नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' ले 'जनयुद्ध' र चेस खेलबीच गहिरो सम्बन्ध रहेको बताएका छन्।
बुधबार चेस संघले आयोजना गरको भक्त राणा स्मृति चेस प्रतियोगितामा बोल्दै अध्यक्ष प्रचण्डले 'जनयुद्ध'का क्रममा चेस खेलको विशेष महत्व रहेको बताएका हुन्।
'१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुश्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो,' उनले भने।
अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए।
उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।