अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन्। सो व्यवस्थाका लागि कार्यकारी आदेश ल्याउने ट्रम्पले घोषणा गरेका हुन्।
अमेरिकामा अहिले संघीय स्तरमा मतदाता परिचयपत्र अनिवार्य छैन।
निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकारक्षेत्रमा पर्छ। त्यसैले कतिपय राज्यमा मत दिन परिचयपत्र देखाउनुपर्ने हुन्छ भने कतिपयमा चाहिँ यस्तो आवश्यकता छैन।
'मतदाता परिचयपत्र हरेक मतमा हुनैपर्छ। कुनै अपवाद छैन,' ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भने।
उनले गम्भीर बिरामी र टाढा खटिएका सेनाबाहेक अन्यका लागि हुलाकमार्फत मतदान रोक्ने घोषणा पनि गरे।
ट्रम्पले विगतदेखि नै अमेरिकी निर्वाचन प्रणालीमाथि प्रश्न उठाउँदै आएका छन्।
उनले २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँगको हार व्यापक धाँधलीका कारण भएको दाबी गर्दै आएका छन्। साथै विद्युतीय भोटिङ मेसिन हटाएर कागजी मतपत्र र हातैले गणना गर्ने प्रणाली लागू गर्नुपर्ने माग पनि गरेका थिए।
तर कानुनी रूपमा राष्ट्रपति वा संघीय सरकारलाई राज्यस्तरको निर्वाचन नियम बदल्ने संवैधानिक अधिकार छैन। त्यसैले ट्रम्पको कार्यकारी आदेशले कति प्रभाव पार्ने भन्ने अनिश्चित छ।