भविष्यका विदेश मन्त्रीको रूपमा हेरिएका चीनका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओ पक्राउ परेका छन्।
अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार जुलाईको अन्त्यमा विदेश यात्राबाट बेइजिङ फर्केपछि लिउलाई सोधपुछका लागि हिरासतमा लिइएको छ। उनलाई के विषयमा सोधपुछ गर्न लागिएको भनेर अहिलेसम्म खुलेको छैन।
सरकारको तर्फबाट मिडियालाई जबाफ दिने स्टेट काउन्सिल इन्फर्मेसन अफिस र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभागले यस विषयमा अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
६१ वर्षीय लिउले सन् २०२२ देखि कम्युनिष्ट पार्टीको विदेशी राजनीतिक दलहरूसँगको सम्बन्ध व्यवस्थापन गर्ने निकायको नेतृत्व गर्दै आएका थिए। यो भूमिकामा रहँदा उनले २० भन्दा बढी राष्ट्रको भ्रमण र १६० भन्दा बढी देशका अधिकारीहरूसँग भेट गरेका छन्।
लिउको व्यस्त कार्यतालिका र विशेषगरी जो बाइडेन सरकारको बेला तत्कालीन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग धेरै भेटघाट भएका कारण उनी अर्को विदेश मन्त्री हुने अनुमान गरिएको थियो। उनी त्यसअघि विभिन्न देशमा राजदूत र विदेश मन्त्रालयका प्रवक्ता पनि थिए। लिउको अनुपस्थितिले चीनको कूटनीतिक विशेषज्ञतामा कमी ल्याउन सक्ने मानिन्छ।
लिउको गिरफ्तारी चीनले सन् २०२३ मा तत्कालिन विदेशमन्त्री छिन काङलाई पदबाट हटाएपछिको कूटनीतिज्ञमाथि भएको सबभन्दा उच्च तहको अनुसन्धान भएको जर्नलले जनाएको छ।
छिनलाई विदेशमन्त्री नियुक्त गरिएको सात महिनापछि हटाइएको थियो। पार्टीको आन्तरिक अनुसन्धानमा छिनले अमेरिकाका लागि चिनियाँ राजदूत हुँदा विवाहेत्तर सम्बन्ध राखेको पाइएको थियो।
छिनलाई बर्खास्त गरेर उनको ठाउँमा छिनभन्दा अघिका विदेश मन्त्री वाङ यीलाई चीनले फेरि नियुक्त गरेको थियो। लिउको अनुभव र विज्ञताका कारण उनलाई वाङ पछिका विदेश मन्त्रीका रूपमा हेरिन्थ्यो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)