प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणमा ‘टेस्टेड’ भइसकेको शक्ति चित्रण गरेका छन्।
शुक्रबारबाट सुरू हुने नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक दस्तावेजमा पार्टी अध्यक्ष ओलीले समाजवादको आधार निर्माणको अभिभारा एमालेबाहेक अरू कुनै दलले पूरा गर्न नसक्ने बताएका हुन्।
‘समाजवादको आधार निर्माणको ऐतिहासिक अभिभारा अरू कुनै पार्टी या शक्तिबाट पूरा हुनु सम्भव छैन।
नेपाली कांग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो। तर लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति हो,’ अध्यक्ष ओलीले सत्तामा सँगै सहकार्य गरिरहेको कांग्रेसप्रति टिप्पणी गरेका छन्।
कांग्रेसले सात सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न नसकेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
कांग्रेसले १५ सालको निर्वाचनमा दुई तिहाई बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन नसकेको र २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमाएको ओलीले उल्लेख गरेका छन्।
‘२०५९ सालमा त प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भयो। उसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रष्ट छ। नवउदारवाद संसारभरि नै असफल भइसकेको छ भने नेपालमा यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना छैन,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ।
प्रचण्डलाई माओवादीको 'ट्याग' नै भारी
समाजवादको आधार निर्माणको अभिभारा नेकपा (माओवादी केन्द्र) बाट सम्भव नभएको ओलीको ठहर छ।
कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एन्टिथेसिस’ का रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको विचाराधारा र त्यसमार्फत् विकास गरिएको अवधारणा असफल भइसकेको पनि ओलीले बताएका छन्।
‘कुनै बेला नेकपा (एमाले) र यसको सिद्धान्त जनताको बहुदलीय जनवादको ‘एन्टिथेसिस’ का रूपमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेना बिनाको पार्टी कम्युनिष्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिष्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकत्वको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो। ‘प्रचण्डपथ’ लाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आ ‘माओवादी’ ट्याग पनि भारी भएको छ,’ प्रतिवेदनमा भनिएको छ।
शान्ति प्रक्रियामा आइसकेपछि माओवादी केन्द्रले अगाडि सारेको सत्ता कब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्य लगायत माओवादीका प्रायः सबै प्रयोग असफल भइसकेको पनि ओलीको ठहर छ।
अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी केन्द्र वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको ओलीले बताएका छन्।
‘कसैको पनि बहुमत नभएको ‘हङ् पार्लियामेन्ट‘का कारण सत्ताको लाभ लिइरहनु एउटा कुरा हो। तर मुलुकको वैचारिक–राजनीतिक नेतृत्व गर्ने प्रतिष्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको छ,’ ओलीको टिप्पणी छ।
त्यस्तै अध्यक्ष ओलीले मधेस केन्द्रित दलहरूलाई संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकिरहेको बताउँदै उनीहरूले पनि राष्ट्रको नेतृत्व गर्न नसक्ने बताएका छन्।
अध्यक्ष ओलीले राजावादी शक्तिहरू हिंसा र अराजकता मच्चाउने प्रवृत्तितर्फ उद्यत रहेको बताएका छन्।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देख्छन्, कतिले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्। जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पना बाहिरको कुरा हो। पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरूको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ। यो स्वीकार्य हुन सक्दैन,’ दस्तावेजमा उल्लेख छ।
समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गतः निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाएको ओलीले प्रतिवेदनमा भनेका छन्।
विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा (एमाले) लाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको समेत ओलीको बुझाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई लक्ष्य गरेर राजनीतिक दस्तावेजमा ‘पपुलिस्टहरू’ भनिएको छ।
‘समाजको यही मनोविज्ञानलाई ‘पपुलिस्टहरू’ले राम्रैसँग दुरूपयोग गरे। तर उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन। न कुनै वैचारिक–राजनीतिक स्पष्टता । न विगतको कुनै बिरासत र योगदान। न कुनै सुस्पष्ट गन्तव्य। न त निश्चित वर्गआधार र लक्षित समूह,’ ओलीले टिप्पणी गर्दै भनेका छन्।
तलाउमा देखा पर्ने एउटा तरंग जस्तै यस्तो पपुलिज्म उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै रहेको ओलीको कटाक्ष छ।
‘हामीले सुरूदेखि नै भन्दै आएका थियौं– यो कुनै विकल्प होइन, हुन सक्दैन। दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालिसकेको छ– पपुलिज्म कुनै समाधान या विकल्प होइन । विचारका हिसाबले जनताको बहुदलीय जनवाद र शक्तिका हिसाबले नेकपा (एमाले) यस अभियानको सारधि हो भन्ने कुरामा कुनै द्विविधा छैन,’ ओलीको निष्कर्ष छ।
यो राजनीतिक प्रतिवेदन अहिले सचिवालय बैठकमा छलफल भइरहेको छ। सचिवालय बैठकले पारित नगर्दै प्रतिनिधिहरूको हातहातमा राजनीतिक प्रतिवेदन पुगिसकेको छ। शुक्रबारबाट सुरू हुने दोस्रो विधान महाधिवेशनमा २३४१ जना सहभागी छन्। जसमा २०२६ प्रतिनिधि र ३१५ जना आयोजकको हैसियतमा सहभागी हुन पाउनेछन्।