अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्।
शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्।
ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्।
अमेरिकी मिडिया सिएनएनका अनुसार ट्रम्पले सुरूमा जेलेन्स्कीसँग र पछि युरोपेली नेताहरूसँग अलास्कामा भएको भेटवार्ता र छलफल र त्यसको प्रगतीबारे संवाद गरेका थिए।
ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन्।
उनले ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको बताउँदै त्यसका लागि धन्यवाद पनि भनेका छन्।
'सोमबार वाशिङ्टन डिसी पुगेर राष्ट्रपति ट्रम्पसँग भेट्नेछु र युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका लागि छलफल गर्नेछु। निम्ताका लागि आभारी छु,' जेलेन्स्कीले भनेका छन्।
उनले युक्रेनमा शान्ति स्थापनाका लागि अधिकतम प्रयत्नका लागि आफू तत्पर भएको पनि बताएका छन्।
'राष्ट्रपति ट्रम्पले अलास्कामा भएको वार्ताबारे जानकारी गराउनुभयो। पुटिनसँगको बैठक र त्यसमा भएका मुख्य विषयबारे पनि अवगत गराउनुभयो। अहिलेको परिस्थिती बन्नुमा अमेरिकाको भूमिका महत्त्वपूर्ण छ,' जेलेन्स्कीले भनेका छन्।
बल अब जेलेन्स्कीको कोर्टमा छः ट्रम्प
अलास्कामा पुटिनसँग तीन घन्टा लामो वार्ता सकिएपछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले बल अब जेलेन्स्कीको कोर्टमा पुगेको बताएका हुन्।
'धेरै बुँदामा सहमत छौं। तर सम्झौता भएको छैन। अन्तिम सहमति नभएसम्म सम्झौता भएको मानिँदैन। तर तत्कालका लागि धेरै प्रगती भएको छ,' उनले भने।
उनले महत्त्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेको बताएका छन्। तर त्यो विषय के हो भन्ने खुलाएका छैनन्।
'अब यो जेलेन्स्कीमा निर्भर रहन्छ। युरोपेली नेताहरू पनि संलग्न हुनुपर्छ। तर अन्ततः जेलेन्स्कीमाथि नै निर्भर रहने हो। अर्को बैठकको तयारी भइरहेको छ। उनीहरू चाहन्छन् भने त्यो बैठकमा म पनि हुन्छु,' ट्रम्पले भनेका छन्।
पुटिनका चार अडान
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै राखेका छन्।
पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।
त्यसलाई समाधानका लागि रूसले राखेका सर्तहरू उनले पुनः दोहोर्याए।
न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन्।
युक्रेनको ठूलो भू-भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने।
यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन्।
ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए।
त्यस क्रममा उनीहरूले जमिनको अदलाबदलीलगायत युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने भनेका थिए।
ट्रम्पले पनि जमिनबारे युक्रेनले नै निर्णय गर्ने भनेर युरोपेली नेताहरूलाई जबाफ दिएका थिए।