चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात वर्षपछि प्रत्यक्ष भेटवार्ता भएको छ।
सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को क्षेत्रीय सम्मेलनका लागि आइतबार चीन पुगेका मोदीले पूर्वी सहर टियानजिनमा सीसँग एक घन्टा छलफल गरेका हुन्।
यो छलफल चीन-भारत सम्बन्धको नयाँ मोडका रूपमा विश्लेषण गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय दुवै देशलाई गरेको व्यवहार पनि चीन-भारतबीच सामिप्यता बढ्नुको अर्को कारण हो।
भेटवार्तामा दुवै राष्ट्रप्रमुखले एकअर्काको राम्रो छिमेकी बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चिनियाँ राष्ट्रपति सीले राम्रो मित्र बन्नु नै दुवै देशका लागि उत्तम विकल्प रहेको मोदीलाई भनेका छन्।
'आजको विश्व अभूतपूर्व परिवर्तनबट गुज्रिरहेको छ। अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल छ। यस्तो अवस्थामा दुवै पक्षका लागि उत्तम विकल्प भनेको राम्रो छिमेकी र मित्रवत् साझेदार बन्नु हो, जसले एकअर्काको सफलता सुनिश्चित गर्छ। हात्ती र ड्रागनले सँगसँगै नृत्य गर्नु भनेको यही हो,' राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उल्लेख गरेको छ।
उनले दुई देश प्रतिद्वन्द्वीका रूपमा नभई साझेदारका रूपमा अगाडि बढ्दा सम्बन्ध दीर्घकालीन रूपमा स्थिर रहन सक्ने पनि बताएका।
राष्ट्रपति सीको कुरामा मोदीले पनि सहमति जनाएका छन्। उनले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अगाडि बढाउन भारत प्रतिबद्ध रहेको पनि बताए।
'सीमामा तनाव कम भएको र सम्बन्ध सुधारतर्फ अघि बढिरहेको छ। हाम्रो २८० करोड जनताको हित आपसी सहकार्यसँग जोडिएको छ,' मोदीले सीलाई भनेको कुरा उद्धृत गर्दै सिएनएनले लेखेको छ।
सीसँग भेटका क्रममा मोदीले चीनमा सीधा हवाई उडान सुरू गर्ने घोषणा पनि गरेका छन्।
चीनबाट सुरू भएको कोभिड महामारीका कारण सन् २०२० को सुरूमा दुई देशबीचका उडान बन्द भएका थिए।
सोही वर्षको जुन महिनामा गलवान उपत्यकामा भिडन्त भएपछि सम्बन्ध बिग्रेकाले कोभिड महामारी सकिएपछि पनि उडान भएका छैनन्। मोदीले कहिले देखि उडान सुरू हुने भन्ने चाहिं खुलाएनन्।
इण्डिगोले पहिलेदेखि नै चीन उडान गर्ने भनेको छ। त्यस्तै एयर इण्डियाले पनि चीन उडान गर्ने अपेक्षा गरिएको छ।
सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो।
हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिक जवानको मृत्यु भएको थियो। गत वर्षको अन्त्यदेखि बल्ल दुई देशको सम्बन्ध सुध्रिन थालेको थियो।
पछिल्लो समय ट्रम्पले भारतप्रति कडा नीति लिएपछि यसमा झन् तीव्रता आएको छ।
ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहे अगस्टको अन्त्यदेखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए।
सो चेतावनी अनुसार ट्रम्पले बुधबारदेखि भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाइसकेका छन्। ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन मोदी चीन गएका हुन्।
सम्बन्ध सुधार हुन थालेपछि भर्खरै चीनका विदेश मन्त्री वाङ यीले भारत भ्रमण गरेका थिए। सो भ्रमणमा भारत र चीनले एक अर्कालाई प्रतिद्वन्द्वी नभएर साझेदार ठान्नु पर्ने उनले बताएका थिए।
भ्रमणका क्रममा चीनले दुर्लभ खनिज पदार्थबाट बनेको चुम्बक भारतमा, मल र सुरूङ खन्ने मेसिनहरूको भारत निर्यातमा लगाएको प्रतिबन्ध हटाउन पनि सहमत भएको थियो।
त्यस्तै भारतसँगको सीमामा रहेको तनाव कम गर्ने लगायत विषयमा पनि दुई देशबीच सहमति भएको थियो। ब्लुमबर्गका अनुसार भारतमा युरिया मल निर्यात गर्न चीनले लगाएको प्रतिबन्ध अगस्ट महिनादेखि खुकुलो बनाएको छ।
मोदी निकट व्यवसायी गौतम अदानीको समूहले भारतमा ब्याट्री उत्पादन गर्न चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडीसँग छलफल पनि गरिरहेको छ।
मोदीले चिनियाँ नागरिकलाई टुरिस्ट भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेका छन्। चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ।