मेक्सिकोको माथिल्लो संसद (सिनेट) बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ।
मेक्सिकोमा सम्भावित अमेरिकी सैन्य हस्तक्षेपबारे सांसदहरूबीच चर्को बहस चलिरहँदा स्थिति तनावपूर्ण बन्दै जाँदा हात हालाहालसम्म पुगेको हो।
घटना बुधबारको हो।
संसदमा बोल्न नदिइएको भन्दै एक जना सिनेटरले आक्रोश व्यक्त गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
राष्ट्रिय गान बजिरहेको बेला विपक्षी दल पीआरआईका अध्यक्षसमेत रहेका सिनेटर अलेजान्द्रो मोरेनो पोडियममा पुगेर सिनेट अध्यक्ष जेरार्डो फर्नान्ड नोरोनासँग सबालजबाफ गरेका थिए।
प्रत्यक्ष प्रसारण भएको भिडिओमा मोरेनोले सिनेट अध्यक्ष नोरोनालाई औंला ठड्याउँदै केही विषयमा आपत्ति जनाएकोजस्तो देखिन्छ।
उनको गुनासोको बेवास्ता गर्दै सिनेट अध्यक्ष नोरोना बाहिरिन खोजेपछि मोरेनोले उनलाई आफूतिर तान्न खोजेका थिए।
त्यसपछि सिनेट अध्यक्ष नोरोनाले उनलाई धकेलेका थिए।
नोरोनाले धकेलेपछि मोरेनो पनि प्रतिकारमा उत्रिए। दुवैजनाबीच धकेलाधकेल सुरू भयो। पोडियम नजिक रहेका अरू सांसदहरू पनि त्यहाँ आए।
एक सिनेटरले नोरोनामाथि मुक्का प्रहारको प्रयत्न गरेका थिए। अर्का सिनेटरलाई मोरेनोले धकेलेर भुइँमा लडाइदिएका थिए। पछि ती सिनेटर विपक्षी दलकै रहेको भन्ने खुलेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
सत्तापक्ष सिनेटरहरूले अध्यक्ष नोरोनालाई सम्भावित प्रहारबाट जोगाउँदै हलबाहिर निकालेका थिए।
घटनापछि मोरेनोले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सत्ताधारीले विपक्षीलाई बोल्न रोक्नका लागि बैठकको कार्यसूची नै परिवर्तन गरेका कारण सिनेटमा प्रतिकूल परिस्थिति सिर्जना भएको भनेका छन्।
उनले सिनेटका अध्यक्ष नोरोनाले आफूलाई धकेलेपछि विवाद सुरू भएको बताएका छन्।
'त्यही कायरताले पछिको घटना निम्त्यायो। यो स्पष्ट होस् कि पहिलो शारीरिक आक्रमण नोरोनाबाटै भएको थियो,' उनले भनेका छन्।
सिनेट अध्यक्ष नोरोनाले भने विपक्षी सिनेटरहरूलाई दोष दिएका छन्।
'उनीहरू ममाथि जाइलागे। उनीहरूले यसलाई पनि अभिव्यक्तिको स्वतन्त्रता भन्नेछन्,' उनले भनेका छन्।
नोरोनाले बैठकमा अमेरिकी सैन्य हस्तक्षेपजस्ता विषयमा छलफल भएको तर अमेरिकी सैन्य हस्तक्षेपमा विपक्षी दलहरूको समर्थन गरेको आरोप लगाएका थिए।
उनले मोरेनोविरुद्ध ज्यान मार्ने धम्की दिएको उजुरी दिने र घटनामा संलग्न विपक्षी सदस्यहरूलाई निष्कासन गर्न माग गर्ने बताएका छन्।
मेक्सिकोको संसदमा हिंसात्मक घटना दुर्लभ भए पनि कहिलेकाहीँ हुने गर्छ। यसअघि सन् २००६ मा पनि विवादित चुनावपछि राष्ट्रपति फेलिपे काल्डेरोनको सपथ ग्रहणअघि सांसदहरूबीच झडप भएको थियो।