परराष्ट्र सचिव अमृतबहादुर राईले लिपुलेक–लिम्पियाधुराका सन्दर्भमा भारतसँग पनि चीनकोजस्तै अडान राख्ने बताएका छन्। चीनको पाँच दिने भ्रमणका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव राईले नेपालले आफ्ना प्राथमिकता र अडान भारतसँग पनि राख्ने बताएका हुन्।
चीन–भारतका बीचमा हालैमात्र नेपाली भूमि लिपुलेक भएर व्यापार सुरू गर्ने सहमति भएको थियो। त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान प्रस्तुत गर्दै उक्त सहमतिप्रति चिनियाँ राष्ट्रपति सि चिनफिङसँग आपत्ति जनाएका थिए।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि जिनपिङसँग थियानजिनमा भेट गरी दुई पक्षीय सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल गर्नुभयो। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धन मैत्रीपूर्ण र गाढा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीज्यूले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद पनि व्यक्त गर्नुभयो,’ उनले भने, ‘नेपालको भूभाग लिपुलेक नाकामार्फत् सीमा व्यापार गर्ने सहमतिसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीज्यूले लिपुलेकबाट व्यापार गर्न भएको समझदारी कार्यान्वयन नगर्न चिनियाँ राष्ट्रपति समक्ष अनुरोध गर्नुभयो।’
त्यसपछि सञ्चारकर्मीले सचिव राईलाई भारतसँग पनि नेपालले यसैगरी अडान राख्छ भनेर जिज्ञासा राखेका थिए।
‘निश्चितै रूपमा, नेपालले जहिले पनि आफ्ना प्राथमिकताहरू, आफ्ना अडानहरू, सधैँ नै तयारीमै रहन्छ। परराष्ट्र मन्त्रालय जहिल्यै पनि तयारी अवस्थामै रहन्छ,’ उनले भनेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमण गर्दैछन्।