जेन-जी आन्दोलन
काठमाडौंको माइतीघरमा जारी जेन–जी प्रदर्शनमा सहभागी हुन आएका सयौं नवयुवामध्ये खुसी ओली एक हुन्।
नागार्जुन नगरपालिका वडा नम्बर ४ की खुसी ओली १८ वर्षकी हुन्। उनी अहिले १२ कक्षाको जाँच दिएर बसेकी छन्।
माइतीघरमा प्लाकार्ड लिएर जेन–जी आन्दोलनमा सहभागी भएकी खुसी ओलीले यस्तो प्रदर्शनमा आफू पहिलोपटक सहभागी भएको बताइन्।
हामीले उनलाई प्रदर्शनमा आउनुको कारण सोधेका थियौं।
जबाफमा उनले भनिन्, 'हाम्रो देश भ्रष्टाचार र बेथितिले बर्बाद भयो। भ्रष्टाचारकै कारण यो देश बस्न लायक रहेन। म त्यही भ्रष्टाचारविरूद्ध बोल्न आएको हुँ।'
उनले अगाडि भनिन्, 'हाम्रा आमाबुबाले यो राज्यलाई कर तिरेको तिर्यै हुनुहुन्छ। हाम्रो त्यो करको पैसा कहाँ गयो? विकास निर्माण कति भएको छ भन्ने त हाम्रो आँखा अगाडि छर्लंग छँदैछ। भन्नुको मतलब, हाम्रो आमाबुबाले तिरेको करको पैसाले यी नेताहरू मोज गरिरहेका छन्। हामी त्यसैको हिसाब माग्न आएका हौं।'
उनले यो पनि भनिन्, 'नेताका छोराछोरीले आरामदायी जीवन बिताइरहेको सर्वत्र देखिन्छ। हामीलाई उनीहरूको जीवनमा इर्ष्या छैन। तर त्यस्तै जीवन हामी आममान्छेको किन हुन सकेन? त्यसको एक अंश पनि आराम र सुविधा हामी आममान्छेले किन पाउन सकेनौं? हामी ती सबैको लेखाजोखा गर्न आएका हौं।'
सरकारले आमजनताको आवाज नियन्त्रण गर्न सामाजिक सञ्जाल बन्द गरे पनि अब जनताको आवाज नरोकिने खुसीले बताइन्।
'सामाजिक सञ्जाल बन्द हुँदैमा जनताको आवाज बन्द हुँदैन। अब त्यो आवाज सडकमा घन्किन्छ,' उनले भनिन्।
सोमबार बिहान ९ बजे माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ। माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए। सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।