काठमाडौं जोरपाटी बस्ने ७५ वर्षीया दीपा अधिकारीलाई शनिबार दिनभरि छटपटी भयो।
उनी सधैं चार–पाँच घन्टा युट्युबमा भजन सुन्छिन्। पहिले नेताहरूका भाषण सुन्ने बानी थियो। चर्का कुरा सुनेर दिक्क लागेपछि अहिले दैनिक भजन सुन्न थालेको उनी बताउँछिन्।
यो शनिबार भने एक्कासि उनको मोबाइलमा युट्युब खुलेन। उनले भजन सुन्न पाइनन्।
'युट्युब नचलेर भजन सुन्न नपाएपछि मलाई दिनभरि दिक्क लाग्यो,' उनले भनिन्, 'के नपुगे, के नपुगे जस्तो मन छटपट भइरह्यो।'
संयोग के भने, शनिबार राति नै उनको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न गाह्रो भयो। उनलाई परिवारका सदस्यले राति १ बजे अस्पताल पुर्याए। उनी अहिले ओम अस्पतालमा उपचाररत छन्।
'अहिले ठिकै छ। अक्सिजन लगाएर बसेकी छु,' अधिकारीले भनिन्, 'डाक्टरले भोलिसम्म त अस्पतालबाट छुट्टी देला नि!'
अस्पतालबाट डिस्चार्ज भएर घर पुग्दा युट्युबमा भजन हेर्ने र सुन्ने अवस्था बनोस् भन्ने उनको कामना छ।
परिवारका सदस्य अफिस जाँदा दिन काट्ने एउटै साधन युट्युबमा आउने भजन भएको दीपा बताउँछिन्। उनले दिक्क मान्दै सोधिन्, 'सरकारले युट्युब किन बन्द गरेको हो? केटाकेटीहरू त्यसको विरोधमा सडकमा आउँदै छन् रे, सक्ने भए म पनि जान्थेँ।'
यो अनुभव दीपा अधिकारीको मात्र होइन। सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल बन्द गरेपछि लाखौं नेपालीको जीवन उथलपुथल भएको छ। किनभने, सामाजिक सञ्जाल अब मनोरञ्जनको साधन मात्र होइन। यो आममान्छेको दैनिक जीवन सहज बनाउने माध्यम हो।
फेसबुकको माउ कम्पनी मेटाको अनुमानअनुसार सन् २०२५ सम्ममा करिब डेढ करोड नेपालीले फेसबुक प्रयोग गरिरहेका छन्। त्यस्तै, करिब २ करोड युट्युब प्रयोगकर्ता छन्।
आज बहुसंख्यक नेपाली सामाजिक सञ्जालबाटै एकअर्कासँग जोडिएका छन्। विदेशमा रहेका आफन्तदेखि स्वदेशमै रहेका साथीभाइ र इस्टमित्रसँग पनि सामाजिक सञ्जालकै माध्यमबाट कुराकानी हुन्छ।
पढ्न वा रोजगार सिलसिलामा विदेश गएका छोराछोरीसँग प्रत्यक्ष भेटेजस्तै अनुहार हेर्दै कुरा गर्ने सुविधा समाजिक सञ्जालले नै दिएको छ।
दिनभरि काम गरेर बेलुकी श्रीमान वा श्रीमतीसँग मेसेन्जरमा दु:खसुख र सन्चो–बिसन्चो साट्ने सुविधा सामाजिक सञ्जालले नै दिएको छ।
आफू विदेशमा रहँदा यता घरमा हुर्किरहेका साना बालखाहरूको अनुहार हेर्दै खुसी हुने अवसर सामाजिक सञ्जालले नै दिएको छ।
गाउँबाट सहर र सहरबाट संसारभरि छरिएका परिवारका सदस्यलाई जोडेको सामाजिक सञ्जालको प्रभाव कतिसम्म बहुआयामिक छ भने, पछिल्लो समय व्यवसाय प्रवर्द्धन र अध्ययनको माध्यम पनि यही हो।
सानो स्तरको व्यवसाय सञ्चालन गरिरहेका धेरै नेपालीले आफ्नो उत्पादन प्रवर्द्धन फेसबुकबाटै गरिरहेका छन्। ग्राहकसँग अर्डर लिएर सामान डेलिभरी गर्ने काम उनीहरू फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट गर्छन्। त्यस्ता व्यवसायीले फेसबुक बन्द भएदेखि अर्डन पाउन छाडेका छन्, व्यापार ठप्प छ।
अर्डर लिने मात्र होइन, आफ्नो व्यापारको प्रचारप्रसार पनि सामाजिक सञ्जालबाटै गर्ने ट्रेन्ड व्यापक छ।
पछिल्लो समय काठमाडौंमा खुलेका नयाँ रेस्टुरेन्ट र किनमेलका आउटलेटले सामाजिक सञ्जालमै आफ्नो प्रचार गर्छन्। फेसबुक र इन्स्टाग्राममा लुगाफाटो, शृंगार सामग्रीहरूको विज्ञापन गरेर व्यापार बढाउने क्रम बढ्दो छ। सरकारको निर्णयले सामाजिक सञ्जालमा निर्भर त्यस्ता व्यवसायलाई ठूलो असर परेको छ।
सरकारको निशानामा परेको युट्युब त झन् घर–घरको निम्ति नभई नहुने माध्यम बनेको छ। अहिलेको समय युट्युब बिनाको दैनिकी हामी कल्पना पनि गर्न सक्दैनौं। यो कसैको निम्ति रेडियो स्टेसन हो भने कसैको निम्ति टेलिभिजन च्यानल हो। कसैको निम्ति कक्षाकोठा हो भने कसैको निम्ति सिनेमा हल हो।
विद्यार्थीहरूले युट्युबमा रहेका विभिन्न ट्युटोरियल भिडिओ हेरेर आफ्नो अध्ययन सहज बनाइरहेका छन्। नियमित कलेज जान नभ्याउने वा कलेजमा पढाएको नबुझ्नेहरू त्यस्तै ट्युटोरियल भिडिओमार्फत पढ्ने गर्छन्। कलेज वा विश्वविद्यालय भर्ना भएर औपचारिक अध्ययन गर्न नपाएकाहरू युट्युब वा अन्य सामाजिक सञ्जालमार्फत् अनलाइन कोर्स पढ्ने क्रम पनि बढ्दो छ।
युट्युबको प्रयोग गीत सुन्न र फिल्म हेर्नमा पनि भइरहेको छ। राति सुत्ने बेला युट्युब बजाउने धेरैको बानी हुन्छ। मनको छटपटी शान्त पार्न भजन, मन्त्र वा धुन सुन्नेहरू पनि थुप्रै छन्।
सरकारको सामाजिक सञ्जाल बन्द निर्णयले आममानिसको दैनिक जीवनसँग जोडिएका यस्ता सबै गतिविधि एकाएक ठप्प भएका छन्। विद्यार्थीहरू अनलाइन पढ्नबाट वञ्चित भएका छन्। गीत सुन्न चाहनेहरूको गीत सुन्ने हक खोसिएको छ। फिल्म हेर्न चाहनेले फिल्म हेर्न पाएका छैनन्। जसका घरमा टेलिभिजनमा युट्युब मात्र चल्थ्यो, उनीहरूको त टेलिभिजन नै बन्द भएको छ।
यसै सन्दर्भमा हामीले दीपा अधिकारी जस्ता सामाजिक सञ्जाल बन्दबाट प्रभावित आम मान्छेहरूसँग कुराकानी गरेका छौं। सरकारको पछिल्लो निर्णयले उनीहरूको जीवनमा कस्तो असर पारेको छ भनेर हामीले सोधेका छौं।
'बिरामीको उपचारमै समस्या छ'
– डा. शिशिर बास्तोला (देवदह मेडिकल कलेजमा इन्टर्न)

अहिले म लगायतका साथीहरू मेडिकल कलेजमा इन्टर्न गरिरहेका छौं। हाम्रा केही साथी भारतीय पनि हुनुहुन्छ। उहाँहरू धेरै ह्वाट्सएप चलाउनुहुन्छ। उहाँहरूलाई आफ्नो परिवारसँग जोडिन समस्या भइरहेको छ।
हामीमध्ये धेरैले अध्ययन गर्ने ट्युटर भारतकै हुन्छ। यस्तो ट्युटरका लागि ओटिपी चाहिन्छ। ओटिपी ह्वाट्सएपमै आउने गर्थ्यो। तर अहिले यो माध्यम प्रयोग गर्न पाइएको छैन।
यो ट्युटरका लागि पैसा तिर्नुपर्छ भने युट्युबमा कतिपय सामग्री निःशुल्क नै पाइन्छ। तर अहिले युट्युब पनि बन्द छ।
त्यसबाहेक हामी अस्पतालमा खटिने कार्यतालिका बनाएर फेसबुक म्यासेन्जरमा सेयर गरिरहन्छौं। एक्कासि फेसबुक र म्यासेन्जर चल्न छाड्दा यो तालिकाअनुसार काम गर्न समस्या भइरहेको छ। डाक्टरहरूलाई बिरामीको उपचार क्रममा दिइरहनुपर्ने जानकारी पठाउन पनि समस्या छ।
'हाम्रो पढाइमा असर पर्यो'
– गरिमा पराजुली (गण्डकी मेडिकल कजेल, डेन्टिस्ट सर्जरी तेस्रो वर्षमा अध्ययनरत)
हामीले अध्ययन गरिरहेको विषय प्राविधिक हो। कक्षा कोठामा कहिलेकाहीँ एकै दिन १०–१५ वटा अध्याय पढाइन्छ। त्यसैले कक्षामा बसेर पढेकै भरमा पाठ बुझ्न सकिँदैन। हामी आफैले किताब पढ्दा पनि कतिपय अवस्थामा यस्ता विषय बुझ्न सकिँदैन।
डेन्टिस्ट सर्जरी पाँच वर्ष पाँच महिनाको कोर्स हो। हामीले चौथो वर्षको बीचतिरबाट मात्र शिक्षकको निगरानीमा उपचारमा संग्लन हुन पाउँछौं। त्योभन्दा अघिसम्म हामीले बुझ्ने सबभन्दा सजिलो माध्यम श्रव्यदृश्य सामग्री हुन्। श्रव्यदृश्य सामग्रीको अध्ययनमा प्रभाव पनि राम्रो हुन्छ। यस्ता सामग्री हामीले पाउने भनेको युट्युब जस्ता सामाजिक सञ्जालमा हो।
सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएसँगै हामीले यसरी अध्ययन गर्ने अवसर गुमेको छ।
हुन त सामाजिक सञ्जाल आउनुअघि पनि अध्ययन हुन्थ्यो भन्ने कुरा उठ्ला। तर हामीलाई यस्तै श्रव्यदृश्य सामग्रीबाट पढ्ने बानी लागिसकेको छ। यो तरिका हामीले बुझ्ने सजिलो माध्यम बनेको छ।
हामीले फेसबुकको म्यासेन्जरमा अध्ययन गर्ने सामाग्री पनि एकअर्कालाई पठाउने गरेका थियौं। त्यो सधैं त्यहीँ रहन्थ्यो। हामीले सेभ गरेर सुरक्षित गर्नुपर्ने अवस्था थिएन। अब ती सामग्री पनि गुम्यो।
'साथीभाइ, इस्टमित्रसँगको सम्पर्क अचानक टुटेको छ'
– शिवराज खड्का (इसराइलमा केयरगिभरका रूपमा कार्यरत)
-1757249776.jpg)
धेरैजसो परिवारमा फोनबाट कुरा हुन्थ्यो। गाउँटोल, छरछिमेक र देशकै गतिविधि पनि फेसबुकबाटै थाहा पाउँथेँ। फोनसम्पर्क नहुँदा पनि फेसबुकमै धेरै कुरा आउँथ्यो। अहिले ती गतिविधि फेसबुकमा आउन छाडे।
साथीहरू के गरिरहेका होलान्, देशमा के भइरहेको होला भन्ने सूचना आइपुगेन कि भन्ने हुन्छ। वर्षौंदेखि चलाइरहेको फेसबुक अचानक बन्द हुँदा त के नपुगेको के नपुगेको जस्तो हुँदो रहेछ।
घरपरिवारमा त भाइबरबाट कुरा हुन थालेको छ। फेसबुक बन्द हुँदैछ, भाइबर चाहिँ बन्द हुँदैन रे भन्ने सूचना सुन्नेबित्तिकै डाउनलोड गरेको थिएँ। घरपरिवारका सदस्यले पनि भाइबर डाउनलोड गर्नुभयो।
सन्चो–बिसन्चो के कसो छ त भाइबरबाटै कुरा भइहाल्छ। तर साथीभाइ, इस्टमित्रसँगको सम्पर्क अचानक टुटेको छ। परिवारको भाइबर नम्बर त थाहा भइहाल्यो। कतिपय साथीभाइ, चिनजानका व्यक्तिको भाइबर नम्बर थाहा नभएकाले कुरा हुन पाएको छैन।
पूरै सम्पर्क बिच्छेद जस्तो त भइएको छैन। ल है फलानोको भाइबर नम्बर भनेपछि फोन गरेर बोलिहालिन्छ। तर फेसबुकमा प्रत्यक्ष देखेजस्तो नहुने रहेछ। अचानक बन्द हुँदा त के छुट्यो छुट्यो जस्तो भइरहेको छ।
'दैनिक १० हजार ठेकुवा बेच्थ्यौं, अहिले व्यापार ठप्प छ'
– अर्जुन साह (ठेकुआका सञ्चालक)
सरकारले सामाजिक सञ्जाल बन्द गर्दा व्यवसायमा प्रत्यक्ष असर परेको छ। सामाजिक सञ्जाल फेसबुकबाट मात्र हामीले दैनिक १० हजारभन्दा बढी ठेकुआ बेचिरहेका थियौं। इन्स्टाग्राममा पनि राम्रो थियो। तर एकैपटक सामाजिक सञ्जाल बन्द हुँदा व्यापार ठप्प नै भइदियो।
हामीले उत्पादन गर्ने ठेकुआ बजारमा पुर्याउने माध्यम नै सामाजिक सञ्जाल थियो। हामीले व्यवसाय सुरू गरेको चार–पाँच महिना मात्र भयो। बिक्रीका लागि आउटलेट छैन। अर्डर लिने ठाउँ पनि छैन। त्यसैले उत्पादन गर्ने कि नगर्ने दोधारमा छौं।
'व्यक्तिगत र व्यावसायिक जीवन दुवै प्रभावित छ'
– सञ्जिल खनाल (सिभिल इन्जिनियर)

म नागढुंगामा रहेको हाजमा आन्दो कर्पोरेसनमा काम गर्छु। सामाजिक सञ्जाल बन्द भएपछि मैले व्यक्तिगत र व्यावसायिक दुवै रूपमा धेरै जटिलता महसुस गरेको छु। काम गर्ने क्रममा हामीसँग एउटा ह्वाट्सएप ग्रुप थियो। हामी सबैले त्यसैबाट कुराकानी गर्थ्यौं।
हामीले सुरूदेखि नै ग्रुप बनाएर प्रोजेक्टका सबै गतिविधि र निर्देशन आदानप्रदान गर्दै आएका थियौं। शुक्रबार दिउँसोसम्म सबै चलिरहेको थियो। कुराकानी पनि भइरहेको थियो। तर जब बन्द भयो, त्यसले हाम्रो साइटको गतिविधि नै ठप्प पारिदियो।
हामीले काम अह्राउने मानिसहरूले काम अह्राउन पाएनौं र काम गर्नेहरूलाई पनि के गर्ने भन्ने थाहा भएन।
ठूलो प्रोजेक्ट भएकाले सबै जना अफिसमा आएर व्यक्तिगत रूपमा भेट्न सम्भव भएन। यो मैले तत्कालै सामना गरेको एकदमै ठूलो समस्या हो।
त्यस्तै, कतिपय कुरा र जागिरसँग सम्बन्धित जानकारी लिंकडिनबाटै खोजिन्थ्यो। म आफै इन्जिनियरिङको विद्यार्थी भएकाले इन्जिनियरिङसँग सम्बन्धित सबै कुरा त्यसमा आउँथ्यो। व्यक्तिगत रूपमा म अनुसन्धानको विद्यार्थी हुँ। म लिंकडिनमा प्राध्यापक र धेरै मानिससँग दिनहुँ कुरा गरेर जोडिएको हुन्थेँ। लिंकडिन मेरो करिअरका लागि, विशेषगरी नेपालमा नभएका र विदेशका विभिन्न विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूसँग जोडिन एकदमै बलियो आधार थियो।
अहिले त लिंकडिन पनि चल्न छाड्यो। उहाँहरूसँग सम्पर्क हुन छाडेको छ। फोन गर्न सम्भव भएन। दैनिक इमेल गर्न व्यावहारिक भएन। अनुसन्धानसँग सम्बन्धित कुरा, विश्वमा के भइरहेको छ, कस्तो कुरा भइरहेको छ, ती सबै म लिंकडिनबाटै लिन्थेँ। अहिले त्यसरी लिन मिल्ने अवस्था रहेन।
'साना व्यवसायीलाई ठूलो असर परेको छ'
– प्रज्ञा उप्रेती (मनज्ञा आउटफिटकी सञ्चालक)
मनज्ञामा सामाजिक सञ्जालबाटै दैनिक दुई सयभन्दा बढी बेडसिटको अर्डर आउथ्यो। यो अर्डर अहिले लगभग ४० मा झरेको छ।
सबभन्दा बढी अर्डर आउने फेसबुक र इन्स्टाग्राम बन्द भइहाल्यो। सम्पर्कका लागि ह्वाट्सएप पनि गयो। टिकटकमा जति अर्डर आउँछ, त्यति मात्र बिक्री भइरहेको छ।
अचानक फेसबुक बन्द हुँदा पहिलो दिन त आएका अर्डरसम्म पनि टिप्न भ्याइएन। सरकारले सामाजिक सञ्जाल बन्द गर्नुअघि व्यवसायीलाई जानकारी दिनुपर्थ्यो। व्यवसायीका लागि कुनै प्लेटफमको व्यवस्था गरिनुपर्थ्यो। यसो नहुँदा हामीजस्ता साना व्यवसायीलाई ठूलो असर पुगेको छ।
'युट्युब हेरेर गर्नुपर्ने काम बन्द भएको छ'
– गौरव सुवेदी (कम्प्युटर इन्जिनियर)

अहिले म एउटा विदेशी कम्पनीमा काम गरिरहेको छु। मेरो सबैजसो काम कम्प्युटरबाटै हुन्छ। सामाजिक सञ्जाल बन्द हुँदा काममा असर परेको छ। बाहिरको वातावरणमा के भइरहेको छ भन्ने जानकारी पाउन पनि गाह्रो भएको छ। युट्युब र फेसबुकले यस्तो जानकारी दिन मुख्य भूमिका खेल्ने भएकाले बाहिरको दुनियाँबाट पूरै अलग भएको महसुस भएको छ।
हामीले काम गर्दा कतिपय कुरा युट्युब हेरेर सिक्नुपर्ने हुन्छ। युट्युब बन्द हुँदा काम ढिला भएको छ। यो अवस्थामा भविष्यमा पूरै बेरोजगार हुन सक्ने समस्या देखिन्छ। नयाँ कुरा सिक्न नपाउँदा अवसरहरू गुमेका छन्। बाहिर मान्छेहरूले के–कस्तो प्रगति गरिरहेका छन् भन्ने जानकारी पाउन सकेको छैन।
'अहिले त गीत सुन्ने माध्यम पनि रहेन'
- कबिन्द्र श्रेष्ठ (ग्वार्को, पाटन)
सरकारको यो निर्णयले मैले दुई दिनदेखि गीत सुन्न पाएको छैन। जबदेखि युट्युब बन्द भयो, मेरो कोठा सुनसान छ।
पहिले पहिले हामी क्यासेट प्लेयरमा गीत सुन्थ्यौं। पछि सिडी र डिभिडी प्लेयरमा सुन्न थाल्यौं। अहिले क्यासेट, सिडी र डिभिडी भनेको एकादेशका कुरा भइसके। नयाँ गीत सुन्नुपरे युट्युब खोलेर बजाउने हो। तर युट्युब नै बन्द भएपछि कहाँ गएर सुन्नु!
शुक्रबारसम्म म 'जुरूक्क कर्णाली' गीत खुब सुन्थेँ। आस्था राउत र स्मारिका फुयालले गाएको त्यो गीतले मुटु नै छोएको थियो। बिहान–बेलुकी नै म त्यही गीत सुन्थेँ। त्यसबाहेक कुम: सागर, जोन चाम्लिङ, पूर्ण राईका गीत पनि युट्युबमा सुनिरहन्थेँ। अहिले सबै बन्द भयो। यो सरकारको असंवेदनशील र मूर्खतापूर्ण कदम हो।
***