रूसले पहिलोपटक युक्रेनको सरकारी भवनलाई निशाना बनाएको छ।
शनिबार राति रूसले युक्रेनको राजधानी र अरू सहरहरूमा सरकारी भवनहरूलाई लक्ष्य गरी हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।
कुन-कुन भवनमा लक्ष्य गरेको भनेर नखुलाए पनि विभिन्न सरकारी भवनहरूमा क्षति पुगेको भनिएको छ।
युक्रेनको वायु सेनाका अनुसार शनिबार रूसले गरेको आक्रमण अहिलेसम्मकै ठूलो हवाई हमला हो। जसमा ८१० वटा ड्रोन, चारवटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो।
अधिकांश ड्रोन र मिसाइललाई युक्रेनको हवाई रक्षा प्रणालीले खसाले पनि ५४ ड्रोन र ९ वटा मिसाइलले युक्रेनका विभिन्न स्थानमा आक्रमण गरेको वायुसेनाले बताएको छ।
पछिल्लो समय युद्धविरामबारे अमेरिकाले प्रयत्न गरिरहेको छ। अलास्कामा ट्रम्पसँग पुटिनले वार्ता गरेयता रूसले युक्रेनमा अझै आक्रामक भएर हमला गरेको छ।
दस दिनअघिमात्रै रूसले युक्रेनको राजधानीलाई लक्ष्य गरी ६३१ वटा ड्रोन र मिसाइल हानेको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले जानाजान हत्यालाई बढावा दिने काम गरेको भनेका छन्। यसले क्रेमलिन युद्धविराम र स्थायी शान्तिका लागि कति गम्भीर छ भन्ने पनि पुष्टि हुने उनले बताएका छन्।
युक्रेनकी प्रधानमन्त्री युलिया स्भिरिदेन्कोले यसलाई विशाल आक्रमण भनेकी छन्।
उनले क्रिभी रिह, निप्रो, क्रेमेन्चुक र ओडेसा शहरहरू आक्रमणको निशानामा परेको बताएकी छन्। किभमा प्रधानमन्त्रीको कार्यालय र केही मन्त्रालयहरू रहेको भवनमा आक्रमण भएको पनि उनले बताइन्।
'पहिलो पटक, सरकारी भवन, यसको छत र माथिल्ला तलाहरू शत्रुको आक्रमणबाट क्षतिग्रस्त भए। उद्धारकर्मीहरू आगो निभाउन कार्यरत छन्। उनीहरूको कामका लागि म धन्यवाद दिन्छु, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।
यो भवन किभको सरकारी क्षेत्रमा अवस्थित छ, जुन संसद भवन र राष्ट्रपतिको कार्यालय नजिकै छ।
'हामी भवनहरू पुनर्निर्माण गर्नेछौं। तर गुमेका जीवन फिर्ता ल्याउन सकिँदैन। हरेक दिन, शत्रुले हाम्रा मानिसहरूलाई देशभर आतंकित र हत्या गरिरहेको छ,' उनले थपिन्।
जबाफमा युक्रेनले रूसको ब्रायन्स्क क्षेत्र र दक्षिणी क्रास्नोदार क्षेत्रमा दुईवटा ऊर्जा सुविधाहरूमा आक्रमण गरेको जनाएको छ।