाई बढीमा १५ मिनेट भेट्न र कुराकानी गर्न दिइन्छ। त्यो पनि समय निश्चित हुँदैन। हालै एक दिनको कुरा हो- मैले बिहान ९ बजे भेट्न समय लिएको थिएँ, पछि जेलरले १२ बजेपछि मात्रै आउनु भन्नुभयो।’
रास्वपाका ती पदाधिकारीले सभापति रवि लामिछानेको कोठाभित्र कुलर रहेको पनि स्वीकार गरे।
‘सभापति लामिछानेलाई राखेको कोठाभित्र कुलर छ, तर झ्यालमा प्लाइले ढाकेकोले कोठाभित्र हावा खेल्न पाउँदैन, कोठाभित्र तातो हावा हुने भएकोले कुलरले पनि तातै हावा फाल्ने रहेछ,’ ती पदाधिकारीले दाबी गरे।
अहिले भेटघाटको सहजीकरण सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले गरिरहेका छन्। आचार्य केही समयदेखि रूपन्देहीमै बसेका छन्। रविका स्वकीय सचिव आचार्यले पनि सभापति लामिछानेको कारागार बसाइ कष्टप्रद रहेको र उनले विशेष सुविधा नमागेको बताए।
हामीले रवि लामिछानेको कोठामा एसी वा कुलर जडानबारे पनि रविका स्वकीय सचिव आचार्यसँग सोधेका छौं। जबाफमा उनले भने, ‘रवि लामिछाने अरू कैदीबन्दीसरह बसिराख्नुभएको छ, उहाँले अरूसरह नै खाना खानुहुन्छ, उहाँलाई राज्यले जेलभित्र नै हालिसकेको छ, जेलभित्र कसरी बसेको छ भनेर किन चर्चा गर्नु?’
रवि लामिछानेलाई भेटेका रास्वपाका ती पदाधिकारीको भनाइमा सभापति रविलाई कारागारभित्र सञ्चारको सुविधा छ। रविले ल्यान्डलाइन टेलिफोन नभई मोबाइल नै प्रयोग गर्छन् तर त्यो जेल प्रशासनकै तजबिज र नियन्त्रणमा भने रहन्छ। रविनिकट ती पदाधिकारीको दाबीअनुसार जेलभित्र केही मोबाइल सेट छन्, जुन अरू कैदीबन्दीले पनि प्रयोग गरेको देखिन्छ।
‘९७६१... नम्बरको फोनबाट सभापति लामिछानेले हामीलाई सम्पर्क गर्नुहुन्छ। त्यो नेपाल टेलिकमकै नम्बर हो। बिहान र बेलुका त्यो सुविधा हुँदो रहेछ। केही दिनअघि फोन गर्दागर्दै काटियो। मैले पैसा सकिएछ क्यारे भन्ठानेर टपअप (विभिन्न गेटवेमार्फत् मोबाइल रिचार्ज गर्ने सुविधा) गर्न खोजेको थिएँ तर मिल्दो रहेनछ,’ उनले भने, ‘त्यो मोबाइल रवि लामिछानेलाई नै उपलब्ध गराइएको हो कि त्यहाँ सुरक्षार्थ कुनै प्रहरीको हो भन्ने चाहिँ थाहा भएन।’
उनले सभापति लामिछानेलाई मानवोचित व्यवहार नभएको बताए। अहिले प्रशासनले भिआइपीसरह सुविधा दिएको छ भनेर प्रचार गरिरहेको बताउँदै 'सरकारको नियत ठीक भएको भए दुई महिनाअघि नै अड्डासार गरिदिनुपर्ने' तर्क गरे।
‘हाम्रो सम्झनामा जेलमा भिआइपीको सुविधा प्रयोग गर्ने पूर्वगृहमन्त्री खुमबहादुर खड्का मात्रै हो। सभापति लामिछानेको त न्यूनतम मानव अधिकारको पनि ख्याल गरिएको छैन,’ उनले भने, ‘हामीलाई के शंका लाग्दैछ भने, अब रूपन्देही–३ मा उपनिर्वाचन आउँदैछ। रास्वपाको गतिविधि बढ्यो, मानिसहरूको आउजाउ बढ्यो भनेर त्यही बाहना गरेर सभापति रवि लामिछानेलाई काठमाडौं अड्डासार पो गरिदिने पो हुन् कि!’
पटक-पटक सभापति लामिछानेलाई रूपन्देही कारागारमा भेटेका रास्वपाका पदाधिकारीले यस्तो दाबी गरेपछि हामीले यो विषय के हो भनेर कारागार प्रशासनसँग पनि बुझ्यौं।
जेल प्रशासनले कैदीबन्दीको मानव अधिकारको ख्याल गरिने बताउँदै रास्वपा सभापति लामिछानेलाई पनि सबै सेवा सुविधा उपलब्ध गराइएको बताए।
ती अधिकारीका अनुसार सभापति लामिछानेलाई छुट्टै ब्लकमा सञ्चार सुविधासहित राखिएको छ। गर्मीलाई मध्यनजर गर्दै कुलर (हावा फाल्ने उपकरण) को व्यवस्था गरिएको छ।
‘बाहिर घुमफिर, व्यायामका लागि चौर छ। कोठामा हावा आवतजावत गर्ने प्रशस्त ठाउँ नभएको सत्य हो, त्यसैले कुलर राखेका हौं, बिहान, बेलुका सञ्चार सुविधा छ, सरकारले उपलब्ध गराउन सक्ने सुविधा यति नै हो,’ कारागार प्रशासन स्रोतले भन्यो।
सभापति लामिछानेलाई रास्वपाका मात्र नभई अरू विभिन्न पार्टीका नेता–कार्यकर्ता भेट्न पुग्छन्।
केही दिनअघि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि रविलाई भेट्न पुगेका थिए।
सभापति लामिछानेलाई भेटेर बाहिरिनेबित्तिकै भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै 'पत्रपत्रिका पनि पढ्न नदिने र यस्तो त पञ्चायतमा पनि नहुने' बताएका थिए।
पूर्वप्रधानमन्त्री भट्टराईले रवि बसेको कोठालगायतबारे प्रष्ट त्यसबेला अभिव्यक्ति दिएका थिएनन्। हामीले फोन गरेर उनलाई रूपन्देही कारागारमा रविसँग भेट गर्दा देखेका कुरा जानकारी दिन भन्यौं।
पूर्वप्रधानमन्त्री भट्टराईले सभापति लामिछानेलाई साँघुरो कोठामा राखेको र उनले असुविधा भोगेको प्रष्टै देखेको बताए। तर आफू रवि बसेको कोठाभित्रै पसेर भने नहेरेको उनको भनाइ छ।
‘स्वास्थ्य ठिकै देखिन्थ्यो। जेलमा जसरी राख्छ, त्यस्तै छ। मैले सोचेको थिएँ– राजनीतिक मान्छे, पत्रपत्रिका त ल्याइदिन्छ होला तर उहाँले अखबार नै दिँदैनन् भन्नुभयो,’ भट्टराईले सेतोपाटीसँग भने।
त्यति नै बेला आफूले नजिकै रहेका जेलका कर्मचारीलाई बोलाएर पत्रपत्रिका नदिएकोबारे चासो राखेको भट्टराईले बताए।
‘जेलको कर्मचारी अलिनजिकै थिए, यता आउनुस् त भनेर बोलाएँ। पत्रपत्रिका दिन मिल्दैन हो भनेर सोधेँ। ती कर्मचारीले अहिले हजुर त्यस्तो गर्न सकिँदैन भने। दिए त राम्रै हुन्छ, राजनीतिक मानिस हो भनेर मैले भनेको थिएँ,’ भट्टराईले भने।
भेटमा सभापति लामिछानेले आफूलाई राखिएको कोठा देखाउँदै ‘यही कोठा हो, निस्कने हिँड्ने ठाउँ छैन’ भनेको भट्टराईले बताए।
‘मैले रविजी बस्ने कोठाभित्रै गएर त हेरिनँ, म पनि पञ्चायतमा जेल र हिरासत बसेको हो, अखबार पढ्ने, भेटघाट गर्ने आदि गर्न पाइन्थ्यो, त्यहाँ उहाँलाई कोठामै सीमित (कन्फाइन) हुने गरी राखिएको रहेछ,’ उनले भने।
आफूले रविसँग हात मिलाउन खोजे पनि नपाएको भट्टराईले बताए।
‘त्यहाँ हात मिलाउन दिँदो रहेनछ, हुन त यो सामान्य कुरा हो, मलाई ठूलो पनि लागेन। उहाँ भित्र म बाहिर बसेर भेटेको हो, बीचमा बार थियो। डिल्लीबजार कारागारमा मानिस नै भेटेर गफगाफ गर्न पाइन्छ। रेशम चौधरीलाई बाहिरै भेटेको हो तर त्यहाँ त्यस्तो सुविधा रहेनछ,’ उनले भने।
उनले लामिछानेलाई पत्रपत्रिका पढ्न दिनुपर्ने बताए।
‘कुराकानी गर्ने ठाउँ र पत्रपत्रिका पढ्न दिनुपर्छ। राज्य गरिब छ, सबै सुविधा दिन सक्दैन। उहाँलाई विशेष सुविधा दिने भन्ने कुरा पनि भएन, अरू कैदीबन्दीसरह दिने होला भन्ने पनि लाग्छ,’ उनले भने।
उनले अड्डासारबारे पनि सभापति लामिछानेलाई सोधेको बताए। सभापति लामिछानेले अड्डासार गर्न प्रशासनले आनाकानी गरेको बताएपछि आफूले जेलरसँग पनि जानकारी लिएको उनको भनाइ छ।
‘जेलर आफैले पनि सरूवा गरिदिन सक्छन् तर जेलरले हामीलाई अहिले केही आदेश छैनजस्तो गरे। जेलरले पनि गर्न सक्छन्, उनको अधिकार क्षेत्रभित्र यो पर्छ भन्ने कुरा पनि मैले गरेँ। रविजीले चाहिँ गृहमन्त्रीले रोकेर राखेका हुन् भन्नुभयो,’ भट्टराईले भने।