गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागिरहेको बताएका छन्।
शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८ औं साधारणसभा एंव १५ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकार र निर्माण व्यवसायको क्षेत्र मिलेर विकास निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिए।
‘सरकारी निकायको पनि पूर्ण रूपले क्षमता वृद्धि भएको छैन,’ उनले भने, ‘सरकारी र गैरसरकारी निमार्णसँग सम्बन्धित संस्थाहरूको क्षमता वृद्धि भएमात्रै राष्ट्र निमार्णको आधार तयार गर्न सकिन्छ।’
समयमा विकास निर्माणका काम सम्पन्न नहुँदा आयोजनाहरूको लागत बढ्दै गएकाले निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम गर्नुपर्ने बताए।
‘निर्माण व्यवसायीहरूले समयमा गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ,’ उनले भने, ‘निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्छ। कुनै पनि सार्वजनिक काममा अशान्ती हुदैन।’
उनले वर्तमान सरकारको प्राथमिकतामा नीतिगत र कानूनी सुधार, सुशासन र दण्डहिनताको अन्त्य गरी विकास निर्माणलाई द्रूतगतिमा अगाडि बढाउने बताए।