खानेपानीमन्त्री प्रदीप यादवले फोनमार्फत धम्की दिने महिलाप्रति आफूले पूर्वाग्रह नराखेको बताएका छन्।
बिहीबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री यादवले आफूलाई फोनमा धम्की दिने ती महिलालाई पर्सा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको तर त्यसप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको बताएका हुन्।
'हिंसाको भावना व्यक्त गर्दा यस्तो स्थिति देखिएको हो । फोनकर्ता महिलालाई प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला,' उनले लेखेका छन्।
मन्त्री यादवले ती महिलाले आफन्त अस्पतालमा भएकाले पीडाको आक्रोश पोखेको आकलन गरे पनि वास्तविकता त्यस्तो नपाइएको बताएका छन्।
' मलाई लाग्यो उनकै कथनानुसार कोही आफन्त विरामी भएको भएर पीडा पोखिएको होला,' उनले लेखेका छन्,' पछि अस्पतालमा पता लगाउँदै जाँदा थाहा पाइयो वीरगञ्जको कुनै अस्पतालमा उनको परिवारका कोही सदस्य भर्ती थिएन।'
ती महिलाले उनले गुहार लगाउनुभन्दा ज्यान मार्ने धम्की दिएका कारण आफूले त्यो नम्बर सहितको सूचना पर्सा प्रहरीलाई दिएको मन्त्री यादवले बताएका छन्।
'पर्सा प्रहरीले आफ्नो अनुसन्धान अगाडि बढाउँदा ती फोनकर्ता हिरासतमा राखिएकी हुन् । मेरो व्यक्तिगत रूप उनीप्रति कुनै पूर्वाग्रह छैन,' मन्त्री यादवले फेसबुकमा लेखेका छन्।
उनले एक जनप्रतिनिधिमाथि रिस पोख्नुलाई सामान्य रूपमा लिए पनि अनाहक अफवाह फैलाउने, मार्ने धम्की दिने काम फोनकर्ताबाट भएको हुनाले मेरा हितैषीहरू चिन्तित र चासो लिनु स्वाभाविक रहेको बताएका छन्।
फोनकर्तालाई उक्साउने वा मेन्टरिङ गर्नेको मनसाय के थियो भन्ने छानबिन पनि प्रहरीले पत्ता लगाउने उनल बताएका छन्।
'कसैलाई बाटो बिराउनबाट जोगाउनु पनि हाम्रो जिम्मेदारी हो । फोनकर्तालाई सच्चिन तथा लोकतान्त्रिक अधिकार प्रयोग गर्ने कार्यमा मेरो सहयोग रहनेछ । फोनकर्ता महिलाप्रति नरम भइदिनको लागि सचिवालय मार्फत प्रहरी समक्ष खबर पुर्याएको छु ।आशा छ आजको दिन फोनकर्ता महिलको लागी फलदायी होला,' उनले भनेका छन्।
एक साताअघि खानेपानी मन्त्री यादवलाई धम्की दिएको आरोपमा वीरगन्जकी किरण साह पक्राउ परेकी थिइन्।
मन्त्री यादवको सचिवालयबाट प्राप्त उजुरीको आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।