अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालयको नाम फेर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले रक्षा मन्त्रालयको नाम परिवर्तन गरी ‘युद्ध मन्त्रालय’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
कार्यकारी आदेशमा हस्ताक्षरसँगै रक्षा मन्त्रालयको दोस्रो नाम युद्ध मन्त्रालय रहने र रक्षामन्त्री पिट हेगसेथ अब युद्धमन्त्री रहने भएका छन्।
कार्यकारी आदेश तत्काल कार्यान्वयन गरिने ह्वाइट हाउसले जनाएको छ। सोअनुसार रक्षामन्त्री, रक्षा मन्त्रालय र मातहतका अधिकारीलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, औपचारिक सन्दर्भ र कार्यकारी शाखा भित्र गैर-वैधानिक कागजातहरूमा ‘युद्ध मन्त्री’, ‘युद्ध मन्त्रालय’, र ‘युद्ध उपमन्त्री’ जस्ता ओहोदा प्रयोग गर्न अधिकार दिन्छ।
पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री हेगसेथको कार्यालय बाहिरको साइनबोर्ड परिवर्तन गरिसकेका छन्। साथै मन्त्रालयको वेबसाइट पनि डिफेन्स डटकमबाट परिवर्तन गरी वार डटकम राखिएको छ। वेबसाइटको माथिल्लो भागमा मन्त्रालयको यसअघिको छोटकरी रूप डिओडीबाट युद्ध मन्त्रालयको छोटकरी रूप डिओडब्ल्यू राखिएको छ।
कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा राष्ट्रपति ट्रम्पले विश्व परिस्थितिअनुसार फेरेर राखिएको मन्त्रालयको नाम उपयुक्त रहेको बताए।
‘अहिले विश्व जुन परिस्थितमा छ, त्यो सन्दर्भमा यो अत्यन्त उपयुक्त नाम हो। हामीसँग संसारकै शक्तिशाली सेना छ,’ ट्रम्पले भने।
कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्दा ओभल अफिसमै रहेका मन्त्री हेगसेथले विषय नाम परिवर्तनको मात्रै नभएको बताए।
‘फगत नाम परिवर्तन मात्रै होइन। यो शक्ति पुनर्स्थापना पनि हो। यसले अमेरिकी सेना प्रतिरक्षामा मात्रै होइन आक्रमणमा पनि जान्छ भन्ने सन्देश दिन्छ। र नामअनुसार योद्धाहरूलाई खडा गर्नेछ, रक्षकहरूलाई मात्रै होइन,’ मन्त्री हेगसेथले भने।
मन्त्रालयको नाम फेरिएको कार्यकारी आदेश संवैधानिक रूपमा कार्यान्वयन गर्न संसदबाट अनुमोदन हुनुपर्छ। त्यसका लागि प्रस्ताव लैजाने तयारी पनि ट्रम्पले गरेका छन्।
‘युद्ध मन्त्रालय’ सन् १७८९ मा स्थापना भएको थियो। त्यो वर्ष अमेरिकी संविधान लागू भएको थियो। दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि सन् १९४७ मा यो मन्त्रालयको नाम परिवर्तन गरी ‘रक्षा मन्त्रालय’ (डिपार्टमेन्ट अफ डिफेन्स) राखिएको थियो।
ट्रम्पले कार्यकारी आदेश ल्याउने तयारी गरेपछि रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जालमा यसअघि नै 'डिपार्टमेन्ट अफ वार' लेखेर पोस्ट गरेका थिए।
ट्रम्प र हेगसेथले लामो समयदेखि यो नाम परिवर्तनबारे छलफल गर्दै आएको भनेर एपीले लेखेको छ। हेगसेथले गत मार्चमा सामाजिक सञ्जालमा यसबारे मत सर्वेक्षणसमेत गरेका थिए।