नेकपा(एमाले)को विधान महाधिवेशन सुरू भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा मध्याह्न सवा १२ बजेपछि विधान अधिवेशन सुरू भएको हो।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै केन्द्रीय लेखा, अनुशासन, निर्वाचन र सल्लाहकार परिषदको अलगअलग प्रतिवेदन पनि प्रस्तुत हुनेछन्।
शनिबार प्रतिनिधिहरूलाई १० वटा समूहमा विभक्त गरेर दस्तावेजमाथि छलफल गराइनेछ। आइतबार १० वटा समूहका नेताहरूले राजनीतिक प्रतिवेदनमाथि समूहगत सुझाव प्रस्तुत गर्नेछन्।
नेतृत्वले त्यसमाथि जवाफ दिएपछि पार्टी केन्द्रीय निर्वाचन आयोगको निर्वाचन प्रक्रिया सुरू हुनेछ।
विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोग निर्वाचित गर्ने एमालेमा परम्परा छ। आगामी महाधिवेशनको नेतृत्व चयन त्यसैले गर्नेछ।
निर्वाचन आयोगका पदाधिकारी र सदस्य निर्वाचित गरेपछि समसामयिक प्रस्तावसहित विधान महाधिवेशन सकिनेछ।
यो विधान महाधिवेशनमा कुल २३४१ सहभागी छन्। जसमध्ये २०२६ जना प्रतिनिधि हुन् भने ३१५ जना आयोजकको हैसियतमा सहभागी हुनेछन्।
विधान महाधिवेशनलाई एमालेले उच्च प्रविधियुक्त बनाएको छ। प्रतिनिधिहरूलाई डिजिटल कार्डको प्रबन्ध गरिएको छ।
गोदावरी पुग्ने मुख्य सडकका ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ।
प्रतिनिधिहरूलाई यसपटक आवासको सुविधा छैन। महाधिवेशनस्थलसम्म पुग्नका लागि सवारी साधनको प्रबन्ध भने गरिएको एमालेले जनाएको छ।