राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्ला निर्णय र कार्यशैलीमाथि लगातार चुनौती दिनेमा पर्छन्- उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर राणा।
अध्यक्ष लिङ्देनले आउँदो महाधिवेशनकेन्द्रित गरेर फरक विचार राख्नेहरूमाथि कारबाही गरेका छन् भने आफूनिकटलाई जिम्मेवारी दिने गरेका छन्। सकेसम्म वडा अधिवेशनसमेत नछुटाउने लिङ्देन फेरि एक पटक राप्रपा केन्द्रीय अध्यक्ष हुन चाहन्छन्।
तर लिङ्देनलाई अध्यक्षमा रोक्न खोज्दैछन्- उपाध्यक्ष विक्रम र महामन्त्री धवल शम्शेर। पार्टीभित्र 'अन्याय' मा परेका र अध्यक्ष लिङ्देनको कार्यशैलीमा असन्तुष्ट रहेका नेता कार्यकर्ताहरूको साथ लिने गरी विक्रम र धवल मोर्चाबन्दीमा छन्।
विक्रम र धवल पनि अध्यक्षका आकांक्षी हुन्। तर अहिले अध्यक्ष लिङ्देनलाई चुनौती दिन उनीहरूबीच मिलेमतो देखिन्छ।
राप्रपाले महाधिवेशन मिति तोकिसकेको छैन।
२०७८ मंसिरमा महाधिवेशन गरेकोले विधानअनुसार ४ वर्ष २०८२ मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने हो। तर विधानकै व्यवस्थाअनुसार अध्यक्ष लिङ्देन एक वर्ष कार्यकाल थप गरी अर्को वर्षमात्रै महाधिवेशन गर्ने सुरमा छन्। त्यसैले विक्रम-धवलबीच समयमै महाधिवेशन मिति तोक्न दबाब दिनेलगायत कार्यका लागि मिलेमतो देखिन्छ।
२०७८ को महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देनबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भएक थियो। थापा र लिङ्देन दुवैले आफ्नो प्यानलमा उपाध्यक्ष पदमा विक्रम पाण्डेको नाम राखेका थिए भने लिङ्देन प्यानलबाट धवल शम्शेर महामन्त्री जितेका हुन्।
लिङ्देनकै प्यानलबाट महामन्त्री जितेका उनै धवल शम्शेर अहिले सबैभन्दा धेरै लिङ्देनलाई चुनौती दिने नेतामा पर्छन्।
महामन्त्री धवलले असार २९ गते निर्वाचन आयोग परिसरमा पत्रकारहरूसँग बोल्दै 'आफूले गत महाधिवेशनमा लिङ्देनलाई काँधमा बोकेर सहयोग गरेको तर उनैबाट कारबाही भोग्नुपरेको' बताएका थिए।
‘यो पार्टी विभाजन भइरह्यो भनेर नै हामीले परिवर्तन ल्याएको हो, नयाँ पुस्तालाई,’ गत महाधिवेशनको प्रसंग निकाल्दै महामन्त्री राणाले भने, ‘मैले नै काँधमा बोकेर ल्याएको हो। तर मैमाथि पटक-पटक कारबाही हुन्छ। म क्यान्सर उपचार गर्न मुम्बई जाँदा मलाई संगठन विभाग प्रमुखबाट हटाइयो।’
असन्तुष्ट नेताहरूलाई लक्ष्य गर्दै अध्यक्ष लिङ्देनले मान्छे पटक-पटक भनेका छन्- मान्छे मन नपरे महाधिवेशनसम्म कुर्न र आफूलाई हराएर देखाउन तथा विचार नै मन नपरे पार्टी छाडेर जान भनिसकेका छन्।
विभिन्न समयमा फुटबाट गुज्रिएको राप्रपाभित्र पछिल्लो समय गुटउपगुटको लडाइँ छ। गुटउपगुट लडाइँ र नेताहरूका यस्ता अभिव्यक्तिले फेरि राप्रपा विभाजित हुन्छ कि भन्ने भय कार्यकर्ताहरूमा छ।
राप्रपाभित्र पछिल्लो समय विवाद देखा परेको विषय हो- अध्यक्ष लिङ्देनले ३ जना नेताहरूमाथि कारबाही गर्नु।
असार २५ गते अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेका अध्यक्ष लिङ्देनले साउन २ गते उपाध्यक्षबाट मुकुन्दश्याम गिरीलाई हटाएका थिए।
यसविरूद्ध सुवेदी, लावती र गिरी निर्वाचन आयोग पुगेर पुनर्बहाली माग गरेका थिए। निर्वाचन आयोगले राप्रपाभित्र के भएको हो भनेर पत्र लेखेर सोधेको छ तर अध्यक्ष लिङ्देनले सार्वजनिक रूपमै प्रवक्तालगायत जिम्मेवारी तोक्ने काम अध्यक्षको रहेको र आयोगको क्षेत्राधिकार नरहेको जिकिर गर्दै आएका छन्।
नेताहरूमाथि स्पष्टीकरणको मौकासमेत नदिई श्रृङ्खलाबद्ध कारबाही गरिएको भन्दै गत महाधिवेशनमा निर्वाचित भएर आएका पदाधिकारी उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्तिकुमारी शाहीले पटक-पटक विज्ञप्ति र पत्रमार्फत् अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका छन् तर लिङ्देनले यो कुरा सुनेको नसुन्यै गरिदिएका छन्।
अध्यक्ष लिङ्देननिकट एक नेताका अनुसार विगतमा अध्यक्षले नै मनोनीत गरेकाबाट असहयोग भएकोले केही मनोनीत पदाधिकारीलाई पदमुक्त गरिएको हो। आफ्नो विरोध गरेका मनोनीत पदाधिकारीलाई अध्यक्ष लिङ्देनले जिम्मेवारीविहीन बनाइदिएपछि बाँकी मनोनीत पदाधिकारी मौन छन्। तर निर्वाचित पदाधिकारीहरूले भने लिङ्देनमाथि पत्र पठाउँदै विधान विपरित गरिएका निर्णय सच्याउन भनिरहेका छन्।
नवराज सुवेदी राजसंस्था पुनर्स्थपनाका लागि गठित 'संयुक्त जनआन्दोलन समिति' को संयोजक हुन गएका थिए। उनले चैत ४ गते संयोजक हुँदै गर्दा 'राजसंस्थाका पक्षमा भिड र माहोल सिर्जना गर्ने' भन्दै आफूले राप्रपा परित्याग गर्ने घोषणासमेत गरेका थिए। तर सोही घोषणालाई आधार बनाएर राजसंस्थाको 'माहोल मत्थर' भएका बेला लिङ्देनले पार्टी अनुशासन समिति अध्यक्ष पदबाट बर्खास्त गर्दै उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समिति अध्यक्ष मनोनीत गरेका हुन्।
सुवेदीले आफूले राप्रपा परित्याग गरेको लिखित पत्र पार्टीमा नदिएको जिकिर गर्दै पुनर्बहालीका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। तर राप्रपा संस्थापन पक्षले भने सुवेदीले पार्टी परित्याग घोषणा गरेकोले नयाँ सदस्यता लिनुपर्ने तर्क गर्दै आएको छ। तर कसैले पार्टी परित्याग घोषणा गर्दैमा उसको केन्द्रीय सदस्यलगायत पद नजाने विक्रम-धवल पक्षको भनाइ छ।
सगुनसुन्दर लावती पनि सुवेदी नेतृत्वको समितिमा सक्रिय थिए। उनलाई पार्टी गतिविधिमा सक्रिय नरहेको भन्दै अध्यक्षले कारबाही गरेका हुन्।
साथै उपाध्यक्ष तथा केन्द्रीय सदस्य दुवै पदबाट मुकुन्दश्याम गिरीमाथि साउन २ गते अध्यक्ष लिङ्देनले कारबाही गरेका थिए। त्यसको अघिल्लो दिन गिरीले विक्रम पाण्डे, धवल शम्शेर राणा, कुन्तिकुमारी शाहीसँग मिलेर संयुक्त विज्ञप्ति निकालेका थिए, जसमा स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको नवराज सुवेदी र सगुनसुन्दर लावतीमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्षलाई आग्रह गरिएको थियो। यीमध्ये गिरीमात्रै मनोनीत पदाधिकारी थिए, त्यसैले आफूविरूद्ध लागेको आरोपमा लिङ्देनले उनलाई पदमुक्त गरिदिएका हुन्।
यससँगै साउन १५ गते अध्यक्ष लिङ्देनले स्थानीय तह तथा जिल्ला अधिवेशन गर्न केन्द्रीय पर्यवेक्षक तोकेका थिए।
'एकलौटी' रूपमा अध्यक्ष लिङ्देनले आफूनिकटलाई पर्यवेक्षक तोकेको र यसले आगामी महाधिवेशन निष्पक्ष हुने कुरामा सन्देह उत्पन्न गराएको संस्थापनइतर नेताहरूको भनाइ छ। तर पर्यवेक्षकको सूचीमा उपाध्यक्ष विक्रम पाण्डे धादिङ, महामन्त्री धवल मकवानपुरमा खटाइएको देखिन्छ तर निर्वाचित महामन्त्री कुन्तिकुमारी शाहीलाई पर्यवेक्षक नै बनाइएन।
यसबीचमा नेताहरूबीच रहेको गुटको लडाइँ भ्रातृ संस्थामासमेत देखियो। साउन २८ गते राष्ट्रिय प्रजातान्त्रिक संगठनको काठमाडौं जिल्ला अधिवेशनमा अध्यक्ष लिङ्देन तथा उपाध्यक्ष विक्रम र महामन्त्री धवल शम्शेर पक्षबीच मतभेद भयो र अध्यक्ष लिङ्देनले नै अधिवेशन स्थगित गरे- विक्रम-धवल पक्षले ज्योति लामा नेतृत्वमा समानान्तर समिति घोषणा गरे।
पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापनइतर पक्षले अध्यक्ष लिङ्देनसँग केन्द्रीय कार्यसम्पादन समिति बैठक राख्न माग गर्दै आएका छन्।
साउन १८ गते अध्यक्ष लिङ्देनलाई पत्र पठाउँदै महामन्त्री धवल शम्शेर राणाले तत्काल केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउन माग गरेका थिए। तर अध्यक्ष लिङ्देन पक्षले संस्थापनइतर एक हुँदा पनि केन्द्रीय कार्यसम्पादन समितिमा बैठक माग गर्न चाहिने संख्याभन्दा कम रहेको दाबीसहित वास्ता गरेको छैन।
राप्रपामा ५२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति छ। तीमध्ये जम्मा ११ जना उपाध्यक्ष विक्रम र महामन्त्री धवलनिकट रहेको दाबी संस्थापनपक्षको छ। तर यो दाबी मान्न तयार छैन संस्थापनइतर समूह।
‘केन्द्रीय कार्यसम्पादन समितिमा संस्थापन र संस्थापनइतर झण्डै बराबरको स्थिति छ, केही सदस्य खुलेका छैनन्,’ संस्थापनइतर समूहका एक नेताले दाबी गरे।
अध्यक्ष लिङ्देनले बैठक नै आह्वान नगरेपछि उपाध्यक्ष विक्रम र महामन्त्री धवलले अध्यक्ष लिङ्देनलाई पत्रमार्फत् नै आफ्ना कुरा राख्ने गरेका छन्।
भदौ ४ गते पनि उनीहरूले अध्यक्ष लिङ्देनलाई पत्र पठाए।
उनीहरूले अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ- साझा, प्रजातान्त्रिक संस्थाको रूपमा पार्टीलाई सुचारू गर्न, पार्टी एकतालाई सर्वोपरी राखेर, समयमै महाधिवेशन सम्पन्न गर्नुपर्दछ। चार–चार वर्षको अन्तरालमा ताजा जनादेश प्राप्त गर्ने विधानको परिकल्पना अनुकूल महाधिवेशनको मिति तोक्न अब विलम्ब गर्न नहुने हामी सबैको एकमत छ। हामीबीच कुनै समस्या भए ती सबै महाधिवेशनबाट निर्क्योल भइ पार्टी सशक्त रूपमा अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौं।
उनीहरूले अध्यक्ष लिङ्देनलाई लेखको पत्रको बोधार्थ संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, पूर्वअध्यक्ष पशुपतिशम्सेर जबरा र पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनीलाई पनि दिएका छन्। पूर्वअध्यक्षहरू चन्द, राणा भने अध्यक्ष लिङ्देनका निर्णय र कार्यशैलीमा मौन देखिन्छन् तर लोहनी भने विक्रम-धवल पक्षसँग निकट देखिन्छन्।
महाधिवेशन मिति तोकिनुपर्ने, अध्यक्षका एकलौटी निर्णयहरू सच्याउनुपर्ने, नेताहरूमाथिका कारबाही फिर्ता लिनुपर्ने भन्दै उनीहरूले पूर्वअध्यक्षहरूको ध्यानाकर्षण गराउँदै आएका छन्।
राप्रपा विधानले सामूहिक नेतृत्वको विश्वास गरे पनि पुरानो विधानजस्तो गरी अध्यक्ष लिङ्देन एकलौटी रूपमा चल्ने गरेको आरोप संस्थापनइतर नेताहरू विक्रम र धवल शम्शेर लगायतको छ।
उपाध्यक्ष विक्रम, नेता मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल र कुन्तिकुमारी शाही, नेता सगुनसुन्दर लावतीले बिहीबार पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, शुक्रबार पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द र शनिबार पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलाई भेटेका थिए।
उनीहरूले पूर्वअध्यक्षहरूसँगको भेटमा पार्टीभित्र पछिल्लो समय देखिएका समस्या, विधानविपरितका कार्यलगायतबारे ध्यानाकर्षण गराएका हुन्।
‘अध्यक्ष लिङ्देनबाट भएको विधानको श्रृङ्खलाबद्ध उल्लंघन र मन नपरेका नेता तथा सदस्यलाई विधान मिचेर गरिएका कारबाहीले पार्टीका नेता कार्यकर्ताहरू असुरक्षित महसुस गरिरहेका छन्, तपाईंहरूले अभिभावकीय भूमिका निर्वाह गरिदिनुपर्यो,’ उनीहरूले पूर्वअध्यक्षहरूलाई भनेका थिए।
तीनै जना पूर्वअध्यक्षहरूबाट सकारात्मक आश्वासन प्राप्त भएको नेता सगुनसुन्दर लावतीले जानकारी दिए।