हप्ता दिनअघि कैलाली कारागारभित्र कैदी बन्दीहरूका बीचमा भएको हिंसात्मक झडपका घाइते ४७ जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल कैलाली पुर्याइयो।
घाइतेहरूमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो।
सेती प्रादेशिक अस्पतालमा ४४ जना उपचाररत थिए। गत शुक्रबार नै अस्पतालले ३५ जना डिस्चार्ज गरसक्यो।
अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार हाल अस्पतालमा ९ जना मात्रै उपचाररत छन्।
हातखुट्टामा चोट रहेका पाँच जनाको सर्जिकल वार्डमा र थप ४ जनाको कोभिडको समयमा निर्मित भवनमा राखेर उपचार भइरहेको उनले जानकारी दिए।
अस्पतालले तीन दिन अघिसम्म ९ जनाबाहेक सबैलाई डिस्चार्ज गरेको थियो। तर उपचार गराउनु नभए पनि कैदीबन्दी भने अस्पतालभित्रै सुरक्षा घेरामा छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले रातदिन अस्पतालमा खटिँदै आएको छ ।
‘उहाँहरूले व्यवस्थापन गरेर विस्तारै विस्तारै लैजान्छौं भन्नु भएको छ,’ श्रेष्ठले भने ‘उहाँहरू कारागारभित्र फेरि पहिले जस्तै झडपको अवस्था सिर्जना नहोस् भन्नेमा सचेत हुनुहुन्छ।’
कैलालीका प्रहरी प्रमुख एसपी बालनसिंह राणाले झडपपछि फेरि उनीहरू सोही ठाउँमा फर्काउँदा थप समस्या हुन सक्ने आकलन कारागार प्रशासनले गरेको बताए।
‘पाँच गुणा बढी कैदीबन्दी रहेको हुँदा पनि कारागार प्रशासनले विस्तारै उनीहरूलाई अन्यत्र स्थानान्तरणको लागि व्यवस्थापन गरिरहेको बुझिन्छ,’ एसपी राणाले भने, ‘हामीले त जहाँ राखे पनि सुरक्षा दिने हो। अहिले अस्पतालमा प्रहरीले सुरक्षा दिइरहेको छ।’
उनका अनुसार सेती प्रादेशिक अस्पतालका साथै कोभिड अस्पतालमा गरि दुई ठाउँमा विगत नौ दिनदेखि प्रहरी र सशस्त्र प्रहरीले पहरा दिँदै आएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सुरक्षालाई मध्यनजर राख्दै सोही ठाउँमा पठाउनुभन्दा अन्यत्र व्यवस्थापन गर्ने कार्य भइरहेको बताए। त्यसैले उपचारपछि डिस्चार्ज भएकाहरूलाई पनि अस्पतालमै राख्नु परेको बताए।
‘झडपमा परेका र उपचारपछि डिस्चार्ज भएका कैदी बन्दीहरू पनि फेरि सोही कारागारमा फर्किन चाहनु हुन्न,’ जोशीले भने ‘उहाँहरूको चाहनाअनुसार नै हामीले बाहिरी जिल्लाहरूमा सरसल्लाह गरी क्रमिक रूपमा स्थान्तरण गर्ने प्रयास गरिरहेका छौं।’
प्रशासनका सूचना अधिकारी जोशीले हालसम्म कारागार भित्रको झडपमा घाइते भई उपचारपछि डिस्चार्ज भएकामध्ये चार जना र कारागारभित्रै रहेका अर्का एक जनाले बाहिरी जिल्ला स्थानान्तरण हुन माग गरेको हुँदा पाँच जनालाई बाहिरी जिल्लाका कारागारमा स्थान्तरण गरिसकिएको पनि बताए।
कैलाली कारागारमा गत शुक्रबार मध्यरातिमा भएको झडपपछि शनिबार दिउँसो नै बाँकेको खजुरा कारागारका जेलर जालन्धर भुसाललाई कैलाली खटाइएको थियो।
कैलाली कारागारका जेलर बिरामी बिदामा छँदा एक जनाको ज्यान जाने गरी झडप भएको थियो।
त्यसैले तत्कालको अवस्था सम्हाल्न भनेर भुसाललाई खटाइएको भए पनि कारागार व्यवस्था विभागले कैलाली जिल्ला कारागारको प्रमुखका रूपमा बाँकेकै नेपालगञ्ज कारागारका जेलर प्रकाश ढुंगानालाई पठाएको छ।
गत शुक्रबार राति कारागार भित्रैका ‘ए’ ब्लकका कैदी बन्दीहरुरूले ‘बी’ ब्लकमा प्रवेश गरी आक्रमण गर्दा ६ महिनाअघि पक्राउपछि लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका धनगढी उपमहानगरपालिका– ४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। त्यो झडपमा परि ४७ जना घाइते भएका थिए।
झडपपछि शनिबार बिहानै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसको सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको थियो।
समितिमा जिल्ला प्रहरी प्रवक्ता डिएिसपी राजकुमार सिंह, सशस्त्रका डिएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्रसिंह सदस्य छन भने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी सदस्य सचिव रहेका छन ।
यो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। त्यो म्याद सोमबार सकिँदैछ।
यो बीचमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको हमाल जिम्मेवारी खोसेर उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्साललाई खटाइएको छ।