नेकपा (एमाले) को विधान महाधिवेशनमा प्रस्तुत गरिएका सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएको छ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन, महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदन आइतबार पारित भएको हो।
संशोधित विधान पारित भएसँगै अब एमाले नेतृत्वमा ७० वर्षे उमेर हद नलाग्ने भएको छ। साथै दुई कार्यकालभन्दा बढी नेतृत्व लिन पाइने भएको छ। उमेर हद र कार्यकालबारे यसअघि नै पार्टीले निर्णय लिइसकेको थियो भने विधान महाधिवेशनमा यो प्रस्ताव नै लगिएको थिएन।
अब एमालेमा अध्यक्ष एक, उपाध्यक्ष ३ जना र महासचिव एक जना रहनेछन्। वरिष्ठ उपाध्यक्ष पद हटाइएको छ।
साथै उपमहासचिव ३ जना रहनेछन् भने सचिव ७ जना रहनेछन्। केन्द्रीय कमिटी २५१ सदस्यीय रहनेछ।
पोलिट्ब्युरो, स्थायी समिति र केन्द्रीय समिति गरेर तीन तहको संरचना रहनेछ। सचिवालय भने हटाइएको छ। १५ सदस्यीय पदाधिकारी र पोलिट्ब्युरो ९९ सदस्यीय रहनेछ।
कार्यालय सचिव र प्रदेश अध्यक्षहरू पदेन केन्द्रीय सदस्य रहनेछन्।
एमालेमा सदस्य दुई प्रकारका सदस्य (साधारण र संगठित) रहने भएका छन्।
एमालेको दोस्रो विधान अधिवेशन भदौ २० गते ललितपुरको गोदावरीमा सुरू भएको थियो।