नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनको समापनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको फेरि आलोचना गरेका छन्।
समूहगत छलफलमा प्रतिनिधिहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष बन्न उछलकुद गर्न थालेपछि सदस्यता रोक्नुपरेको बताएका हुन्।
'म उहाँको सम्मानमा तलमाथि हुने गरी केही भन्न चाहन्नँ। तर अहिले उहाँलाई अध्यक्ष बनाउन सकिँदैन। यथार्थ त्यही हो। उहाँ अध्यक्ष हुन आउन लाग्नुभएको हो। उहाँ कार्यकर्ता हुन, स्थायी कमिटीमा बस्न, पोलिटब्युरोमा बस्न आउन खोज्नुभएको हो र,' उनले भने, 'पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष हुन आउन लाग्नुभए हो, नआउनुस्।'
पार्टी अध्यक्ष बन्न दौडधुप गरिरहेको, विभिन्न गतिविधि गरिरहेको आफूले चाल पाएपछि भण्डारीलाई सम्झाएको समेत ओलीले बताएका थिए।
'उहाँ अध्यक्ष बन्न सक्ने अवस्था नभएकाले, त्यो सबै सुनेपछि मैले नै उहाँलाई खुलस्त भनेको हुँ। उहाँले अलिकति त्रुटि गर्नुभयो (अध्यक्षको दाबी गरेर) यसमा,' अध्यक्ष ओलीले भने।
राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जबाफ दिने क्रममा अध्यक्ष ओलीले अगाडि भने, 'उहाँले दुई वर्ष अगाडिदेखि सदस्यता लिनुभएको रहेछ। कसैले खोजीनिती गरेको थिएन। अकिलकति उछलकुद देखियो, जब अध्यक्ष नभइ छोड्दिनँ भन्नुभयो, जब पार्टी अध्यक्षको आलोचना भित्रभित्र गर्न थाल्नुभयो, विभिन्न साथीभाइको साथ र सहयोग खोज्न थाल्नुभयो, सहयोगी बेठीक ढंगले जुटाउन थाल्नुभयो!
पूर्वराष्ट्रपति भण्डारी आउने हो भने पार्टीलाई मिलाएर, छत्रछाया दिने हिसाबले, एकताबद्ध बनाउने भनेर आउनुपर्ने ओलीको भनाइ थियो।
'उहाँ आउने हो भने पनि, पार्टीलाई मिलाएर झन् छत्रछाया दिने, एकताबद्ध बनाउने भनेर आउने होला, आउनुपर्थ्यो होला,' ओलीले भने।
तर पूर्वराष्ट्रपति भण्डारी आउँदा आउँदै पार्टीमा 'महाविवाद' खडा गरेर, पार्टीलाई माथिदेखि तलसम्म दुई फ्याक पारेर आउने हो र भन्दै प्रश्न गरेका थिए।
'त्यस्तो हुँदैन। गरिमामय पदमा रहिसकेको व्यक्तिले यस्तो गर्न मिल्दैन भनेर गत साउन ५, ६ गते बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गर्यो,' ओलीले भनेका थिए।
अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले हुँदै नभएको सदस्यता नवीकरण गरेको भन्दै टिप्पणी गरेका थिए।
'सबै कुरा स्वाभाविक हुन्थ्यो भने सभा आयोजना गरेर घोषणा गरिन्थ्यो त? सदस्यता नवीकरणको घोषणा गर्नुपर्छ र? पर्दैन थियो नि। त्यसमा केही न केही कुरा रहेछ प्रक्रियामा नमिलेको। त्यस कारण एउटा मञ्च आवश्यक परेछ,' उनले भने।
पूर्र्व राष्ट्रपति भण्डारीले गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्म जयन्तीका दिन सदस्यता नवीकरण गरेको बताउँदै आफू सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। भण्डारीले २०८१ वैशाखमै सदस्यता नवीकरण गरेको समेत बताएकी थिइन्।
तर ओलीले विधानको धारा ८ (३), ९ (३) देखाउँदै हुँदै नभएको सदस्यता नवीकरण हुन नसक्ने बताए।
'उहाँले राष्ट्रपति बन्दा सदस्यता परित्याग गरेको हो। उहाँको सदस्यता छँदै थिएन। नभएको सदस्यता नवीकरण हुँदैन। विधानको ८ (३), ९ (३) ले नभएको सदस्यता नवीकरण गर्दैन। गर्न मिल्दैन। हाम्रो प्रचलन छैन। केन्द्रीय कमिटीले यो फैसला गरेको हो,' उनले भने।
त्यस कारण एमालेले सदस्यता दिएन, सदस्यता खोस्यो भनेर अपव्याख्या गर्न नमिल्ने उनले बताएका थिए।
'खोसेको होइन। उहाँको सदस्यता थिएन, हुँदै नभएको सदस्यता नवीकरण भएन। माथि केन्द्रमा उहाँले सदस्यता नवीकृत गरिपाऊँ भन्नुभएको छैन। भन्दै नभनेको कुरा हो। नवीकरण गर्ने संस्था, केन्द्रले गर्ने हो। केन्द्रले अधिकार प्रत्यायोजन गरेको संस्थाले नवीकरण गर्ने हो। नवीकरण हुन्थ्यो भने, निरन्तर हुन्थ्यो भने त्यो यहाँ हुनुपर्थ्यो। त्यहाँ (केन्द्र) मा पुगेको छैन। प्रक्रिया पुगेन। तसर्थ उहाँको सदस्यता नवीकरण भुलचुकले, कर्मचारीको डेस्कबाट भुलचुकले गरेको हो। त्यस कारण त्यो भुलचुक मान्नु हुँदैन। त्यसलाई सच्याउनुपर्छ,' ओलीले विधान महाधिवेशनको हलमा भने।