रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि आफू तयार रहेको बताएका छन्।
चीन भ्रमणको अन्तिम दिन बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेनमा जारी युद्ध संवादमार्फत अन्त्य गर्नका लागि आफू तयार रहेको बताएका हुन्।
वार्ताको तयारी भने राम्ररी हुनुपर्ने र ठोस परिणाम खोज्ने उद्धेश्य हुनुपर्ने पुटिनले बताएका छन्।
तर संवादका लागि जेलेन्स्की मस्को आउनुपर्ने पुटिनको सर्त रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
'युद्ध अन्त्यको तयारी सहित आउनुपर्नेछ। वार्ताबाट ठोस परिणाम निकाल्ने जेलेन्स्कीको संकल्प र इच्छाशक्ति हुनुपर्छ,' पुटिनले भनेका छन्।
पुटिनले युक्रेनले नेटो सदस्यता लिने विचार त्याग्नुपर्ने र रुसीभाषीहरूमाथि युक्रेनले गरेको 'अत्याचार' रोकिनुपर्ने सर्त कायमै राखेका छन्।
पुटिनले कूटनीतिक रूपमा शान्तिपूर्ण उपायमार्फत युद्ध अन्त्य गर्न आफ्नो चाहना भएको तर आवश्यक परे सैन्य शक्ति प्रयोग गरेर लक्ष्य पूरा गर्ने चेतावनी दिए।
'वार्तामार्फत हुँदैन भने हतियारको बलमा हामीले हाम्रा अगाडिका कामहरू सबै समाधान गर्नुपर्ने हुनसक्छ,' पुटिनले भनेका छन्।
पुटिनले युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खेलेको भूमिकाको पनि प्रशंसा गरे। उनले युद्ध अन्त्य गर्ने ट्रम्पको भित्री चाहना रहेको र सोही अनुसारको प्रयत्न पनि गरेको भनेका छन्।
युक्रेनी विदेश मन्त्रालयले भने पुटिनको प्रस्तावलाई अस्वीकार गरिदिएको भनेर रोयटर्सले लेखको छ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाले वार्तास्थल मस्को हुन नसक्ने भनेर पुटिनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन्।
अगस्ट १५ मा पुटिनले अलास्कामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गरेका थिए।
युक्रेन युद्ध अन्त्य गर्ने वार्ताको मुख्य उद्धेश्य भए पनि ट्रम्प र पुटिनबीच आपसी सम्बन्ध र दुईदेशबीचको सम्भावित सहकार्यबारे पनि कुरा भएको यसअघि नै सार्वजनिक भइसकेको छ।
पढ्नुस्ः अमेरिका र रूसबीच ऊर्जा सम्झौताबारे गोप्य छलफल भएको खुलासा
छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले चाँडै नै अर्को वार्ता हुन सक्ने बताएका थिए।
त्यसमा पुटिनले अंग्रेजी भाषामै जबाफ दिँदै आगामी वार्ता मस्कोमा हुने बताएका थिए। ट्रम्पले जबाफमा त्यो असम्भव नरहेको भनेका थिए।
यो पनिः ट्रम्पले भने-हामी फेरि छिट्टै भेट्नेछौं, पुटिनको जबाफ- अब मस्कोमा
अलास्काको भेटवार्तापछि ट्रम्पले युक्रेनमा युद्धविरामभन्दा स्थायी शान्ति आवश्यक हुने र त्यसैका लागि छलफल गर्नुपर्ने भनेर जेलेन्स्की र युरोपेली नेताहरूलाई ब्रिफिङ गरेका थिए।
युरोपेली नेताहरुले पनि क्षणिक युद्धविरामभन्दा स्थायी शान्ति नै उपयुक्त हुने भनेर ट्रम्पको प्रस्ताव सकारात्मक रहेको बताएका थिए।
त्यसपछि ट्रम्पले जेलेन्स्की र पुटिनबीच चाँडै वार्ता हुने र त्यसपछि आफूसहितको त्रिपक्षीय वार्ता हुने बताएका थिए।
क्रेमलिनले भने जेलेन्स्कीसँग आफ्नो राष्ट्रपति पुटिनले वार्ता गर्ने तय नभएको बताउँदै आएको थियो। वार्ताका लागि एजेन्डा हुनुपर्ने तर दुवै पक्षले एजेन्डा तय नगरेको भन्दै क्रेमलिनले नामको मात्रै वार्ताको औचित्य नरहने भनेको थियो।
रूस वार्ताका लागि तयार नभएको भनेर ट्रम्पले पुटिनलाई जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न दुई साताको अल्टिमेटम दिएका थिए। दुई साताभित्र वार्तामा नबसे आफूले ठोस निर्णय लिने चेतावनी पनि ट्रम्पले दिएका थिए।
यो पनिः जेलेन्स्कीसँग वार्ताको टेबलमा बस्न ट्रम्पले पुटिनलाई दिए दुई साताको अल्टिमेटम