प्रधानमन्त्री केपी शर्मा ओलीको तय भएको भनिएको भारत भ्रमणको मिति सर्न सक्ने देखिएको छ।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने मिति तय भएको थियो। उक्त मिति सर्न सक्ने भनेर भारतीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन्।
भारतीय अनलाइन द प्रिन्टले सेप्टेम्बरमा प्रधानमन्त्री ओलीको भारत नहुने सम्भावना रहेको भनेर बिहीबार समाचार लेखेको छ।
लिपुलेक नाकाबाट व्यापार गर्न चीन र भारतले सहमति गरेपछि नेपालले उक्त भूमि आफ्नो भएको प्रतिक्रिया दिएको थियो। सोही कारणले भ्रमण अनिश्चित भएको समाचारमा उल्लेख छ।
चीन र भारतबीच लिपुलेकबाट व्यापार गर्न सम्झौता गरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी उक्त भूभाग नेपालको अभिन्न भूभाग रहेको भनेको थियो।
त्यसपछि भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर उक्त भूभागमा नेपालको दाबी नपुग्ने बताएको थियो।
चीन भ्रमण क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि त्यसबारेमा आपत्ति जनाएका थिए। जबाफमा चीनले नेपालको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको थियो।
प्रधानमन्त्री ओलीको सचिवालयले भने भारत भ्रमणको मिति नै तय नभएकाले पर सर्ने भन्ने विषय नै नहुने जनाएको छ।
‘प्रधानमन्त्रीको भारत भ्रमणको मिति निर्धारण भएको छैन,’ प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘नतोकेको मिति सरेको कसरी भन्नु? निम्तो आएको छ। भ्रमण अनुकूल समयमा हुन्छ।’
भदौ १ गते नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले बालुवाटार नै पुगेर प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए।
औपचारिक निमन्त्रणा दिए पनि मिति भने तय भएको थिएन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मिति तय गर्न बाँकी नै रहेको बताए।
'भारतीय विदेश सचिवज्यूले भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरी फर्कनुभएको छ। उक्त भ्रमणका लागि अनुकूल मिति तय गर्ने काम भइरहेको छ,' उनले भने।
२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको छैन।