नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०८३ सालको हिउँदमा तराई–मधेस जागरण अभियान चलाउन प्रस्ताव गरेका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनमा सांगठनिक प्रस्ताव प्रस्तुत गर्दै महासचिव पोखरेलले मिसन २०८४ लाई मध्यनजर राख्दै जिल्ला–जिल्लामा व्यापक जनपरिचालनको योजनासहित यस्तो प्रस्ताव राखेका हुन्।
'मिसन २०८४ लाई समेत मध्यनजर राख्दै २०८३ सालको हिउँदमा तराई–मधेस जागरण यात्रा सञ्चालन गरिनुपर्छ। त्यस क्रममा जिल्ला–जिल्लामा व्यापक जनपरिचालनको योजना बनाउनुपर्छ। यात्रा क्रममा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य पूरा गर्ने पार्टी योजना र कार्यक्रमका विषयमा व्यापक अन्तर्क्रिया गरिनुपर्छ। समृद्धिका लागि संकल्प यात्राको समयमा जस्तै जनतामा उत्पन्न निराशालाई चिरेर आशा जगाउने काम गर्नुपर्छ,' महासचिव पोखरेलले प्रस्तावमा उल्लेख गरेका छन्।
एमालेले यसअघि २०७३ सालमा मेची–महाकाली अभियान सञ्चालन गरेको थियो।
त्यस्तै, २०८० मंसिर १४ देखि पुस १ गतेसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान चलाएको थियो। २०८४ को आमनिर्वाचन तयारीका लागि महासचिवले यस्तै अभियानको खाँचो औंल्याएका हुन्।
उनले पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान चलाउनुपर्ने खाँचो पनि औंल्याएका छन्। यसलाई नियमित कामको विषय बनाइनुपर्ने उनको भनाइ छ।
'पार्टीका नेता–कार्यकर्तामा बेलाबखत देखिने आर्थिक, नैतिक तथा चारित्रिक विचलनले पार्टी जीवनलाई गम्भीर असर पुर्याउने गर्छ। एउटा व्यक्तिको कमजोरीका कारण सिंगो पार्टी आक्रान्त बन्ने स्थिति आउने गरेको छ। तसर्थ विकृति, विसंगति र विचलनका घटनाप्रति पार्टी गम्भीर बन्नुपर्छ। गम्भीर प्रकृतिका विषय जानकारीमा आउनासाथ समयमै अनुसन्धान गरिनुपर्छ र कमी–कमजोरी गर्नेहरूलाई अनुशासनात्मक कारबाहीको विषय बनाउनुपर्छ। पार्टी सुदृढीकरणका लागि पार्टीका काममा नियमित सहभागी नहुने कार्यकर्ताहरूको अभिलेख तयार पारेर क्रियाशील हुन प्रेरित गरिनुपर्छ,' महासचिव पोखरेलले प्रस्ताव गरेका छन्।