नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरूले एक महिनादेखि त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा धर्ना दिइरहेका छन्।
उपकुलपति कार्यालयको मुख्य गेट छेउमा टहरो बनाएर विद्यार्थीहरू दिनरातै धर्नामा छन्।
मानविकी तथा सामाजिक शास्त्र संकायका ४ कार्यक्रम त्रिवि केन्द्रीय विभागअन्तर्गत ल्याएको तर शुल्क समायोजन नभएको भन्दै विद्यार्थीहरू आन्दोलन उत्रिएका हुन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व तथा शान्ति विकास अध्ययन, सामाजिक कार्य र लैंगिक अध्ययन कार्यक्रम पहिले आत्मनिर्भर कार्यक्रम (सबै खर्च विद्यार्थीको शुल्कबाट बेहोर्ने गरी) अन्तर्गत चलेका थिए। जब यी कार्यक्रम त्रिवि केन्द्रीय विभागअन्तर्गत रूपान्तरण भए तब आर्थिक जिम्मेवारी त्रिविले नै लियो, त्यसअनुसार शुल्क समायोजन हुनुपर्ने हो तर गरिएन।
त्यसैले अखिल (क्रान्तिकारी) त्रिवि जिल्ला समितिले शुल्क समायोजनको मुद्दा अघि सारेर आन्दोलन गर्यो। यो आन्दोलनमा अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटीको पनि ऐक्यबद्धता देखिन्छ।
आन्दोलनरत विद्यार्थीसँग संवाद गर्न त्रिविले अहिलेसम्म तीन वटा वार्ता समिति बनाइसकेको छ। तर कुनै समितिले पनि विद्यार्थीसँग औपचारिक संवाद गर्न सकेको छैन। अनौपचारिक कुराकानी हुने गरे पनि त्यसले समाधान दिन नसक्दा त्रिविमा धर्ना जारी छ।
शुल्क समायोजन नभएसम्म आन्दोलन जारी राख्ने अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बताए।
‘शुल्क समायोजन गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो, समस्या समाधान गर्न त्रिविसँग अनौपचारिक छलफल भइरहेको मलाई जानकारी छ,’ अध्यक्ष सापकोटाले सेतोपाटीसँग भने।
अखिल (क्रान्तिकारी) आबद्ध विद्यार्थीहरूले साउन ८ गतेदेखि ‘शुल्क शोषणविरूद्ध आन्दोलन’ सुरू गरेका हुन्। सुरूका केही दिन उनीहरूले उपकुलपतिको कार्यकक्षबाहिर धर्ना दिएका थिए।
तर तोडफोडजस्ता घटना हुन थालेपछि प्रहरी परिचालन गरियो। त्यसपछि विद्यार्थीहरू उपकुलपति कार्यालय गेटबाहिर टहरो बनाएर २४ सै घन्टा धर्नामा छन्।
त्रिविमा पदाधिकारी (उपकुलपति, रेक्टर, रजिस्ट्रार) नियुक्तिलाई लिएर कुनै न कुनै विद्यार्थी संगठनले आन्दोलन गरिराखेका हुन्छन्।
विद्यार्थीका आन्दोलन प्राय: शैक्षिकभन्दा पनि राजनीतिक उद्देश्य घेरिएका हुन्छन्।
राजनीतिक स्वार्थ नमिल्नेबित्तिकै ठूला दलका विद्यार्थी संगठन विभिन्न एजेन्डा लिएर आन्दोलन गर्छन्। अहिले त्रिविमा माओवादीनिकट अखिल (क्रान्तिकारी) धर्नामा छ, यसअघि नेपाली कांग्रेसनिकट नेविसंघ आन्दोलनमा थियो।
विद्यार्थीको आन्दोलन चक्रले त्रिविका दैनिक प्रशासनदेखि सुधारका कतिपय काम प्रभावित हुने गरेको गुनासो छ।
अहिले अखिल (क्रान्तिकारी) ले गरेको आन्दोलन शैक्षिक मुद्दासँग सम्बन्धित छ। तर उसलाई उपकुलपति नियुक्तिदेखि नै चित्त भने बुझेको छैन।
यसअघि प्रा.डा. केशरजंग बराल त्रिवि उपकुलपति थिए।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला बराललाई उपकुलपति नियुक्त गरेका थिए।
त्यसबेला मेरिटका आधारमा उपकुलपति नियुक्त गरे पनि माओवादीनिकट बराललाई नियुक्त गरेको भन्दै आलोचना भएको थियो। उपकुलपति नियुक्तिमा चित्त नबुझेर त्यसबेला नेविसंघले विभिन्न वहानामा आन्दोलन गरेको थियो।
बरालले पदबाट राजीनामा दिएपछि स्वीकृत गर्दै अहिलेका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार २९ गते प्रा.डा. दीपक अर्याललाई उपकुलपति नियुक्त गरे।
अर्याल एमालेनिकट मानिन्छन्। यो नियुक्तिसँगै माओवादीनिकट अखिल (क्रान्तिकारी) असन्तुष्ट छ र उसले अहिले शैक्षिक मुद्दालाई अघि सार्दै राजनीतिक स्वार्थप्ररित आन्दोलन गरिराखेको आरोप छ।
अखिल (क्रान्तिकारी) धर्नामा बस्नुको कारण भने त्रिवि कार्यकारी परिषदको २०८१ मंसिर १२ गतेको निर्णयसँग जोडिन्छ।
परिषदले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत विभिन्न कार्यक्रम केन्द्रीय विभागअन्तर्गत ल्याउने निर्णय गरेको थियो।
त्रिविले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व तथा शान्ति विकास अध्ययन, सामाजिक कार्य र लैंगिक अध्ययनलाई केन्द्रीय विभागमा ल्याउँदै शैक्षिक तथा प्रशासनिक सेवा सुविधा त्रिविका अन्य केन्द्रीय विभागमा प्रयोग र लागू भएसरह हुने निर्णय गरेको थियो। तर शुल्क समायोजन गरेन। विद्यार्थीले चार सेमेस्टरको १ लाख ८० हजार रुपैयाँसम्म शुल्क लिनुपर्ने अवस्था कायमै रह्यो।
भवन बनाउने, प्राध्यापक तथा शिक्षकहरूलाई पारिश्रमिक दिनेजस्ता विषयमा विद्यार्थीहरूको आपत्ति होइन। सिट, भर्ना र शुल्क भने पुरानै (प्राइभेटसरह) राख्ने निर्णयले विद्यार्थी मारमा परेको आन्दोलनरत विद्यार्थीहरूको भनाइ छ। त्यसैले उनीहरूले शुल्क समायोजनको माग गरेका छन्। शुल्क समायोजन भए करिब ४० हजारमा चार सेमेस्टर पढ्न पाउने पनि विद्यार्थीहरू बताउँछन्।
‘केन्द्रीय विभागमा समायोजन भएका ४ वटा कार्यक्रमहरूको शुल्क तुरून्त समायोजन गर्नुपर्छ। यो शुल्क शोषणविरूद्ध विद्यार्थीको आन्दोलन हो। विद्यार्थीले सर्वसुलभ ढंगले पढ्न पाउनुपर्छ,’ अखिल (क्रान्तिकारी) का अध्यक्ष सापकोटाले भने।
तर धर्नारत विद्यार्थीको माग त्रिविले बेलैमा सुनेन।
गत साउन २६ गते उपकुलपति कार्यालयबाहिर प्रहरी र विद्यार्थीहरूबीच झडप भएको थियो। प्रहरीले १९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर भोलिपल्ट छाडेको थियो।
विद्यार्थीहरूले उपकुलपति कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएकोले विश्वविद्यालयले गर्नुपर्ने कतिपय काम प्रभावित हुन पुगेको छ। उपकुलपति, रेक्टर र रजिष्ट्रार कार्यालयमा उपस्थित सकेका छैनन्।
त्रिवि पदाधिकारीहरूको सुरक्षालाई ध्यान दिँदै उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई गृहको समन्वयमा पिएसओ सुविधा दिने व्यवस्था मिलाइएको शिक्षा मन्त्रालय स्रोतको भनाइ छ।
त्रिवि रेक्टरमा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल छन्।
विद्यार्थी धर्नाका कारण त्रिविका कामकारबाही के-कति प्रभावित भएका छन् र अखिल (क्रान्तिकारी) का माग सुनुवाइ गर्न त्रिविले सक्छ कि सक्दैन भनेर हामीले उपकुलपति र रेक्टरलाई सोधेका छौं।
रेक्टर केसी पारिवारिक काममा बिहीबार उपत्यकाबाहिर गएका छन्। उनले संक्षिप्त कुराकानीमा भने, ‘परिस्थिति यथावत् छ।’
उपकुलपति प्रा.डा. दीपक अर्यालले विद्यार्थीहरूसँग वार्ता गर्न अहिलेसम्म तीन वटा समिति बनाएको बताए।
‘अहिले सूर्य थापाको नेतृत्वमा तेस्रो वार्ता टोली बनाएका छौं, त्यो टोलीले विद्यार्थीहरूसँग कुरा गर्दै हुनुहुन्छ, छिट्टै निकास निस्कछ,’ उनले भने, ‘सबै नसके पनि हामी विद्यार्थीका केही माग सम्बोधन गर्छौं।’
आफू उपकुलपति भएर आएको १० दिनपछि विद्यार्थीले यो आन्दोलन सुरू गरेको उनले बताए।
‘म नियुक्त भएको १० दिनमै यो आन्दोलन भयो, सास फेर्न दिएका छैनन्, विद्यार्थीसँग सौहार्यपूर्ण वातावरणमा हामी कुरा गर्दैछौं, वार्ताबाटै कुरा मिल्छ, उहाँहरूको केही माग पूरा हुन्छ, सबै हुँदैन,’ उपकुलपति अर्यालले भने।
त्रिविले गर्न सक्ने अत्याधिक सुविधा विद्यार्थीहरूलाई दिने उनी बताउँछन्।
‘शुल्क घटाउने, छात्रवृत्ति दिने र विभागका भवनहरू बनाउनेजस्ता कुरासहित निष्कर्षमा पुग्छौं,’ उनले भने।
सुरक्षाका कारण त्रिवि पदाधिकारीहरू नियमित रूपमा कार्यालय भने जान नसकेको उनले बताए।
‘म कार्यालय जाँदै थिएँ, तर एक जना अखिल (क्रान्तिकारी) का विद्यार्थीले अब हामी तपाईंलाई पनि अवरोध गर्छौं भन्नुभयो, अर्को एक छात्राले फोन गरेर- माग पूरा नभए अब हामी त्रिविका गाडी पनि जलाउँछौं भनेर धम्कीपूर्ण भाषा पनि प्रयोग गर्नुभएको छ। विद्यार्थीहरू धेरै बुझ्ने भइसके, त्यसो गर्दैनन् होलाजस्तो लाग्छ,’ उनले भने।
असुरक्षा हुने देखिएकोले त्रिवि पदाधिकारी कार्यालय नगएको उनको भनाइ छ।
‘ज्यान ठूलो कुरा हो, सुरक्षाको विषय ठूलो कुरा हो, ज्यान त जोगाउनुपर्यो, हामी कार्यालय नगए पनि काम चाहिँ रोकिएको छैन, सुरक्षा राम्रो नभएसम्म त घरैबाट पनि गर्नुपर्यो। फाइलहरू मगाएर घर वा कार्यालय बाहिरबाटै भए पनि काम त गर्नैपर्यो,’ उनले भने।
नियमित रूपमा कार्यालय जान नपाउँदा उपकुलपति, रेक्टर र रजिस्ट्रार भेट्न गाह्रो हुने र कामकाज प्रभावित हुने गरेका छन्।
‘सबै पदाधिकारी एकै ठाउँमा नरहने वातावरण भएपछि गाह्रो हुन्छ, उपकुलपतिले मात्र चलाउने होइन, दैनिक प्रशासन र आर्थिक प्रशासन सबै रजिस्ट्रारले हेर्ने हो, धेरै फाइल रजिस्ट्रार कार्यालयमै हुन्छ। उहाँको कार्यकक्षमा पनि अवरोध हुँदा अप्ठ्यारो हुन्छ, गाह्रो छ,’ उनले भने।
त्रिवि पदाधिकारीलाई 'कार्यालय र कार्यकक्षमै जान पाउँदैनस् भन्ने धम्की'समेत आउने गरेको उनले बताए।
‘अफिस नै जान पाउँदैनस् भन्ने कुरा गर्छन्। किन भन्दाखेरि- तँ हामीलाई मन पर्दैन भनेको जस्तो, छोड् भनेकोजस्तो,’ उनले भने, ‘त्रिविमा नयाँ कार्यक्रम किन ल्याइँदैन भन्ने प्रश्न बाहिर उठ्छ तर यहाँ एउटा निर्णय गर्न ५० पटक सोच्नुपर्ने अवस्था छ।’
विद्यार्थीहरूको एकपछि अर्को आन्दोलनले गर्दा त्रिवि सुधारका कतिपय काम अघि बढ्न सकेको छैन।