इरान-इसराइलबीच गत जुनमा १२ दिनसम्म युद्ध चल्यो।
जुन १३ को बिहान ४ नबज्दै इसराइलले २ सयवटा लडाकू विमानसहित ३०० हतियारले इरानमा धावा बोलेको थियो। उक्त हमलामा इरानी उच्च सैन्य अधिकारीदेखि आणविक हतियार बनाउने वैज्ञानिकहरू मारिए।
१२औं दिनमा अमेरिका समेत युद्धमा होमिएर इरानको ठूलाठूला आणविक भट्टीहरूमा शक्तिशाली बम खसालेपछि इसराइल र इरानबीच युद्धविराम भएको थियो।
युद्धबाट इरानले ठूलो क्षति ब्यहोर्नुपर्यो। ६ सयभन्दा बढी मानिसहरू मारिए।
इरानको शक्तिशाली भनिएको इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख, सरकारी सेना प्रमुखदेखि उच्च सैन्य अधिकारीहरू मारिए।
इरानी सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीका नजिकका सैन्य अधिकारीहरू पनि मारिए। प्रमुख नै मारिएपछि सेनाको चेन अफ कमान्ड धराशायी बन्यो।
सैनिक संयन्त्र कमजोर बने पनि इसराइलले आक्रमण जारी गरेको थियो।
इसराइलले सैन्य संरचनामात्र नभई सरकार नै तहसनहस बनाउने तयारी गरेको थियो। त्यसका लागि उसले सर्वोच्च नेता खामेनीलाई समेत मार्ने तयारी गरेको थियो।
पछि अमेरिकाले रोकेपछि खामेनीको हत्या गर्ने योजनाबाट इसराइल पछि हटेको थियो।
इसराइलले आक्रमण तीव्र पार्दै गएपछि इरानी सर्वोच्च नेता खामेनी लगायत उच्च नेताहरू बंकरमा लुकेका थिए।
आइआरजिसीले सर्वोच्च नेता खामेनीलाई गोप्य बंकरमा राखेको थियो। जसको बारेमा आइआरजिसी उच्च अधिकारी र केही नेताहरूमात्रै जानकार थिए।
अरू नेताहरू पनि बंकरमै बसेका थिए। कुनै रणनीति बनाउने छलफल पनि बंकरभित्रै हुन्थ्यो।
आइआरजिसीले खामेनीसहितका उच्च नेताहरुको सुरक्षा प्रोटोकल यति चुस्त बनाएको थियो कि उनीहरूलाई फोन बोक्न पनि प्रतिबन्ध लगाइएको थियो। इसराइलले फोन ट्र्याक गरी लोकेसन थाहा पाउन सक्छ भनेर उनीहरूलाई फोन बोक्न दिइएको थिएन।
इरानमा युद्धको अवधिभर इन्टरनेट सेवा अवरूद्ध थियो। जुन १६ को दिन थियो। अर्थात् युद्धको चौथो दिन।
तेहरानको पश्चिमी भागमा रहेको पहाडको एक सय फिट मुनि बनाइएको बंकरमा आपतकालीन बैठक चलिरहेको थियो।
राष्ट्रपति मसुद पेजेस्कियान, न्यायपालिका र गुप्तचर मन्त्रालयका प्रमुखहरू तथा वरिष्ठ सैन्य कमाण्डरहरू लगायतका अधिकारीहरू छुट्टाछुट्टै गाडीमा त्यहाँ पुगेका थिए। इसराइली गुप्तचरले ट्र्याक गर्न सक्ने थाहा पाएर उनीहरू कसैले पनि मोबाइल फोन बोकेका थिएनन्।
यति धेरै सावधानी अपनाउँदा अपनाउँदै पनि बैठक सुरु भएको केही समयमै इसराइली लडाकू विमानहरूले बंकरको प्रवेशद्वार र निकासद्वारलाई निशाना बनाउँदै ६ वटा बम खसाल्यो।
त्यति धेरै सुरक्षा प्रोटोकल अपनाउँदा पनि बंकरमा कसरी बम खस्यो भन्नेमा सबै अच्चमित भए। बम खसेपछि बंकरभित्र अफरातफरी मच्चियो। बंकरभित्र बत्ती गयो। जसोतसो भित्र रहेका अधिकारीहरू बाहिर निस्किए।
बंकरभित्र कसैको पनि मृत्यु भएन। बाहिर निस्किएर हेर्दा दुई जना सुरक्षा गार्डहरुको शव देखे।
राष्ट्रपति सहभागितामा बैठक भइरहेको बंकरमा बम खसेपछि इरानको गुप्तचर संयन्त्रमा हलचल मच्चिएको थियो। इसराइलले त्यहाँ उच्चतहका नेताहरु रहेको कसरी थाहा पायो भनेर अनुसन्धान थाले।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार अनुसन्धानबाट सामान्य चुक हुँदा उक्त घटना भएको खुलेको छ।
गुप्तचर र आइआरजिसीले उच्च तहका नेताहरूलाई सुरक्षा प्रोटोकलमा राखे पनि बंकरको प्रवेशद्वार र निकासद्वारमा पहरा दिइरहेका सुरक्षागार्डलाई भने त्यस्ता प्रोटोकलमा नराखेको खुलेको छ।
इसराइलले सुरक्षा गार्डले चलाएको मोबाइल ट्र्याक गरेर त्यहाँ हमला गरेका थिए।
न्युयोर्क टाइम्सले यो खुलासा पाँच वरिष्ठ इरानी अधिकारी, इस्लामिक रिभोलुसनरी गार्ड्सका दुई सदस्य र नौजना इसराइली सैन्य तथा गुप्तचर अधिकारीहरूसँगको कुराकानीको आधारमा गरेको हो।
ती अधिकारीका अनुसार इरानी सुरक्षागार्डहरूलाई मोबाइल फोन चलाउन, सामाजिक सञ्जाल चलाउन रोकटोक थिएन। निर्वाध रूपमा फोन चलाउने, सामाजिक सञ्जालमा पोस्ट गरिराख्ने भएकाले उनीहरूलाई ट्र्याक गर्न इसराइललाई समस्या भएन।
सैन्य कमान्डर र आणविक वैज्ञानिकहरू मारिनुमा धेरैमध्येका त्यो पनि एउटा कारण रहेको भनेर न्युयोर्क टाइम्सले लेखेको छ। इसराइलले पनि सुरक्षागार्डहरूलाई यसअघि कहिल्यै ट्र्याक नगरेका कारण इरानी अधिकारीहरूको ध्यान त्यसतर्फ नगएको भनिएको छ।
'वरिष्ठ अधिकारी र कमाण्डरहरूले फोन बोक्दैनथे, तर उनीहरूका सहयोगी, सुरक्षा गार्ड र चालकहरूसँग फोन हुन्थ्यो; उनीहरूले सावधानीलाई गम्भीर रूपमा लिएनन्, र यसरी नै अधिकांशलाई ट्र्याक गरियो,' इरानको वर्तमान सरकारमा रणनीतिक उप-राष्ट्रपतिका रूपमा काम गरिसकेका र हाल तेहरान विश्वविद्यालयका राजनीतिक विश्लेषक तथा प्राध्यापक सशान करिमीले न्युयोर्क टाइम्ससँग भनेका छन्।
त्यतिमात्रै होइन आणविक वैज्ञानिकदेखि सेनासम्मको संरचनामा इसराइली गुप्तचर निकाय मोसादका लागि जासूसी गर्नेहरुले घुसपैठ गरेका थिए।
'घुसपैठ हाम्रो निर्णय गर्ने उच्चतम तहसम्म पुगेको छ,' पूर्वउपराष्ट्रपति तथा मन्त्री मोस्तफा हाशेमी ताबाले जुनको अन्त्यमा इरानी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भनेका थिए।
यसै महिना इरानले एक आणविक वैज्ञानिक, रुजबेह वादीलाई इसराइलका लागि जासूसी गरेको र अर्का वैज्ञानिकको हत्यामा सघाएको आरोपमा मृत्युदण्ड दिएको न्युयोर्क टाइम्सले जनाएको छ।
मोसादका लागि जासूसी गरेको आरोपमा गुप्तचर र सरकारी निकायका दर्जनौं व्यक्तिलाई गोप्य रूपमा गिरफ्तार गरी वा नजरबन्दमा राखिएको छ। त्यसमा केही उच्च पदस्थ व्यक्तिहरू पनि रहेको भनेर इरानी अधिकारीहरूलाई उद्धृत गरेर न्युयोर्क टाइम्सले लेखेको छ।
सुरक्षा बलहरूले मोसादको लागि जासूसी गर्ने र इरानका कम्तिमा ११ प्रान्तहरूमा फिल्ड र सपोर्ट अपरेटरको रूपमा काम गर्ने २१ जनालाई पहिचान गरी गिरफ्तार गरेको छ।