चीनका विदेश मन्त्री वाङ यीले भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने बताएका छन्।
भारत भ्रमणमा क्रममा भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा वाङले उक्त कुरा बताएको फाइनान्सियल टाइम्सले लेखेको छ।
दुई देशले सम्बन्ध सुधार्ने कामको उच्च गति कायम राख्नु पर्ने पनि उनले बताएका छन्।
'हाम्रो सम्बन्धमा कठिन समय देखिएपछि अब दुई राष्ट्र अगाडि बढ्न खोजिरहेका छन्,' जयशंकरले वाङलाई भने।
त्यस्तै वाङको भ्रमण द्विपक्षीय सम्बन्धको समीक्षा गर्न र आपसी हितका केही मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर भएको पनि जयशंकरले बताए।
भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक भारतमा, मल र सुरूङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको फाइनान्सियल टाइम्सले यस बारेमा जानकार अधिकारीहरूको हवाला दिँदै लेखेको छ।
भारतसँगको सीमामा रहेको तनाव कम गर्ने लगायत विषयमा छलफल गर्न वाङ भारत भ्रमणमा गएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि पछिल्लो समयमा भारत र चीन सम्बन्ध सुधार गर्न थालेका छन्। त्यसैलाई निरन्तरता दिन वाङले भारत भ्रमणमा गरेका हुन्।
विगत तीन वर्षमा चिनियाँ विदेशमन्त्रीको यो पहिलो भारत भ्रमण हो।
वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग पनि भेट गरेका छन्। मंगलबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने छन्।
लामो समयदेखिको सीमामा रहेको तनाव कम गर्नका लागि त्यहाँ परिचालित दुवै देशका सैनिकको सङ्ख्या घटाउनेबारे वाङले भारतसँग छलफल गरेका छन्।
सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो।
हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिक जवानको मृत्यु भएको थियो।
गत वर्षको अन्त्यदेखि बल्ल दुई देशको सम्बन्ध सुध्रिन थालेको थियो। पछिल्लो समय ट्रम्पले भारतप्रति कडा नीति लिएपछि यसमा झन् तीव्रता आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनमा सीधा हवाई उडान सुरू गर्न लागेको भनेर ब्लुमबर्गले यसअघि लेखेको थियो।
चीनबाट सुरू भएको कोभिड महामारीका कारण सन् २०२० को सुरूमा दुई देशबीचका उडान बन्द भएका थिए। सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भिडन्त भएपछि सम्बन्ध बिग्रेकाले कोभिड महामारी सकिएपछि पनि उडान भएका छैनन्।
अगस्टको अन्त्यमा हुने सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन मोदी चीन गएको बेलामा यसबारे घोषणा हुनसक्ने ब्लुमबर्गले जनाएको छ।
ट्रम्पको निशानामा परेको चीनले पनि पछिल्ला दिनमा भारतसँग सम्बन्ध विस्तारमा ध्यान दिन थालेको देखिन्छ।
ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ।
मोदी निकट व्यवसायी गौतम अदानीको समूहले भारतमा ब्याट्री उत्पादन गर्न चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडीसँग छलफल पनि गरिरहेको छ।
मोदीले चिनियाँ नागरिकलाई टुरिस्ट भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेका छन्।
चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ। मोदीको चीन भ्रमणका बेला चीनसँगको व्यापार सम्बन्ध थप सुधार्न अरू पनि निर्णय हुने अपेक्षा गरिएको छ।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।
सो निर्णय कार्यान्वयन हुनुअघि गत बुधबार उनले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरे।
भारतले अझै रूसी कच्चा तेल किनिरहे अगस्टको अन्त्यदेखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप भन्सार शुल्क लगाउने उनले बताए।
त्यसैले मोदीले चीनसँग सम्बन्ध सुधार्ने प्रयास गरेका हुन्। पछिल्लो पटक सात वर्षअघि, सन् २०१८ जुनमा चीन भ्रमण गरेका मोदीले दुई हप्तापछि चीनको भ्रमण गर्न लागेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)