अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि पुटिन सहमत नभए रूसले गम्भीर परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएका छन्।
ट्रम्प र पुटिनबीच युक्रेनमा युद्धविरामबारे शुक्रबारमा अलास्कामा शिखर वार्ता हुँदैछ।
युक्रेन युद्धविरामबारे बुधबार युरोपेली नेताहरुसँगको भर्चुअल बैठकमा ट्रम्पले पुटिनलाई शान्तिका लागि सहमत गराउन सफल हुनेमा आफू विश्वस्त भएको यद्यपि त्यसो हुन नसके रूसले गम्भीर परिणाम भोग्नुपर्ने बताएका हुन्।
'पुटिन युद्धविरामका लागि तयार नभए रूसले अत्यन्त गम्भीर परिणाम भोग्नुपर्नेछ,' ट्रम्पको भनाइ उद्धृत गर्दै अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले लेखेको छ।
त्यसपछि गम्भीर परिणाम भन्नाले नयाँ प्रतिबन्ध र भन्सारमा हो? भनेर पत्रकारहरूले सोधेका थिए।
त्यसमा ट्रम्प जबाफ दिन अनकनाएको भनेर अर्को अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।
'मलाई थप भन्नु छैन तर युद्धविराम नभए रूसले गम्भीर परिणाम भोग्नुपर्नेछ,' उनले भनेका छन्।
ट्रम्पले पुटिनसँगको वार्ता सफल भए तत्कालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित त्रिपक्षीय वार्ता हुने पनि बताएका छन्।
'त्रिपक्षीय वार्ता तत्कालै हुने सम्भावना पनि छ। दोस्रो वार्ता पहिलो भन्दा बढी प्रभावकारी र ठोस नतिजामुखी पनि हुन सक्छ,' उनले भने।
ट्रम्पले जेलेन्स्कीलाई सुरूवातकै बैठकमा नराख्ने निर्णय आफ्नो नभएको पनि बताए।
उनले पुटिनसँगको बैठक सकिनेबित्तिकै युरोपेली नेताहरूलाई टेलिफोनमार्फत वार्तामा भएका विषयहरूबारे जानकारी गराउने बताए।
ट्रम्पले युरोपेली नेताहरूसँगको भर्चुअल बैठक अत्यन्त रचनात्मक भएको भनेका छन्।
'हाम्रो निकै राम्रो कुराकानी भयो। अत्यन्तै मैत्रीपूर्ण छलफल थियो। म यसलाई १० मा १० दिन्छु,' ट्रम्पले पत्रकारहरूसँग भने।
भर्चुअल बैठकको प्रबन्ध मिलाएका जर्मन चान्स्लर फ्रेडरिक मर्जले पनि वार्ता अत्यन्त सौहार्दपूर्ण र रचनात्मक भएको बताए।
'राष्ट्रपतिसँग असाधारण रूपमा रचनात्मक र राम्रो वार्ता भयो। यसले युक्रेनमा शान्तिका लागि आशा जनाएको छ,' उनले भने।
भर्चुअल वार्तामा ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्स, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जर्मन चान्स्लर फ्रेडरिक मर्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र ट्रम्पसँग निकट रहेका अन्य युरोपेली नेताहरू पनि सहभागी थिए।