अमेरिका र रूसले ऊर्जासम्बन्धी सम्झौताहरूबारे गोप्य छलफल गरेको खुलेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाकै अलास्कामा अगस्ट १५ का दिन भेटवार्ता भएको थियो।
त्यसको साइडलाइन बैठकहरूमा अमेरिका र रूसबीच ऊर्जासम्बन्धी विभिन्न सम्झौताहरूबारे छलफल भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले खुलासा गरेको छ।
युक्रेनमा साढे तीन वर्षभन्दा बढी समयदेखि जारी युद्ध अन्त्यका लागि रूसलाई मनाउन अमेरिकाले ऊसँग विभिन्न सम्झौताको सम्भावनाबारे छलफल गरेको हो।
सम्झौताको पहिलो प्रस्ताव अमेरिकी ऊर्जा कम्पनी एक्सन मोबिललाई रूसको सखालिन-१ तेल तथा ग्यास परियोजनामा फर्काउने उल्लेख छ।
सखालिन–१ रूसको सुदूरपूर्व क्षेत्रमा रहेको ठूलो तेल र ग्यास उत्खनन परियोजना हो। यसमा अमेरिकाको एक्सन मोबिलको पनि लगानी थियो।
तर २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले रूसमाथि प्रतिबन्ध लगाउँदा एक्सन मोबिल सखालिन-१ परियोजनाबाट बाहिरिएको थियो। त्यतिबेला उसले आफ्नो ३० प्रतिशत शेयर गुमाएको थियो।
सोही परियोजनामा एक्सन मोबिललाई फर्काउने विषयमा छलफल भएको रोयटर्सले जनाएको छ। तर त्यसका लागि रूसमाथि विदेशी पश्चिमी प्रतिबन्ध हटाउनपर्ने भनिएको छ।
रूसले आफ्नो तरल प्राकृतिक ग्यास परियोजना एलएनजी-२ का लागि अमेरिकी उपकरण खरिद गर्ने दोस्रो प्रस्ताव छ।
एलएनजी-२ रूसको आर्कटिक क्षेत्रमा भइरहेको ठूलो प्राकृतिक ग्यास प्रशोधन परियोजना हो। यसलाई रूसी कम्पनी नोभाटेकले चलाइरहेको छ।
तर २०२२ देखि पश्चिमी प्रतिबन्धले परियोजना प्रभावित भएको छ।
सम्झौता प्रस्ताव अनुसार, रूसले अमेरिकी उपकरण र प्रविधि खरिद गर्ने र यसरी परियोजना अगाडि बढाउने योजना रहेको रोयटर्सले वाशिङ्टन र मस्कोका अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ।
तेस्रो प्रस्ताव अमेरिकाले रूसबाट आणविक शक्तिले चल्ने आइसब्रेकर जहाजहरू खरिद गर्ने विषय छ।
आइसब्रेकर जहाजहरू आर्कटिक क्षेत्रमा बरफ पगाल्दै यात्रा गर्न सक्षम हुन्छन्। यी जहाजबिना आर्कटिक क्षेत्रको तेल–ग्यास उत्खनन् र ढुवानी सम्भव छैन। वार्तामा अमेरिकाले रूससँगै यस्ता जहाज खरिद गर्ने सम्भावना पनि उठाइएको रोयटर्सले जनाएको छ।
वार्ताबारे जानकार रहेका अधिकारीहरूले ती प्रस्तावमा छलफल भएको बताए पनि ह्वाइट हाउस र क्रेमलिनले साइडलाइन वार्तामा के-के विषयमा छलफल भयो भन्ने अहिलेसम्म खुलाएको छैन।
अलास्कामा रूसबाट पुटिनसँगै विदेशमन्त्री सर्गेई लाव्रोभ, पुटिनका सहयोगी युरी उशाकोभ, रक्षामन्त्री आन्द्रे बेलाउशोभ, अर्थमन्त्री एन्टोन सिलाउनोभ,विदेशसँगको लगानी र आर्थिक सहकार्यका लागि राष्ट्रपति विशेष प्रतिनिधि र रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिएभ पनि सहभागी थिए।
अमेरिकाबाट ट्रम्पसँगै उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रूबिओ, ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफ, अर्थमन्त्री स्कट बेसेन्ट, रक्षामन्त्री पिट हेगसेथ सहभागी थिए।
ट्रम्प र पुटिनबीच तीन घन्टा छलफलपछि दुई देशका प्रतिनिधिमण्डलहरूबीच पनि छलफल भएको थियो। ती छलफलमा के-के विषयमा कुराकानी भएको भन्ने खुलाइएको छैन।
युक्रेनमा युद्धविरामको विषय मुख्य रहेका कारण सोही विषयमा सहमति जुटाउने प्रयास भएको भनिएको छ।
अलास्कामा ट्रम्प र पुटिनबीच भेटवार्ताको केही दिनअघि ट्रम्पका मध्यपूर्व दूत मस्को पुगेका थिए। त्यतिबेला पनि दुई देशबीच ऊर्जा सम्झौताहरूबारे छलफल भएको आकलन गरिएको छ।
ह्वाइट हाउसका एक अधिकारीले भने युक्रेनमा युद्ध अन्त्यका लागि रूसी अधिकारीहरूसँग निरन्तरमा छलफल गरिरहेको बताए पनि सम्झौताहरूबारे नबोलेको रोयटर्सले जनाएको छ।
'यस्ता मुद्दाहरूमा सार्वजनिक अभिव्यक्ति दिनु अमेरिकाको हितमा हुँदैन,' ती अधिकारीले भनेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनलाई जेलेन्स्कीसँग वार्तामा बस्नका लागि दुई साताको अल्टिमेटम पनि दिइसकेका छन्। दुई साताभित्र वार्तामा नबसे आफूले ठोस निर्णय लिने भनेर उनले मस्कोलाई चेतावनी समेत दिएका छन्।
रूसी विदेशमन्त्री लाव्रोभले भने जेलेन्स्कीसँग वार्ता बस्ने तय नभएको बताएका छन्।
उनले वार्ताका लागि एजेन्डा चाहिने तर अहिलेसम्म ती एजेन्डा तय नभएकाले वार्ताको टेबलमा बस्नु औचित्यहीन हुने बताएका छन्।