जेन-जी आन्दोलन
काठमाडौंको जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले गरेको आन्दोलनमा सहभागी २४ वर्षीया गीता तामाङले आफूहरू इन्डोनेसियाको आन्दोलनबाट प्रभावित भएको बताएकी छन्।
सोमबार माइतीघरमा जेनजीले गरेको आन्दोलनमा सहभागी भक्तपुरकी तामाङले भ्रष्टाचार मौलाएकाले प्रदर्शन गर्न आइपुगेको बताइन्। उनले नेपाललाई भ्रष्टाचार मुक्त भएको देख्न चाहन्छिन्।
‘भ्रष्टाचार भइरहेकाले हामी आएका हौं। हामी जेन्जीहरू इन्डोनेसियाको प्रोटेस्ट (आन्दोलन)बाट प्रभावित भएर आएका हौं। नेपाल भ्रष्टाचार मुक्त होस् भन्ने चाहन्छौं,’ उनले भनिन्।
उनी त्रिचन्द्र कलेजमा स्नातकोत्तर पढ्दैछिन्।
प्रदर्शनमा जेनजी पुस्ताले बानेश्वरसम्म मार्चपास गर्ने तयारी छ।
माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए।
सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।
यो पनि: जेनजीको प्रदर्शनमा गुन्जियो- गाउँ-गाउँबाट उठ, देशको मुहार फेर्नलाई (तस्बिरहरू)