काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युवा नेताहरूको विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गरेकी छन्।
सोमबार भदौ १७ गतेदेखि १९ सम्म द फोरम अफ योङ ग्लोबल लिडर्सले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि आयोजित सम्मेलन सहभागी हुन उपमेयर डंगोल जेनेभा गएकी हुन्।
फोरममा ४० वर्षभन्दा कम उमेरका युवा नेताहरू उपस्थित हुनेछन्। जसमा शिक्षा, कला, खेल, व्यापार, नागरिक समाज, मिडिया, जनप्रतिनिधि, सामाजिक उद्यमशील लगायत क्षेत्रबाट प्रतिनिधित्व रहनेछ।
सम्मेलनमा विभिन्न विधामा नेतृत्व गर्ने युवाहरुबीच आपसी संवाद र सञ्जाल निर्माण हुने जनाइएको छ।
‘युवा विश्व नेता चयन भइसकेपछिको यो पहिलो बैठक हो। यसले फरक परिवेशका सम्भावनाहरु जान्ने अवसर प्रदान गर्नेछ,' उपमेयर डंगोलले भनिन्, 'यसको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको विभिन्न विधाको नेतृत्व गर्ने युवाहरू एकै ठाउँमा हुनु हो। यसले विश्वको परिवेश बुझेर आफ्नो क्षेत्र अगाडि बढाउन परिपक्वता प्रदान गर्नेछ।'
परिवर्तनशील संसारको नेतृत्वमा साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनको अपेक्षित नतिजा भएको डंगोलले बताइन्। सम्मेलनमा उनको दुइटा प्रस्तुती रहनेछ।
गएको वैशाखमा उपप्रमुख डंगोल, विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी थिइन्। युवाहरूलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञका रूपमा उनलाई चयन गरिएको थियो।
जसमा दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका थिए।
विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी थिइन्। यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हबको सदस्य थिइन्।