सभामुख देवराज घिमिरेले संसदमा लामो समयदेखि प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएको भए पनि सरकारले संवाद र छलफल नगरेकोमा चिन्ता प्रकट गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि विशेष सम्बोधन गर्दै सभामुख घिमिरेले सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने संवाद र छलफल नभएको बताएका हुन्।
'सदन सुचारू गर्न सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकामा मलाई चिन्ता लागेको छ,' उनले भने।
उनले समाधानका लागि आफूले सम्भाव्य सबै मार्ग अपनाएको तर समाधान नभएको पनि बताए।
'सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएको छु। त्यसका बाबजुद पनि आजको दिनसम्म सहमतिका लागि प्रयत्नशील छु,' उनले भने।
सभामुख घिमिरेले रास्वपालाई लक्ष्य गर्दै आफ्नो सहमति राख्ने र बाहिरिने प्रवृत्ति पनि हानिकारिक हुने बताए।
'यसरी बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टीले दीर्घकालीन रूपमा हानीकारक साबित हुन सक्छ,' उनले भने।
सभामुखले भविष्यलाई के सन्देश दिइरहेका छौं सबैले सचेत रहनू आवश्यक पनि रहेको बताए।
'असहमति व्यक्त गर्ने थलो मात्रै होइन राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा छौं।यसमा सबैको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ,' उनले भने।
उनले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दल तथा सबै सदस्यहरूलाई संवादको वातावरण सिर्जना गरी संसदलाई आफ्नो मूल लयमा फर्काउन अपिलसमेत गरे।