अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्टन फर्किएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उच्चस्तरीय वार्ता सकिएपछि उनी वाशिङ्टन फर्किएका हुन्।
ट्रम्पले वार्ताबारे पुटिनसँग भएको सहमतिबारे युक्रेन, युरोप र नेटो सदस्यराष्ट्रसँग छलफल गर्ने बताएका छन्।
'वार्ता सकारात्मक भएको छ। नेटो नेताहरू, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्यसँग वार्ताको विषयमा जानकारी दिनेछु,' ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा भने।
वार्तामा के सहमति भयो भन्ने बारेमा ट्रम्प र पुटिन दुवैले खुलाएका छैनन्।
दुवैले सकारात्मक मात्रै भनेका छन्।
ट्रम्प सुरूमै जेलेन्स्कीसहितको त्रिपक्षीय वार्ता होस् भन्ने चाहन्थे। तर पुटिनले अस्वीकार गरेका कारण ट्रम्प एक्लैले उनीसँग वार्ता गरेका थिए।
युरोपेली नेताहरूसँगको छलफलमा ट्रम्पले वार्तामा के भयो भन्ने विषय ट्रम्पले सुरूमै जेलेन्स्की र युरोपेली नेताहरूलाई जानकारी गराउने बताएका थिए।
युक्रेनमा युद्धविरामका लागि पुटिनले कायमै राखेका चार अडान
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्।
अलास्काको एन्करेजस्थित संयुक्त सैन्य अड्डामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा पुटिनले आफ्ना अडानहरू कायमै राखेको भनेर अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।
झन्डै तीन घन्टा छलफलपछि ट्रम्प र पुटिनले संयुक्त पत्रकार सम्मेलन गरेका थिए।
पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।
त्यसलाई समाधानका लागि रूसले राखेका सर्तहरू उनले पुनः दोहोर्याए।
न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन्।
युक्रेनको ठूलो भू-भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने।
यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।
ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए।
त्यस क्रममा उनीहरूले जमिनको अदलाबदलीलगायत युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने भनेका थिए।
ट्रम्पले पनि जमिनबारे युक्रेनले नै निर्णय गर्ने भनेर युरोपेली नेताहरूलाई जबाफ दिएका थिए।
ट्रम्प र पुटिनले गरे तीन घन्टा वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच तीन घन्टा छलफल भएको छ।
अलास्काको एन्करेजस्थित संयुक्त संयुक्त सैन्य अड्डामा दुई राष्ट्रपतिबीच स्थानीय समयअनुसार साढे ११ बजे सुरू भएको बैठक साढे २ बजे सकिएको थियो।
ट्रम्प र पुटिनबीच यसअघि ६/७ घन्टा नै छलफल हुन सक्छ भनिएको थियो।
वार्ता सकिएपछि संयुक्त पत्रकार सम्मेलन भएको थियो।
पत्रकार सम्मेलनमा दुवै नेताले छोटकरीमा कुरा राखे। प्रश्नोत्तर भने भएन।
यद्यपि वार्ता सकारात्मक भएको ट्रम्प र पुटिन दुवैले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताएका छन्।
राष्ट्रपति ट्रम्पले धेरै बुँदामा सहमति भएको बताएका छन्। तर ती बुँदा के-के हुन् भन्ने खुलाएनन्। यसको अर्थ कुनै वार्ता कुनै ठोस सम्झौता नभई टुंगिएको भनेर अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले लेखेको छ। म
'केही प्रगति भएको छ। धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,' ट्रम्पले भने।
पुटिनले पनि केही बुँदामा सहमति भएको बताए तर त्यो सहमति के हो भन्ने खुलाएनन्।
'हामी अपेक्षा गर्छौं कि कीभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्ने छैनन्,' पुटिनले भने।
अलास्कामा पुटिको भव्य स्वागत भएको थियो। उनलाई ट्रम्पले उच्च सम्मानका साथ रातो कार्पेटमा स्वागत गरेका थिए। अमेरिकी लडाकू विमान र बी-२ बमवर्षकले आकाशमा प्रदर्शन गरेक थिए।
त्यसपछि दुवै नेता अमेरिकी राष्ट्रपति लिमोजिनमा एउटै सिटमा बसेर, बिना दोभाषे, सँगै यात्रा गरेका थिए। यसलाई न्यूयोर्क टाइम्सले दुई महाशक्ति देशहरूका लागि असामान्य दृश्य भनेको छ।