नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीभित्रको अन्तरसंघर्ष (लडाइँ) केही तिखो बन्न सक्ने बताएका छन्।
सेन्टर फर पब्लिक पोलिसी रिसर्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने सन्दर्भमा भइरहेको बहस विमर्शलाई लिएर कतिपयले पार्टी फुटाउन सक्ने भनेर गरेको टिप्पणी निरर्थक रहेको बताए।
‘एकाथरी मानिसहरू के टिप्पणी गरिरहेका छन् भने यहाँभित्र भइरहेको बहसलाई सार्थक नबनाउनका लागि, यो त विभाजन गर्नका लागि गरेको हो। पार्टी फुटाउनका लागि पो गरेको हो भनेर यसमा टिप्पणी गर्ने र सार्थक प्रयासलाई विफल तुल्याउन खोज्ने यो पनि प्रयास भइरहेको छ,’ उनले भने, ‘यसबाट हामी जोगिनुपर्छ। बहसले पार्टी विभाजित हुँदैन। सार्थक बहस अगाडि बढेका बेला यस्ता कोसिस हुन्छन्। यो लडाइँ केही तिखो बन्न सक्छ, केही समय लिन सक्छ, अप्ठ्यारो कुराहरूसँग जुध्नुपर्ने हुनसक्छ, तर निष्कर्षमा पुग्छ।’
कोअर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै एमाले आन्दोलनको सुरूदेखि नै सक्रिय पाण्डेले आफूले दुःख गरेर बनाएको पार्टी विभाजन गर्ने कल्पना पनि गर्न नसकिने बताए।
‘अहिले चाहे विद्याजीको कुरा गर्नुस् या हामी कसैको पनि, यो चाहिँ पार्टी विभाजन गर्न खोजेको हो भन्ने तर्कमा एक रति पनि विश्वास गर्न जरूरी छैन। हामीले बनाएको पार्टी हामी विभाजन गरेर हिँड्छौं? किमार्थ हुँदैन,’ उनले भने।
एमालेले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्दैछ। एमालेले विधान महाधिवेशनलाई नीति सम्मेलनभन्दा पनि महोत्सवका रूपमा मनाउन लागेको टिप्पणी एमालेका नेता–कार्यकर्ताले गरिरहेका छन्। खास गरी यस्तो तर्क पूर्वराष्ट्रपति भण्डारी पक्षधरहरूको छ।
उपाध्यक्ष पाण्डेले उक्त महाधिवेशनमा फरक मत दर्ज गर्ने बताए।
‘केन्द्रीय कमिटीको नवौं बैठकमा विद्या भण्डारीलाई रोक्ने विषयमा नोट अफ डिसेन्ट राखेका थियौं। तर हाम्रो फरक मतलाई अन्तरपार्टी निर्देशनमा नसमेटिएपछि केन्द्रीय कार्यालयमा हाम्रो फरक मत छलफल गरियोस् भने निवेदन दिएका छौं, मैले र उपाध्यक्ष युवराज ज्ञवालीले। हामी विधान महाधिवेशनमा पनि राख्छौं,’ उनले भने।
कहिलेकाहीँ बहुमतले गलत निर्णय पनि गर्न सक्ने भन्दै पार्टीभित्र निरन्तर बहस, विमर्शले त्यसलाई सच्याएको विगतको अभ्यास पनि रहेको बताए। उनले भण्डारीलाई पार्टी फर्कनबाट रोक्नेकुरा संविधानसम्मत नरहेको पनि बताए।
यो पनि: एमालेमा फरक मतलाई निषेध!