राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारको अराजक, असहिष्णु र कर्कस शैलीका कारण लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले आफूहरू ९५ दिनदेखि निरन्तर आन्दोलनरत रहे पनि सत्तापक्षले सुन्न नचाहेको भन्दै आपत्ति जनाएका हुन्।
‘हामी विगत ९५ दिनदेखि आन्दोलित छौं । हामी आन्दोलित हुँदैगर्दा सत्तापक्षले सुन्दैन । अझ सत्तापक्षका सांसदहरुले हाम्रो प्रतिवाद गर्न घण्टौं समय खेर फालिरहेको छ । कर्कस, अराजक, असहिष्णु सैलीसँग हामीमाथि मिथ्या आरोपहरु लाइरहनु भएको छ । यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि र हाम्रा बहसहरु सुन्न नसकेर डीपफेक भ्वाइस रेकर्डहरु समेत बाहिर छरपस्ट पार्न थालिएको छ,' उनले भनेका छन्।
उनले दलीयकरणले छायाँमा परेको लोकतन्त्र ०८४ मा उठ्ने पनि बताए।
'आज दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको छ । त्यसकारण लोकतन्त्र माथि उठ्न सकेको छैन । जनताले हिसाब राखेका छन् । २०८४ मा यो लोकतन्त्र जुरुक्क उठ्ने छ । ०८४ अख्तियार पनि जुरुक्क उठेर काम गर्न थाल्छ । दलीयकरणमार्फत कब्जा गरिएका संवैधानिक आयोगहरु २०८४ पछि उठेर काम गर्न थाल्छन्,’ उनले भनेका छन्।-न्युज एजेन्सी नेपाल।