चिनियाँ राष्ट्रपति सि चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमर रहने विकल्पबारे कुराकानी गरेको खुलेको छ।
बेइजिङमा सोमबार बिहान सम्पन्न सैन्य परेड अवलोकनका लागि विश्वका नेताहरूसँगै मञ्चतर्फ अगाडि बढ्दा पुटिन र सीले अमरत्वबारे कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मञ्चतर्फ जाँदै गर्दा अघिल्लो पंक्तिमा चिनियाँ राष्ट्रपति सी, रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन थिए।
त्यतिबेलाको दृश्य चिनियाँ सरकारी सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए। जसमा सी र पुटिनको संवादसमेत सुनिएको थियो।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार पुटिन र सीले कुराकानी गर्दा उनीहरूको माइक अन नै थियो। तर माइक अन छ भन्ने विषयमा पुटिन र सीले हेक्का नराखेको भनिएको छ।
सीले अहिलेको प्रविधिको युगमा ७० वर्षको मान्छे पनि बच्चै हुने बताएका थिए।
'उहिले मानिसहरू मुस्किलले ७० वर्ष बाँच्थे। तर यो आधुनिक समयमा ७० वर्षमा पनि बच्चा नै हो,' उनले भनेका थिए।
जबाफमा पुटिनले मानव अंग प्रत्यारोपण गरी मानिसलाई अमर बनाउन सकिने भनेका थिए।
'स्वास्थ्य विज्ञानसम्बन्धी प्रविधि धेरै विकसित भइसक्यो। तत्काल मानव अंग प्रत्यारोपण गर्न सकिन्छ। अंग प्रत्यारोपणले मानिसहरूलाई उनीहरूको उमेरभन्दा कमको देखाउँछ। अमरत्व नै पनि सम्भव हुन सक्छ,' पुटिनले भने।
त्यसपछि सीले चाँडै नै मानिसहरूलाई १५० वर्षसम्म बाँच्न सक्ने र त्यो अनुसारको प्रविधिको विकास गर्न सकिने बताएका थिए।
दुवै जनाले अनुवादकमार्फत एक अर्कालाई आफूले भन्न खोजेको कुरा बुझाइरहेका थिए।
एकै लहरमा हिँडेका उत्तर कोरियाली नेता किम जोङले पनि उनीहरुको कुरालाई आफ्नो अनुवादकमार्फत बुझिरहेका थिए। किमले उनीहरूको कुरा चासो दिएर सुने पनि कुनै प्रतिक्रिया दिएनन्।
प्रत्यक्ष प्रसारण हुँदा उनीहरूले गरेको कुराकानीका विषयमा पछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका थिए।
त्यसमा पुटिनले आधुनिक स्वास्थ्य विज्ञानले त्यो सम्भव हुने बताएका थिए।
'आधुनिक स्वास्थ्य विधिहरूले मानिसको आयु उल्लेख्य रूपमा बढ्ने आशा दिलाउँछ। त्यसमा अङ्ग प्रत्यारोपणजस्ता शल्य–उपचार पनि पर्छन्,' पुटिनले भनेका थिए।
दीर्घजीवनबारे पछिल्लो समय पुटिनले अत्यधिक चासो देखाउँदै आएका छन्। उनले आफ्नो स्वास्थ्य मन्त्रालयलाई जीवन बढाउने विषयलाई मुख्य प्राथमिकता दिन निर्देशन दिएका छन्।
रूसको प्रमुख ऊर्जा कम्पनी रोसआटमले अघिल्लो वर्ष मानव अङ्ग 'प्रिन्ट' गर्ने प्रविधि विकास गरिरहेको जनाएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।
तर वैज्ञानिकहरूले अंग प्रतिस्थापनमार्फत मात्र जीवन दीर्घ बनाउन सकिने कुनै प्रमाण नभएको बताएका छन्। मानवीय मस्तिष्क भने उमेरसँगै प्राकृतिक रूपमा परिवर्तन भइरहने भएकाले त्यसको विकल्प नभएको भनिएको छ।
पुटिन र सी दुवै ७२ वर्षका भए। यो संवादले उनीहरूमा अझै लामो समयसम्म सत्तामा रहने चाहना रहेको संकेत गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
चीनका शासकहरू सामान्यतया लामो समयसम्म बाँचेका छन्।
अघिल्ला नेता देङ स्याओपिङको ९२ वर्षको उमेरमा निधन भएका थिए भने उनका उत्तराधिकारी च्याङ चेमिन ९६ वर्षसम्म बाँचेका थिए।
पुटिनले भने २०२० मा संविधान संशोधन गरी सन् २०३६ सम्म सत्तामा रहन सक्ने व्यवस्था मिलाएका छन्। त्यतिबेला उनको उमेर ८३ वर्ष पुग्नेछ।
कोभिड–१९ महामारीका बेला उनले आफूलाई भेट्न चाहनेहरूलाई दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने शर्तसमेत लगाएका थिए। यसले पनि उनको स्वास्थ्यप्रतिको असाधारण ध्यान रहेको देखाउँछ।