नर्वेका अर्थमन्त्री जेन्स स्टोल्टेनबर्गलाई गत महिना अकस्मात् फोन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कारमा आफ्नो दाबीबारे कुरा गरेको खुलेको छ।
उनले भन्सार दरबारे कुरा गर्न भनेर फोन गरे पनि आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी पनि गरेका थिए।
ट्रम्पको फोन कुराकानीबारे पहिलो पटक एक नर्वेली पत्रिकाले बिहीबार समाचार लेखेको थियो। सो पत्रिकाले त्यो कुराकानीभन्दा पहिले पनि ट्रम्पले नोबेल पुरस्कारबारे स्टोल्टेनबर्गसँग कुरा उठाएको लेखेको छ।
ट्रम्पले नोबेल पुरस्कारबारे स्टोल्टेनबर्गसँग कुरा गरेको एक नर्वेली सरकारी अधिकारीले पनि आफूसँग पुष्टि गरेको भनेर अमेरिकी अनलाइन 'पोलिटिको' ले लेखेको छ।
अमेरिकाले नेतृत्व गरेको सैन्य गठबन्धन नेटो महासचिवको १० वर्षको कार्यकाल स्टोल्टेनबर्गले गत वर्षको अक्टोबरमा पूरा गरेका थिए। त्यसपछि फेब्रुअरीमा नर्वेको अर्थमन्त्री बनेका स्टोल्टेनबर्गले ट्रम्पले आफूसँग फोनमा कुरा गरेको पोलिटिकोसँग बताएका छन्। तर ट्रम्पले नोबेल पुरस्कारबारे कुरा गरेको भने उनले पोलिटिकोसँग खुलाएनन्।
'हामीले भन्सार, आर्थिक सहकार्यबारे छलफल गर्यौँ। यो प्रधानमन्त्री योनस गार स्टुरासँगको उहाँको कुराकानीका लागि तयारी थियो। म कुराकानीको विषयवस्तुको बारेमा थप विवरणमा जान चाहन्नँ,' स्टोल्टेनबर्गले पोलिटिकोलाई भने।
स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा दिइने नोबेल पुरस्कार स्विडेनमा रहेको नोबेल फाउन्डेसनले दिन्छ।
नोबेल शान्ति पुरस्कार विजेताको छनोट भने नर्वेली नोबेल समितिले गर्छ। सो समितिमा नर्वेली संसदले सिफारिस गरेका पाँच सदस्य हुन्छन्। त्यसैले ट्रम्पले आफ्नो दाबी पेस गर्न नर्वेली मन्त्रीसँग कुरा गरेका हुन्।
नोबेल पुरस्कार पाउने ट्रम्पको उत्कट चाहना छ। उनको पहिलो कार्यकालभन्दा पहिलेका राष्ट्रपति बाराक ओबामाले पनि नोबेल शान्ति पुरस्कार पाएका थिए। ओबामाले केही नगरी नोबेल पुरस्कार पाएको भन्दै ट्रम्पले पहिलो कार्यकालदेखि नै सो पुरस्कारको दाबी गर्दै आएका थिए।
दोस्रो कार्यकालमा पनि उनले बारम्बार त्यसको दाबी गर्दै आएका छन्।
उनलाई खुसी पार्न भारत-पाकिस्तानको युद्ध रोकेको भन्दै पाकिस्तानले अनि इरान-इसराइल युद्ध रोकेको भन्दै इसराइलले नोबेल पुरस्कारका लागि उनलाई औपचारिक रूपमा सिफारिस नै गरेका छन्। आफूले नगरेको कामको पनि श्रेय लिने ट्रम्पले दोस्रो कार्यकालको छ महिनामा छ वटा युद्ध रोकेको दाबी गर्दै आएका छन्।
नोबेल पुरस्कार पाउनकै लागि उनले रूस-युक्रेन युद्ध रोक्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अमेरिकाको अलास्कामा भेट गर्दैछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)