नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरस्थित गोदावरीमा सुरू हुँदैछ। भदौ २१ गते आइतबारसम्म चल्ने विधान महाधिवेशनले एमालेको १४ औं महाधिवेशनका लागि विधान, नीति तर्जुमा गर्नेछ।
विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १३ सय बढी शब्दको पत्र पठाउने तयारी गरेकी छिन्। पूर्वराष्ट्रपति भण्डारीले केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकले सदस्यता रोक्ने निर्णय गर्दै पार्टी नेतृत्वले आफ्नो गहिरो आस्था र विश्वासमाथि कुठाराघात गरेको आरोप लगाएकी छन्।
‘नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल साउन ५ र ६ गते बसेको बैठकको निर्णयको नाममा नवीकृत भैसकेको मेरो सदस्यतामाथि प्रश्न उठाइएकाले यस बारेमा केही कुरा राख्ने उद्देश्यले यो पत्र लेखिरहेको छु। त्यसो त मैले पार्टी सदस्यता नवीकरण गरेपछि पनि पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका बैठकहरू आयोजना भएका थिए, त्यसबखत मेरो सदस्यताको सवालमा कुनै प्रश्न गरिएन, तर अहिले किन यस्तो विवादको घेरामा पारिया ? यो विषय पार्टी र सिंगो राष्ट्रकै निम्ति गम्भीर हो,’ उनले पत्रमा भनेकी छन्।
आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको बताउँदै भण्डारीले महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि आफूले निरन्तर आवाज उठाउँदै आएको बताएकी छन्।
अनेकौं संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको र आज पार्टी सदस्यतामाथि उठाइएको प्रश्न आफ्ना निम्ति गम्भीर रूपमा खडा भएको उल्लेख गरेकी छन्।
भनेकी छन्, ‘यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो। त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु,’ उनले उल्लेख गरेकी छन्।
स्कुले जीवनदेखि नै अनेकौं संघर्ष, त्याग र समर्पणको बाटो हिँडेर आफू यहाँ आइपुगेको र फेरि पनि बाँकी जीवन पार्टीमै आबद्ध भएर अगाडि बढ्ने अठोट गरेको उनको भनाइ छ।
‘तर म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ। पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो। यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो,’ उनले भनेकी छन्।
उनले पत्रमा अगाडि भनेकी छन्, ‘स्मरण रहोस्, जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारेर २०८२ साल असार १४ गते पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि बनेर मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मेरो पार्टी सदस्यता नवीकरण भैसकेको र मैले आफू नेकपा (एमाले) परिवारको पुनः सदस्य हुन पाएकोमा गर्व गर्दै बाँकी जीवन पार्टी मार्फत देश र जनताको सेवामा समर्पित गर्ने घोषणा गरेको थिएँ।’
आफूले यो विषय उक्त कार्यक्रमको केही दिन पहिले नै पार्टी अध्यक्ष ओलीसँग भेट हुँदा मदन जयन्ती समारोहमा पार्टी सदस्यता नवीकरण गरेको कुरा आफूले सार्वजनिक गर्ने बताएको समेत पत्रमा उल्लेख छ।
७५ औं मदन जयन्तीका अवसरमा वैचारिक र रचनात्मक कार्यक्रम घनिभूत रूपमा सञ्चालन गर्नका लागि एउटा समिति गठन गर्ने विषयमा कुरा समेत भएको भण्डारीले बताएकी छन्।
‘अनि उक्त कार्यक्रममा मैले विधिवत रूपमा आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेकोले त्यस विषयलाई सार्वजनिक गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जबजको अजेयता, देशमा सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियालाई तीव्र पार्नुपर्ने सन्दर्भ, पार्टीलाई थप सुदृढ तुल्याउनु पर्ने विषय र हाम्रो पार्टीको सुन्दर भविष्यको बारेमा त्यस कार्यक्रममा सम्बोधन गर्दै स्पष्ट पारेको थिएँ,’ भण्डारीले भनेकी छन्।
आफू पार्टीको निर्णय अनुसार मुलुकको राष्ट्रपतिको निर्वाचनमा सरीक भएको र निर्वाचित भएको पनि उनले भनेकी छन्।
राष्ट्रपतिमा निर्वाचित भएपछि २०७२ कार्तिक १२ गते नै प्रेस नोट जारी गर्दै आफूले लिइरहेको पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेको भण्डारीले बताएकी छन्।
‘राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वको सल्लाह बमोजिम नै मैले पार्टी सदस्यता नवीकरण गरेको हुँ। तर केही समय यता पार्टीका केही जिम्मेवार कमरेडहरूले अनेकौं व्यङ्य, घोचपेच र मर्यादाविपरीत अभिव्यक्ति दिँदै खासगरी मेरो पार्टी सदस्यता नवीकरण नभएको भनी सार्वजनिक सञ्चार माध्यममा निरन्तर विचार प्रवाह गरिरहेकाले पार्टी परिवारमा अन्यौल र जनतामा भ्रम सिर्जना भएको छ,’ उनले भनेकी छन्।
ती नेताहरूको पूर्ववत धारणामा किन परिवर्तन भएको हो? आफूलाई आश्चर्य लागेको भण्डारीले पत्रमा उल्लेख गरेकी छन्।
‘मेरो विचारमा जबजले हामीलाई सिकाएको लोकतान्त्रिक संस्कार र संस्कृतिसँग यो मेल खाँदैन। एउटा वैधानिक लोकतान्त्रिक दलले संस्थागत गरिसकेको मेरो नवीकृत सदस्यता स्वीकार गर्नु पार्टीको विधिभित्रै पर्दछ। पार्टी संगठन सञ्चालनको सिद्धान्त जनवादी केन्द्रीयता हो। अझसम्म पनि हाम्रा अभिभारा र लक्ष्य हासिल भइसकेका छैनन्। त्यसको प्राप्तिका लागि हामी सबैको एकता, समझदारी र सक्रियताको आवश्यकता पर्दछ। तसर्थ, यो आग्रहप्रति सबै सदस्यहरू गम्भीर बन्दै मेरो सदस्यता कायम गर्ने बारेमा सकारात्मक धारणा र निर्णयको अपेक्षा गर्दछु। साथै, पार्टीले आफ्नो निर्णय सच्याउँदै पार्टीमा देश र जनताको हितका खातिर एकजुट भएर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गर्दछु,’ भण्डारीले भनेकी छन्।
आफ्नो सदस्यताको सवाल कसैलाई निजीजस्तो लागे पनि पार्टीका सम्पूर्ण सदस्यहरूको आस्था, विश्वास र अधिकारसँग समेत जोडिएको विषय भएको उनको भनाइ छ।
कतिपय नेताहरूबाट निकट विगतमा पार्टीमा लोकतान्त्रिकरणका लागि गरेको कठोर संघर्ष, सुस्पष्ट लिखित अवधारणा र त्यसो गरिरहँदा पार्टीभित्रै व्यहोर्नुपरेको अपमान र पीडालाई आफूले नजिकबाट देखेको र बुझेको भण्डारीले बताएकी छन्।
‘त्यसबखत म र अरू कमरेडहरूप्रति अनेकौं टिकाटिप्पणी हुँदा समेत जायज आवाजका लागि साथसाथ हामी लडेकै हौं। ती अभियानहरू जो सफलताका लागि निर्णायक समेत बनेका थिए, ती सबै यति चाँडै विस्मृतिमा हराइसके? वास्तवमा त्यसबेलाको मेरो त्यस्तो साथ पनि पार्टी हितका निम्ति नै थियो। त्यसैले, मेरो सदस्यताको विषयमा झिकिएको विवाद केवल व्यक्तिगत होइन, बरु यो हाम्रो पार्टीको विधि, मूल्य र लोकतान्त्रिक अभ्याससँग गाँसिएको छ। मेरो नवीकृत सदस्यतालाई निष्क्रिय बनाउने विषय हाम्रो पार्टीले अंगीकार गरेको पहलकदमी र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्तको समेत प्रतिकूल छ,’ उनको भनाइ छ।
आफ्नो राजनीतिक जीवन प्रारम्भदेखि नेकपा (माले) हुँदै नेकपा (एमाले)सँग जोडिएको र कलिलै उमेरदेखि म लोकतन्त्र, न्याय र समानताका लागि भएका आन्दोलन, संघर्ष र अभियानमा पार्टीको साथमा रहेको उनले उल्लेख गरेकी छन्।
‘पार्टीका नीतिगत निर्णय कार्यान्वयनमा होस् वा राष्ट्र र जनताका पक्षमा गरिएका संघर्षका कठिन क्षणमा मैले सधैँ पार्टीलाई उच्च प्राथमिकता दिएको छु। यही समर्पणकै कारण त्यसबेला पार्टी अध्यक्ष केपी शर्मा ओली हुँदा नै विशेष निर्णय गरेर मलाई राष्ट्रपतिको उम्मेदवार बनाइयो र मैले नेपालको राष्ट्रपति बन्ने अवसर प्राप्त गरें। त्यो पदमा रहेर मैले संविधानको मर्म र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर आफ्नो दायित्व पूरा गरेको कुरा घाम जत्तिकै छर्लंग छ,’ उनले भनेकी छन्।
आज पार्टी नेतृत्वका केही व्यक्तिमा मेरो सदस्यता र भूमिकालाई अस्वीकार गर्ने, निष्क्रिय बनाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको उनको बुझाइ छ।
पार्टीको विधानले कहीँ कतैबाट पनि पूर्वराष्ट्रपति पार्टीको सदस्य हुनबाट रोक्नुपर्ने अवस्था नदेखिएको उनले बताएकी छन्।
‘हाम्रो देश र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा पनि मेरो सदस्यता नवीकरणको सवालमा प्रश्न उठाउनुपर्ने होइन। नेपालको संविधानले समेत प्रत्येक नागरिकलाई मौलिक हकको रूपमा सहभागिता, समानता र स्वतन्त्रताको अधिकार दिएको छ र राजनीतिमा क्रियाशील हुन रोकेको छैन। त्यसैले, मेरो बारेमा पार्टीले गरेको भनिएको निर्णय र केही व्यक्तिको साँघुरो चिन्तन र नकारात्मक प्रवृत्तिले पार्टीलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक संस्कृतिलाई कमजोर पार्दछ भन्ने मेरो ठम्याई हो। पार्टी संगठनभित्र विधि, पद्धति, विधान र लोकतान्त्रिक अभ्यास कमजोर बन्यो भने त्यसको मार केवल व्यक्तिलाई होइन, सम्पूर्ण पार्टीलाई नै पर्दछ,’ उनले जोड दिएकी छन्।
यस्तो परिपाटीलाई समयमै सच्याउँन नसक्दा पार्टीको प्रतिष्ठा, शक्ति तथा नेता–कार्यकर्ता बीचको एकता र जनताको हामीप्रति रहेको आस्था र विश्वास नै धर्मराउन सक्ने उनले तर्क गरेकी छन्।
‘मेरो यो प्रयास पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन हो र मेरा यी प्रयासहरूलाई नकारात्मक उपमा दिएर गलत भाष्य सिर्जना गर्ने प्रयास नगरियोस् यस्तो प्रयासलाई पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले असफल पार्नु पर्दछ। मेरो यो आग्रह कुनै व्यक्तिगत आकांक्षाको लागि होइन, बरु पार्टीभित्रको विधि, संस्कार र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि हो। म विश्वास गर्छु कि, विधान महाधिवेशनका प्रतिनिधिहरूले मेरो यो आग्रहलाई गम्भीरतापूर्वक लिनुहुनेछ र पार्टीलाई अझ सबल बनाउन मद्दत पुरÞ्याउनु हुनेछ। हाम्रो पार्टी बलियो भयो भने मात्र हाम्रो देश बलियो हुन्छ। हामीले जुन पार्टी निर्माण गरेका छौं, त्यो केवल सांगठानिक संरचना मात्र होइन, बरु त्यो हाम्रो समर्पण, आकांक्षा विश्वास र लोकतन्त्रको प्रतीक हो। हाम्रो जीवन छोटो छ, जति नै भनेपनि हाम्रो क्षमता सीमित नै छ, सामुहिकता मूल कुरा हो, त्यसैले सत्य र न्यायको आवाजलाई जीवन्त बनाइराख्नु पर्दछ,’ भण्डारीले भनेकी छन्।
मुलुकको सामाजिक–आर्थिक रूपान्तरणसहितको क्रान्तिको विषय अहम् महत्त्वको भएको भण्डारीको भनाइ छ।
पार्टीको स्थापना र विकास लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रियताको प्रवर्द्धन र जनताको हितका लागि भएको उल्लेख गर्दै उनले यो निरन्तर अगाडि बढाइरहनु पर्ने विषय भएको बताएकी छन्।
‘यो सवाल मैले विभिन्न सन्दर्भमा उठाउँदै आएको छु र फेरि पनि उठाउने नै छु। त्यसैले, आज म राष्ट्रका जल्दाबल्दा समस्या र तिनको समाधानका विषयमा यहाँ चर्चा गर्न चाहन्न। पछि कुनै सन्दर्भमा यसका बारेमा थप छलफल र अन्तरक्रिया गर्दै धारणाहरू बताउने छु। पुनः एकपटक मेरो सरोकाकारका माथि उल्लेखित विषयवस्तुहरूप्रति कमरेडहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हाम्रो पार्टीलाई वैचारिक रूपले निख्खर र सांगठानिक ढंगले सुदृढ बनाएर वर्तमानका चुनौतीहरू सामना गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दछु,’ भण्डारीले बताएकी छन्।
पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्न सक्दा भविष्यमा हुने सम्पूर्ण जननिर्वाचित निकायहरूमा बहुमतसहितको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न सकिने उनको विश्वास छ। अहिले देश समाजवादको आधार निर्माण गर्ने चरणमा भएकाले जबजले अँगालेका सामाजिक–आर्थिक नीतिको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अग्रसर हुनु पर्ने र यसो गर्न सक्दा नै समुन्नत नेपाल बनाउने साझा लक्ष्य हासिल गर्न सकिने उनले बताएकी छन्।
‘यस विषयमा तपाईंहरू गम्भीर बन्नुहोस् भन्ने आग्रह गर्दछु,’ उनले अन्तिममा भनेकी छन्।