युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनको सुरक्षा प्रत्याभूति युक्रेनलाई नचाहिने भन्दै अस्वीकार गरेका छन्।
रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत पश्चिमा देशका सरकार प्रमुखसँग माग गरिरहेका छन्।
यस्तो सुरक्षा प्रत्याभूति दिनेमा पश्चिमा देशसँगै चीन पनि संलग्न हुनुपर्ने रूसले बताएको छ। रूसको यो प्रस्ताव जेलेन्स्कीले अस्वीकार गरेका हुन्।
'हामीलाई त्यस्ता ‘ग्यारेन्टर’ हरू चाहिँदैन, जसले युक्रेनलाई सहयोग गर्दैनन् र हामीलाई आवश्यक परेको बेला सहयोग गरेनन्। हामीलाई त्यस्ता देशहरूबाट मात्र सुरक्षा ग्यारेन्टी चाहिन्छ जो हामीलाई मद्दत गर्न तयार छन्,' जेलेन्स्कीले युक्रेनको राजधानी किभमा पत्रकारहरूसँग कुरा गर्दै भने।
युक्रेनलाई सुरक्षा प्रत्याभूति दिनेबारे चर्चा भइरहेको बेला रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार रूसको सहभागिताबिना भरपर्दो सुरक्षा प्रत्याभूति सम्भव नभएको जिकिर गरेका थिए। साथै त्यस्तो सुरक्षा प्रत्याभूतिमा चीन पनि संलग्न हुन सक्ने बताएका थिए।
त्यसमा प्रतिक्रिया जनाउँदै जेलेन्स्कीले चीनको सुरक्षा प्रत्याभूति नचाहिने भनेका हुन्।
रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि तयार देखिन्छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार भेटेपछि उनले यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेतहारूसँग सोमबार छलफल गरेका थिए।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्र लगायत युक्रेनी भूभाग रूसी भूमि भएको मान्यता दिनुपर्ने माग पुटिनले ट्रम्पसँग राखेका थिए।
अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका डोनबास क्षेत्रको केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गरेका छन्।
जेलेन्स्कीले त्यस्तो माग अमान्य हुने बताइसकेका छन्। तर अमेरिकी सुरक्षा प्रत्याभूति भने युक्रेनका लागि महत्त्वपूर्ण छ।
शान्ति सम्झौताका लागि रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर प्रत्याभूतिको माग युक्रेनले मुख्य रूपमा उठाइरहेको छ।
युक्रेनमा फेरि रूसले आक्रमण नगरोस् भनेर आफ्ना ३० हजार सैनिक राख्न बेलायत र फ्रान्स तयार छन्।
शान्ति सम्झौतालाई दिगो बनाउनका लागि युक्रेनमा पश्चिमी सेनाको उपस्थिति आवश्यक हुने कुरा पुटिनले आफूसँगको छलफलमा स्वीकारेको ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई बताएका छन्।
अमेरिकाले नै त्यस्तो सुरक्षा प्रत्याभूति दिन समेत आफू तयार रहेको पनि ट्रम्पले जानकारी गराएका छन्। अमेरिकाले त्यस्तो सुरक्षा प्रत्याभूति दिने कुरामा यसअघि ट्रम्प तयार थिएनन्।
बेलायत, फ्रान्स लगायत युरोपेली देशका सेना युक्रेनमा राखेर दिने प्रत्याभूतिमा अमेरिकाको पनि सहभागिता हुनुपर्ने जेलेन्सकीले माग गर्दै आएका छन्। तर ट्रम्प त्यसका लागि तयार थिएनन्। तर अब भने युरोपेली देशका सेनालाई अमेरिकाले प्राविधिक र बन्दोबस्तीमा सहयोग गर्न ट्रम्प तयार भएको बताएका छन्।
अमेरिकी सेना नै युक्रेनमा राख्ने कुरामा तयार नभए पनि अमेरिकी वायुसेनाले सहयोग गर्ने कुरामा उनी सहमत देखिन्छन्। अमेरिकी सेना युक्रेनमा नराखे पनि त्यहाँ रहने युरोपेली सेनालाई अमेरिकाले सैन्य सहायता दिने प्रत्याभूति दिने हो भने युक्रेनको प्रमुख माग पूरा हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)